प्रधानमन्त्री बन्ने संभावना प्रवल रहेका सुगा सत्तारुढ दलको प्रमुखमा निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
जापान

जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित भएको छ । यसै हप्ताको अन्त्यमा सुगा संसदीय दलको नेता निर्वाचित भएमा उनलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।

सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेको थियो । सुगासँग प्रतिस्पर्धा गरेका पूर्व विदेशमन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षामन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहेका ७१ बर्षीय सुगालाई धेरैले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिसकेका छन् । सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेको थियो ।

जापानको संसदमा अहिले सुगाले आजदेखि नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले उनकै पार्टीले बनाएको उम्मेदवार नै प्रधानमन्त्रीमा निर्वाचित हुनेछ । पार्टीको प्रमुख निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताए । ‘ मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,’उनले भने ।

सुगाले आफुले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताए । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । निवर्तमान प्रधानमन्त्री आवेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेको थियो ।

आवे शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलोपटक प्रधानमन्त्री भएको थियो । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएको थियो । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएको थियो । आवे जापानमा सबैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा चिनिन्छ ।

आवेको कार्यकाल अझै झन्डै एक बर्ष बाँकी नै थियो । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेको थियो । जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उनको प्रभाव अत्यधिक भएकाले उनले अगाडि सारेको व्यक्ति नै प्रधानमन्त्री हुने देखिएको छ । आवेले अप्रत्यक्ष रुपमा अगाडि सारेकै कारणले सुगालाई सोमबार पार्टी प्रमुखमा निर्वाचित गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका