एउटै व्यक्ति सधैं नेतृत्वमा रहनुपर्छ भन्ने छैन : कुलमान घिसिङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले एउटा व्यक्ति नै सधैं नेतृत्वमा रहनुपर्छ भन्ने पक्षमा नरहेको उल्लेख गरेका छन् । मंगलबार प्राधिकारको केन्द्रीय कार्यालयमा गरेको उनको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्राधिकरणलाई नाफा र अँध्यारोमा रहेका जनतलाई उज्यालो दिन सफल भएको बताएका छन् ।

‘प्राधिकरणको चौतर्फी सुधार र उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु समेत गरेको छ’, घिसिङले भने, ‘हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत आपूर्ति मात्रै पाएका छैनन् प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार पनि भएको छ । ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेका छन् ।’

लोडसेडिङ बिलय

लोडसेडिङ इतिहासमा बिलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ । प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को मारेको छ । संस्थाभित्रको आर्थिक पारदर्शीता, जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिएको छ ।

घाटालाई नाफामा परिणत

घिसिङले जिम्मेबारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो उनले भने, ‘दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११अर्व ५ करोड रुपैयाँ पुगेको छ । ’

चुहावट कम

लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ । देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन् । अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत उर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।

महसुल घटायो

सरकारको नीति तथा कार्यक्रम अनुसार प्राधिकरणले इतिहासमा पहिलोपटक उपभोक्ताको महशुल घटाएको छ । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निःशुल्क र न्युनतम शुल्क ३० रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । समग्रमा ग्राहस्थ उपभोक्ताको महशुल करिव ८-९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताह?लाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल हटाइएको छ ।

सामुदायिक खानेपानी, सिंचाई तथा चार्जिङ स्टेसनको महशुल घटेको छ । यसले गर्दा विद्युत माग बढ्ने अपेक्षा गरिएको छ । आगामी दिनमा अमेरिकी डलरमा विद्युत खरिद सम्झौता गरिएको खिम्ती-१ र स्वदेशी लगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदा ग्राहकको विद्युत महशुल अझ सस्तो गर्न सकिनेछ ।

तार र पोलरहित कार्यको थालनी

भूमिगत तार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहित वनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको छ । डिजिटल एनईए बनाउने कार्यको लागि आवश्यक प्रकृया सुरु भैसकेको छ ।

आयोजना निर्माणलाई तिब्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरणतर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको छ । निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न आयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ ।

लामो समयदेखि रुग्ण भएर वसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनारु सम्पन्न भएका छन् । निजी क्षेत्रकासहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत आयोजना संचालनमा आएका छन् । प्रसारण र वितरण लाइनका रुग्ण आयोजनाहरु सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा छन् ।


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९का कारण प्राधिकरणको राजश्व संकलन प्रभावित हुनपुग्यो भने निर्माणाधीन केही आयोजनाहरु लक्षित समयमा पूरा हुन सकेनन् । नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने दूधकोशी (६३५ मेगावाट), माथिल्लो अरुण (१०६० मेगावाट) र तामाकोशी ५-९९ मेगावाट) जस्ता जलविद्युत आयोजनाहरु निर्माणका लागि वित्तीय श्रोत जुटाउने चरणमा छन् ।

अन्तरदेशीय प्रसारण

अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिबृद्धि भै करिव १५०० मेगावाट पुगेको छ । नेपाल-भारत दोश्रो अन्तदेशीय प्रसारण लाइन न्यू बुटवल-गोरखपुरको लागि लगानी ढाँचा (Implementation Modality) तयार भएको छ । साथै नेपाल चीनबीचको रातोमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि समझदरीपत्रमा हस्ताक्षर भै कार्य अगाडि बढेको छ । नेपालले भारत तथा बंगंलादेशको विद्युत् बजारमा पहँुच पाउने गरी कार्य अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका