अदमित दमनराजका भित्री कुरा

कुमारी लामा समीक्षक

आत्मकथाको इमानदारीको कुरो उप्किदा आजकल निकै उठ्ने गरेको छ एउटा नामः दमनराज तुलाधर । केही साल अघि एक पत्रकारमित्रबाट सुनेको हुँ उनको चर्चा । तर दुर्लभ भइसकेको यस पुस्तक पढ्ने हुटहुटी उसै सेलाई गएको धेरै भइसकेको थियो । जब कोभिड-१९ को सरगर्मीमाझ अघिल्लो महिना लुसुक्क एक साहित्यिक हितैसीकहाँ पुगेथेँ, मेरो लामो खुलदुलीको पोको टेबल चुपचाप उँघिरहेको पाएँ । र मित्रको स्वीकृतिमा झोलाभित्र खुसुक्क हाले दमनराज तुलाधर लिखित फोटोकपि पुस्तक । त्यसपछि खोलिएको हो मेरो उत्सुकताको पेटारी ।

राणा शासकको छत्रछायाँ पाएको खानदानी परिवारमा वि.सं. १९७३ सालमा जन्मिएका हुन् दमनराज तुलाधर । उनका ठूलाबा १९७० सालमा चन्द्र शमशेरको दरवारमा खरिदार थिए भने उनका पिता उनी जन्मेकै सालमा जर्नेल मोहन शमशेरको ढोकाको राइटरको दर्जामा जागिरे । मोहन शमशेरबाट घर किन्न भनी पाएको पैसाले उनका बुबाले नरदेवीमा घर किनेका थिए । त्यस अघि उनीहरु बहालमा बस्थे । उनका हजुरबा ललितपुरको बुङमतीका थिए । जंगबहादुरले हजुरबालाई सात गाउँको नाइके बनाइदिएका रहेछन् । उनी निकै चल्तापूर्जा र कठोर शोषक पल्टिदिएछन् । तेस्रो श्रीमती ल्याएपछि दोस्रो श्रीमती र बच्चाहरु (दमनका बुबा, ठूलोबा) सहित डुकु गाउँमा अलिकति जग्गा दिएर छुट्टयाइदिएछ । उनका हजुरआमाले छोराहरुको भविष्यका लागि भगत काजीको बैठकमा रुनु पुग्दा उनैले छोराहरुलाई पढ्ने व्यवस्था मिलाइदिएका रहेछन् । यति पढिसक्दा दमनले बाँकी नराखी बाजेको कर्तुत फकाएको पाउँदा उनको लेखनीको थोरबहुत इमानदारी महसुस भएको छ ।

जब दमनराज आफ्ना किशोरकालीन कर्तुतहरु भकाभक खोल्छन् तब भने पक्का हुन्छ उनलाई खास केही लुकाउनु छैन । उनको छिमेकी युवतीसँगको लामो लसपस उनी मज्जाले नै लेखिदिन्छन् । सम्बन्ध थाहा पाएपछि केटीको विहे गरी वीरगञ्ज पठाइदिन्छन्, परिवारले अनि उनीहरुको त्यो किशोरकालीन प्रेम टुङ्गिन्छ । पछि उनी वीरगञ्ज पुग्दा भेटिएकी उनकी पूर्व प्रेमीको छोरीको अनुहार आफूसँग मिलेको कुरा र उनले विहे गरेको सातै महिनामा त्यो नानी जन्माएको प्रसंग (पृ.१२) उनी नहिच्किचाई भनिदिन्छन् । एक लेखकको इमानजमान यहीँबाट छिनोफानो लाग्छ । उनी अति व्यक्तिगत कुरा पनि संकोचरहित लेखिदिन्छन् । उही प्रेमील समय यसरी सम्झन्छन्, “…मौका पर्यो भने उनी मलाई आफ्नै सुत्ने कोठामा लग्थिन् । यसरी हामी दुईले अढाई तीन बर्ष बैकुष्ठको आनन्द भोगेर दिन काट्यौँ”(पृ.११) । लामो समय जेठाबासँग सगोलमा बसेको उसको परिवारले जेठाबाकै खटनपटन सहनुको पीडा पनि पोख्छन् । १९८० सालमा ठूलाबालाई चन्द्र शमशेरले त्रिपुरेश्वरमा घर किनिदिएपछि भने उनीहरुको परिवार छुट्टिन्छ ।

दमनराजका बुबा बलराज मोहन शम्शेरका बिश्वास पात्र रहेछन् । मोहनको रोलक्रम बढेर जङ्गीलाठ हुँदा सुब्बा हुन सक्ने मौका शैक्षिक योग्यताका कारण खरिदारमा नै उनी सीमित हुन्छन् । तर मोहनसँग नजिकिदाका कारण तलब सुविधा भने सुब्बाकै पाइरहन्छन् । बाबुले गरेको दुःख र मोहन शमशेरलाई रिझाएका कारण दमनराजको किशोरकालीन समय निकै शान शौकतमा बित्छ । उबेलाको दरबार निकट परिवारको सामाजिक प्रतिष्ठा र शक्ति हामी कल्पना गर्न सक्छौं । उनी सत्ताधारी कित्ताका मानिस हुन् । सहजै स्वीकारिदिन्छन् पनि । पैसा, शक्ति र उमेरले निम्त्याउन सक्ने सबै कुरामा सामेल छन् दमन ।


उनले जुवातासमा बाबुको खुबै पैसा उडाइदिएका थिए । तर उनको दाजु लीलाराज भने उनी भन्दा चौखण्डका निस्किन्छन् । उनले तास जुवामा मात्र नभई दरवारको केटी बाहिर राख्नाले परिवारको पैसाको स्वाहा नै पारिदिएका थिए । परिवारभित्रको नमीठा कुरा भकाभक खोल्नु साहस चाहिन्छ । लाग्छ दमन आँटी छन् । उनी आइ.ए पढ्न थालेपछि पढाउने कामतिर लाग्छन् । उनलाई बाउको पैसामा धेरै समय मोजमस्ती गर्न मन लाग्दैन र समाउछन् जागिर । उनी रहेछन् यदुनाथ खनाल, भीमबहादुर पाँडेका समकक्षी । पाँडे कमर्श पढ्न कलकतातिर लाग्छन् तर उनी भने बि.ए. पढ्न यतै बस्छन् । उनलाई राणाको चाकरीमा पस्न मन लाग्दैन । उनीभित्र थोरबहुत राणाविरोधी चेतना घुस्न थाल्छ । बि.ए पास गरेपछि बाबु जस्तै मोहन शमशेरको ढोकामा उभिन जानु पर्ला भनी उनले एउटा परीक्षा नै नदिई फेल भइदिन्छन् ।

“ए तिमी नकचरा पो ? जाऊ तिम्रो लागि ढोका खुल्दैन । तिमी वेइमान हौ, विश्वासघाती हौ । तिम्रो मुखै हेर्न चाहन्न म”

उनले युवतीसँगको अर्को काण्ड पनि अप्ठेरो नमानी खुलाइदिएका छन् ।आइ.ए पढ्ने बेला पल्लो घरमा बस्न आएकी धादिङकी युवतीसँग उनको सम्बन्ध बढ्न थाल्छ । बिस्तारै रातीराती भेट्न जाने क्रम पनि बढ्छ । केटीको आमा र आफन्तसँगको सल्लाहामा उनले घरमा थाहै नदिई मन्दिरमा गई बिहे गर्छन् । पहिले जस्तै रातीराती भेट्नेक्रम चलिरहन्छ (पृ.४६) । तर एउटा सानो घटनाले गर्दा उनीहरुको गुपचुपको सम्बन्ध परिवारमाझ खुलासा भइदिन्छ । अब राणापरिवारसँग जोडिएको यस परिवारले आफ्नो इज्जत प्रतिष्ठाका खातिर पनि त्यस सम्बन्धलाई स्वीकार नगर्नु त स्वभाविक हो । केटो परिवारको कुरा अटेर गरी दुलहीसँग भेटिनै रहन्छन् । तर एक साँझ घर पस्दा आफ्नो कोठामा एउटी युवती बसिरहेको पाउँदा उनी चकित हुन्छन् । परिवारको मिलेमतोमा उनका लागि नयाँ दुलही भिडाइदिन्छन् । उनी बाध्यतामा परी स्वीकार्छन् । केही समय पल्लो घर नगएका उनी पछि भेट्न खोज्दा भने त्यस युवतीले उनलाई ठाडै अस्वीकार गरिदिन्छिन् । कडा जवाफ दिई दमनराजलाई आफ्नो जीवनबाट बेथखल गरिदिन्छिन् । दमन उनको ढोका ढक्ढकाउन जाँदा उनी भन्छिन्, “ए तिमी नकचरा पो ? जाऊ तिम्रो लागि ढोका खुल्दैन । तिमी वेइमान हौ, विश्वासघाती हौ । तिम्रो मुखै हेर्न चाहन्न म” (पृ.५१) । क्या गतिलो जवाफ । धनीमानीले दुई चार महिला सहजै राख्न सक्ने या पाउने त्यस समयमा चाहेको भए उनी पनि बाहरिया भई आनन्दले बस्न सक्थिन् । तर उनले त्यसो गर्न चाहिनन् । समय भन्दा निकै अघिको चेतना भएको ती युवती को थिइन् होला ? दमनको व्यवहार जे भए पनि उनले त्यस नित्तान्त नीजि मामला लेख्न सक्नु चाहिँ गजब कै कुरो हो । परिवारले जबरजस्ती भिराइदिएकी श्रीमती शीलप्रभाबाट एउटा छोरा भए पनि उनीहरुको सम्बन्ध राम्रो देखिन्न । दमन पछि त राजनीति तिर पनि लाग्छन् । राणाको छत्रछायामा हुर्किएका युवा राणाकै विरोधी बनी अनेक काण्डहरुमा मुछिदै जेल परिहन्छन् ।

उनी निकै समय शिक्षण पेशामा आबद्ध भएको पाइन्छ । जुद्धोदय स्कूलबाट पढाउन शुरु गरी उनी धनकुटा, चैनपुरसम्म पनि पढाउन पुग्छन् । देशले राणाको जहाँनिया शासनबाट निकास खोजिरहेको समयमा उनी नेपाल प्रजा परिषदसँग जोडिई पार्टीको कामलाई पनि निरन्तरता दिन्छन् । टंकप्रसाद आचार्यहरु जेलमा हुँदा उनीहरु पशुपति र शोभाभगवतीमा भजन गर्ने बहानामा निरंकुश राणाशासनका विरुद्ध भाषण ठोक्दै हिड्न थाल्छन् । नब्बेको पछिल्लो समयमा शुक्रराज शास्त्री, टंकप्रसाद आचार्य, गंगालाल, धर्मभक्तहरु पक्राउ पर्छन् । त्यसबेला उनी लगायत कवि गोपालप्रसाद रिमाल निकै सक्रिय रुपमा पार्टीको काममा लागेको उनले उल्लेख गरेका छन् (पृ.७९) । विश्व माहोल निकै फरक हुदै गइरहेको थियो । भारतीय स्वतन्त्रता आन्दोलन र विश्वमा आएको प्रजातन्त्रको लहर एकातिर र भारतमा विश्वेश्वरप्रसाद कोइरालाहरुको राणाविरोधी पार्टीको गठन लगायतले काठमाण्डौको जनतामा एक फरक मनोविज्ञानको निर्माण गर्दै थियो । उनी लेख्छन्, “काठमाण्डौमा एउटा खुला राजनीतिक दल खोल्न गोपालप्रसाद रिमाल र म साधन र उपायको खोजीमा व्यस्त थियौँ” (पृ.८३) । त्यसै क्रममा जनतामा जागरण ल्याउनका लागि भनी उनीहरुले पशुपति र शोभाभगवतीमा भजनका कार्यक्रमहरुलाई निरन्तरता दिदै जान्छन् । रिमालले “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” भजनकै क्रममा गाउन बनाएका रहेछन् । उनीहरुको भजनको कार्यक्रममा हजारौको संख्यामा मानिसहरु भेला हुन थालेपछि २००३ सालतिर उनीहरु भजनस्थलबाटै पक्राउ पर्छन् । राणालाई माफी मागे छुट्ने स्थिति भएपनि उनले त्यसो गर्न चाहेनन् । यसै बिषयको विवादले जेलमा भेट्न गएकी श्रीमतीसँग उनको खट्पट पर्छ । उनकी श्रीमती आफ्नो बाटो लागिन् । एउटा असामान्य तरिकाले सुरु भएको उनीहरुको सम्बन्ध अर्को असहज परिस्थितीमा टुङ्गिन्छ । लत्ताकपडा बाहेक अरु सबै छाडेर गएकी श्रीमतीको इमानको कुरो भने उनी लेख्न छुटाउदैनन् । छोरालाई भने दमनराजले नै हुर्काउछन् पछि ।

दमनराजको जीवन असमञ्जस्यपूर्ण देखिन्छ । उनी राणाको नजिक भएका परिवारका सदस्य । धेरै पटक उनी पनि दरबारको मेजमानी खाएकै छन् । फेरि उनमा राणाविरोधी चेतना उम्रिएको छ । उनी मरिहत्ते गर्छन् राणा हटाई राजाको शासन ल्याउने मामलामा । उनी घरीघरी कलकत्ता पनि पुग्छन् । गणेशमानसिंह, बी.पीसँग पनि भेट्छन् तर कांग्रेसभित्रको किचलो देख्दा विरक्तिन्छन् । राणविरोधी पक्का हुन् उनी तर कट्टर राजभक्त भइदिन्छन् । उनले त्रिभुवनदेखि महेन्द्रसम्मको समीपमा रही काम गरेको देखिन्छ । देशमा प्रजातन्त्र आएपछिको नयाँ शासन व्यवस्थामा योजना मन्त्रालयबाट उनले २००८ सालबाट निजामति सेवामा प्रवेश गर्छन् । उनी अब व्यवस्थित जागिरे जीवन र पारिवारिक जीवनमा फर्किन्छन् । फेरि विहे गर्छन् जबबाट एउटा सन्तान हुन्छ तर नानी मरेपछि आफ्नो छोरालाई उनले भाइकोबाट झिकाएर आफैसँग राख्न थाल्छन् । आफ्नो सन्तान बितेकी सौतेनी आमाले पनि छोरालाई राम्रो गर्छ । अब दमन राजनीति छाडेर शुद्ध जागिरे हुन्छन् । उनले पन्ध्र बर्ष जागिर गर्दा राजा महेन्द्रको नजिक भई काम गरेको देखिन्छ । योजना, परराष्ट्र, उद्योग, जलस्रोत लगायतका बिभिन्न विभागमा निकै उच्च पदमा रही काम गरेकाछन् । देशविदेश भ्रमण प्रशस्त गरेका हुन्छ । उनको अंग्रेजी राम्रो भएकाले राजा महेन्द्रको अनेकन भाषण उनले लेखिदिएको कुरा खोल्छन् । संयुक्त राष्ट्रसंघको ११ औँ अधिवेशनमा उनी लगायतका उच्च पदाधिकारीहरु सहभागी हुँदा त्यहाँ उनले पनि बोलेका रहेछन् (पृ.१६८) । त्यसबेला राजकुमार हिमालय र बसुन्धरा लगायतका राजपरिवारका सदस्यहरु पनि त्यस सम्मेलनमा सहभागी रहेको कुरा उनी खोल्छन् । पहिलेका बिद्रोही युवा, अब जागिर र दरबारको नजिक रही काम गर्न थाल्छन् । उनको पारिवारिक विरासतमा खास फरक माहोल देखिन्न । उनका पिता राणाका विश्वासमा थिए र शक्तिको स्वाद चाखेकै थिए । दमनले थोरै फरकपन देखाए पनि उनी कडा राजावादी बनी महेन्द्रको वेहद समीपमा रही सत्ताको स्वादमा रुमलिनै रहे ।

भारतीय स्वतन्त्रता आन्दोलन र विश्वमा आएको प्रजातन्त्रको लहर एकातिर र भारतमा विश्वेश्वरप्रसाद कोइरालाहरुको राणाविरोधी पार्टीको गठन लगायतले काठमाण्डौको जनतामा एक फरक मनोविज्ञानको निर्माण गर्दै थियो ।

जागिर छाडेपछि पनि उनी निरन्तर महेन्द्रीय सम्पर्क र निगाहमै रहीरहे । उनले महेन्द्रको भाषणहरुको नेपालीमा उल्था गरी किताब तयार गर्ने काम पनि गरे । उनी महेन्द्रका खास प्रिय मानिस थिए ।  २०१७ सालको महेन्द्रीय कु पछि उनी रेखदेख दौडाहा विभागमा पनि सामेल भएका देखिन्छन् । महेन्द्रीय कुलाई उनी ऐतिहासिक कदम मान्छन् । देशमा प्रजातन्त्र आएपछि पार्टीहरुभित्रको किचलो, हुलदङ्गा, अनेक हत्याकाण्डहरुले गर्दा जनतामा आएको वितृष्णा फैलिएकाले देश भड्खालोमा जान लागेको बखत राजाले देश जोगाएको उनको जिकिर छ । “श्री ५ महाराजधिराजबाट देशलाई सम्भाव्य बरवादीबाट जोगाउन एउटा ऐतिहासिक कदम चालिबक्सेको…” (१९७) । यस भनाइले उनको राजावादी भाव र राष्ट्रवाद प्रष्ट हुन्छ तर देशमा बल्लबल्ल ल्याएको बहुदलीय व्यवस्था र प्रजातन्त्रको हत्या गरी फेरि पञ्चायती व्यवस्था ल्याउनु महेन्द्रको भुल नै थियो भन्ने कुरा इतिहासले प्रष्ट्याइदिएको छ ।

महेन्द्रीय शासनमा दमनराज तुलाधरले लाभको पदमा रही देश सेवा गरेको देखिन्छ । उनी शाही भुमिसुधार आयोगको हाकिम भई गण्डकी र राप्ती अञ्चलमा खटाइन्छन् । उनले आफ्नो रायमा जग्गाको हदबन्दी नराख्न भनी राजालाई सिफारिस गरेतापनि अरुले नमानेकाले उनी अल्पमतमा परेको कुरा उल्लेख गरेका छन् (पृ.२००) । भुमिसुधारको काम पछि उनी नेपाल तिब्बतको सीमा स्तम्भ स्थापनार्थ हाकिम भई काम गर्छन् । दरबारले अह्राएको हरेक काम उनले निकै इमानदारीसाथ फत्ते गरेको दृष्टान्त उनी पेश गर्छन् । जागिरबाट राजीनामा गरेपछि व्यापार व्यवसाय गर्ने सोच बनाएता पनि राजाका किताब र संचार मन्त्रालयका अनेक कामहरुका लागि अनुरोध आएकाले फेरि पनि उनी राजाकै काममा सामेल भइजान्छन् । उनले Pronouncment of King Mahendra on Panchaytcracy /Nepal & Iran: A Tale of Two Lands जस्ता पुस्तक दरवारको आदेशमा गरिदिन्छन् । यी काम सकेको मात्र हुन्छ राजा महेन्द्रको देहावसानको खबर आउँछ । राजाको अचानक मृत्युमा उनी अति भावविभोर भई राजाको नाममा निकै लामो कविता लेखी आफ्नो जीवनी टुङ्ग्याइदिन्छन् । अचम्मित पार्ने कुरा भने उनले आफ्नो परिवारका अन्य सदस्यबारे मज्जाले लेखेका छन् तर उनी आफ्नो पछिल्लो पारिवारिक अवस्थाबारे भने मौन देखिन्छन् ।

२०३९ सालमा संग्रह प्रकाशनले यस पुस्तक छाप्दा उनी ६६ बर्षमा लागेका रहेछन् । उनले आफ्नो व्यक्तिगत जीवनका पाटाहरु खास खोलेका छैनन् । घरबार सुरु गरेको र कान्छीबाट भएको पहिलो सन्तान वितेकोसम्म मात्र भेटिन्छ परिवारका बारे । त्यसपछि उनको पारिवारिक सम्बन्ध कस्तो भयो ? सन्तानहरु के कति भए ? उनीहरुले के गर्दैछन् ? लगायतका कुराहरु उनले लेखेका छैनन् । यस जीवनी पढ्दा उनी खास रुपमा राजपरिवारसँग नजिक रहेको र कट्टर राजावादी भएको प्रष्ट हुन्छ । उनले राजा त्रिभुवन र महेन्द्रबाट निकै निगाह पाएको देखिन्छ । उनका जीवनका अनेक आयामहरुमा युवाकालीन राजनीति, विद्रोही चेतना देखिए पनि त्यस चेतनाले राणालाई फाल्नेसम्मको काममा मात्र प्रयोग भएको पाइन्छ । अन्ततः उनी कट्टर राजावादी भई राजाकै छत्रछायामा रमाउँछन् । पाएका सरकारी जिम्मेवारी भने उनले बेसक इमानदारी साथ निभाएका छन् ।

दमनराजको जीवनी पढिभ्याउँदा उनीबारे केही दृष्टिकोण भने तयार भएको छ । उनी आम जनताका मानिस होइनन् । उनी ठाडै राजाका मानिस हुन् । उनको परिवारिक पृष्ठभूमिले बोल्छ उनको कुलीन घराना राज्यको केन्द्रमा रही शक्तिको नजिक भई लाभ लिएको परिवारका सदस्य हुन् उनी । युवा अवस्थामा उम्रिएको विद्रोही चेतनाले उनलाई केही समय जनताको हितको काममा त लगायो तर अन्तत उनी वंशीय गुणबाट अलग हुन सकेनन् । महेन्द्रीय कु लाई जयजयकार गर्ने उनी दरबारको इसारामा चल्ने एक गोटी हुन् । पक्ष विपक्ष र कित्ता कुना सबैको हुन्छ । उनी दरबारीया कित्ताका मानिस हुन् । आज राजतन्त्र फालिएर देश गणतन्त्रको यात्रामा लागिसकेका बखत उनका विचार केही आउटडेटेड लागे पनि उनको इमानदार अभिव्यक्तिलाई भने मान्नै पर्छ । कम्तीमा उनी छद्मभेदी होइनन् ।

यो पनि

तपाईको प्रतिक्रिया