वि.सं. २०३७ सालदेखि म नेपालको सामुदायीक विकास क्षेत्रमा क्रियाशील छु । विभिन्न अनुभवहरु र नेपालका विभिन्न ठाउँहरु डुल्दा के बुझ्यो भने धेरैजसो नेपालको समुदाय विकास अथवा नेपालको विकासको बाटो चाहीँ नेपालीले व्याख्या गरेको बाटो नहिँडिकन विदेशीहरुको व्याख्या, परिभाषा अनुसार बेसी हिँड्यो भन्ने देखिन्छ । नेपालको विकास एउटै चस्माले हेर्यो त्यो पनि प्रायः समस्यामा आधारित एउटा नकरात्मक हुँदैन, सक्दैन भन्ने पाटोबाट मात्र बेसी ओकालत भयो । अर्को, विकासका लागि एउटा दृष्ट्रिकोण चाहिन्छ, सोच चाहिन्छ, त्यो आफैँले बनाएको सोचप्रति आत्मविश्वास छ, यथार्थतामा आधारित छ र त्यो व्यवहारमा लागु गर्न सक्छ भन्ने उसलाई विश्वास जाग्यो भने उ निरन्तर लागि रहन्छ । उसलाई ठूलो परियोजना पाओस् चाहे नपाओस्, समुदाय उ लागिरहन्छ । यो कुरालाई लिएर क्षमतामा आधारित समुदायमा के क्षमता छ ? नागरिकमा के क्षमता छ ? उसँग के शक्ति छ ? त्यो खालको के ज्ञान छ ? त्यो खालको उनीहरुको संस्था के छ ? जसले परम्परादेखि आजसम्म उनीहरुको वंश, सन्तानलाई कायम गर्न सक्यो, त्यो ठाउँ अपुताली गएन । गरिबीको तुलना गर्दाखेरि गरिबी नै भएपनि घिटी घिटी भए पनि बाँच्न सकेको छ, त्यो बाँच्न सक्ने उर्जा चाहीँ के हो त ? त्यो योग्यताहरु, क्षमताहरु, तागतहरुको आधारमा परिकल्पना गरेर अगाडि बढ्यो भने पाँच वर्ष, दश वर्ष अथवा एकै वर्ष, छ महिनाकै किन नहोस्, अलि लामो दश वर्ष, पन्ध्र वर्षको अलि लामो सोच राखेर अगाडि बढ्यो भने विकास हुन्छ । यो योग्यता, क्षमता, ज्ञान, सिप, अनुभव, विगतका सिकाइलाई लिएर अगाढि बढ्ने, वर्तमानको स्रोतलाई लिएर अगाडि बढ्ने, भविश्यको परिकल्पना लिएर अगाडि बढ्ने हो भने चाहीँ त्यो विकास हुन्छ । आजसम्मको मेरो अनुभवमा मेरो यो रह्यो ।
फेरि हामीकहाँ के सिकायो भन्दाखेरि धेरैजसो चाहीँ अधिकार सिकायो तर जिम्मेवारी सिकाएन । सत्तामा पहुँच, महिला अधिकारको कुरा, नागरिक अधिकारको कुरा धेरै धेरै गरेको छ तर काम गर्न उसलाई लाज लाग्छ । यस्तो छ कि पढेर पनि गोरु जोत्ने ? गोरु जोत्नु हुँदैन नि पढेको मान्छेले त भन्ने सोच निर्माण गरेको छ । भन्नाले काम गर्ने संस्कृति नै सिकाएकै छैन । मिडियाले नै त्यसो भनिरहन्छ ।
सुदुरपश्चिमाञ्चल कर्णलीको माथिल्लो भेगमा आलु खाने कुरा होइन रे, जौ खाने कुरो होइन रे, मकै, फापर खाने कुरा होइन रे । के चाहीँ खाने कुरा हो रे भन्दा काठमाडौंबाट निर्यात गरेको, काठमाडौंबाट लगेको चामलको भात चाहीँ खाने कुरा हो भनेर वकालत बेसी भयो । यसले गर्दाखेरि हामीले आफ्नो खुट्टामा उभिने खालको, हाम्रो ठाउँको स्रोत साधन प्रयोग गरेर अगाडि बढ्ने खालको मानसिकता तयार गर्ने खालको कामलाई अगाडि बढाएको छैन ।
पछिल्लो केही समय यता हामी जस्ता केही मानिसहरु पछि नै लाग्यौ, यसरी हुँदैन भनेर । दाल, भात खाएर मात्र सबै थोक विकास हुन्छ, प्लेनबाट लगेको चामल खाएर मात्र सबै थोक हुन्छ भन्ने कुरा होइन । तत्काललाई हुन्छ होला तर दीर्घकाललाई हुने कुरै होइन । दीर्घकालको कुरा सोच्ने हो भने त्यहाँको नागरिकको कहाँनेरि व्यक्त हुन्छ त सबै विकासको कुरा ? एउटा वृहत तहको र एउटा चाहीँ सुक्ष्म तहको । एउटा परिवार, एउटा व्यक्तिको, मध्यम तहको अनि राष्ट्रिय स्तरको वृहत तहको यी सबै प्रणालीसँग जोड्ने कुरा राम्रो भएको छैन । त्यसलाई अगाडि बढाउँदै छौं, बढ्दै छ ।
मैले अहिले अन्तिममा आएर के बुझेँ भने विकासको नतिजा चाहीँ जस्ले जसरी व्याख्या गरे तापनि कहाँ देखिन्छ भन्दा पहिलो, त्यो समुदायको आयु लम्बियो कि लम्बिएन पहिले भन्दा ? त्यो ठाउँको मान्छे निरोगी भयो कि भएन ? दोस्रो, पहिले भन्दा समृद्धि थपियो कि थपिएन ? आजभन्दा दश वर्ष पहिले, पन्ध्र वर्ष पहिलेको र अहिलेको तुलना गर्दाखेरि (हो अहिले महंगी बढेको छ) उसको समाजिक हैसियत, उसको कमाइ, उसको रोजीरोटी, उसको छोराछोरीको पढाइ कहाँ पुगेको छ ? समृद्धिको केही मापो छ त्यो हेर्नु पर्ने हुन्छ । तेस्रो कुरा, उ खुसी छ कि छैन ? सन्तुष्टि छ कि छैन ? तर, तत्कालीन सन्तुष्टिले भोलीको सन्तुष्टि निम्त्याउनु पर्छ । आजको एक प्रकारको सन्तुष्टिले भोलीको अनेक प्रकारको सन्तुष्टि निम्त्याउनु पर्छ, आजको सानो प्रकारको सन्तुष्टिले भोलीको ठूलो प्रकारको सन्तुष्टिको आधार तयार गर्नु पर्छ । यो तीनवटा कुरामा विकास व्यक्त हुन्छ । यसरी हेर्दा चाहीँ हामीले आफ्नै नेपाली वौद्धिकतामा, नेपाली बुद्धिमा, नेपाली ज्ञानमा उभिएर हाम्रो अवस्थालाई हेर्नु पर्ने देखिन्छ ।
अर्को अधिकार मात्रै धेरै सिकायो मान्छेलाई काम गर्ने संस्कृति सिकाएन । जिम्मेवारी पनि सिकाउनु पर्छ । त्यसको मतलव अधिकार चाहिँदैन भनेको होइन । हामीलाई पहुँच चाहिएको छ, सत्तामा पुग्नुपरेको छ, स्रोतसाधानमा पहुँच चाहिएको छ, निर्णय निर्माणको ठाउँमा पुग्नु परेको छ । फेरि पनि पूर्वाधार विकास र मानवीय विकासलाई सन्तुलन गरेर अगाडि बढ्नु पर्छ ।
फेरि पनि एकथरीले चाहीँ सफ्टवयर भनेर खाली अधिकारको कुरा मात्र सिकाउने, चेतनाको कुरा मात्र सिकाउने अनि अर्को कुरा सिकाउँदै नसिकाउने । अर्कोथरीले चाहीँ त्यो विकासै होइन, त्यो देख्दै देख्दैन, कस्को मनमा कति चेतना छ ? त्यो नाप्ने वैज्ञानिक को ? त्यो नाप्ने मेसिन कहाँ छ ? भनेर रोड बनाउनै पर्छ, बाटो बनाउनै पर्छ, विजुली चाहिन्छ नै, विजुली गाउँ गाउँमा लग्यो भने कम्तिमा पनि रोजीरोटीको लागि आधार बन्ला, बत्ति बल्ला, केटाकेटीलाई पढ्ने उज्यालो आउँला, गाउँघरको कुटिर उद्योग चलाउन मिल्ला भन्ने छ । यी दुईवटै अतिवादबाट हामी मुक्त हुनु प¥यो । मैले भनेको चाहीँ चेतनाको कुरा पनि, भौतिक पूर्वाधारको कुरा पनि सँगसँगै लिएर जानुपर्छ ।
आज ४० वर्षमा सत्तरी करोड मान्छे गरिबीबाट मुक्त भयो, चीनमा । गाँस, बास, कपास, शिक्षा र रोजगारको लागि यो वर्ष अन्तिम हो उनीहरुको । त्यसरी लगिराखेको छ उनीहरु विकासको कामहरुमा । त्यो मोडलमा काम भैराखेको छ उनीहरुको । हाम्रो चाहीँ कुरै बढी, गफै बढी । धेरै गफ गर्ने संस्कृति छ । यसलाई कसरी परिवर्तन गर्ने ? यो अबरोध कसरी फुकाउने ? मैले चाहीँ यहाँनेरि बुझेँ ।
यो राष्ट्रिय नीति, राष्ट्रिय विकास, क्षेत्रीय विकास अहिले भन्ने हो भने प्रदेश स्तर अनि गाउँ स्तरको विकासको तारतम्य चाहिएको छ । यो तारतम्य राम्रो भएको छैन जस्ले जति गफ चुटे पनि । यो जुन ढंगले जानु पर्ने हो त्यो भैसकेको छैन । आधारहरु भने तयार भएका छन् ।
हामी सकारात्मक सोच राख्ने मान्छेको लागि (हाम्रो आँखामा) चाहीँ नकरात्मक पनि सकारात्मक भैदिन्छ, सकारात्मक त सकारात्मक भैहाल्यो । किनभने नकारात्मक चिज भनेको चाहीँ त्यो रुपान्तरणको पक्ष हो, परिर्वतनको पक्ष हो, निर्माणको पक्ष हो, आविष्कारको पक्ष हो । जस्तो, फोहोरबाट मोहोर निकाल्ने निकाल्ने कुरा । फोहोर नकारात्म चिज हो तर त्यसबाट धेरै धेरै चिजहरु निकाल्न सकिन्छ । धेरै रोजगार ल्याउन सकिन्छ । हो, अरुको लागि फोहोर हाम्रो लागि अवसर भैदिन्छ । हवस्, धन्यवाद ।
हाम्रो विकास मोडल चाहीँ आदिवासी संस्कृति मार्ने खालको छ । यो हाम्रो मात्र होइन सरकारको पनि । प्रथाजन्य कुराहरु त्यो विकासको मोडलमा समावेश छ कि छैन ? भन्दा त्यो छैन । जस्तो, प्रत्येक तामाङ बस्तीका विद्यालयका नामहरु, प्रत्येक तामाङ गाउँबस्तीमा बनेका पुलहरुका नाम, तामाङ बस्तीका वनउपभेक्ता समितिहरुका नाम, तामाङ जातिको बाहुल्य बसोबास भएकै गाउँपालिका नामहरु तामाङ भाषामा छैनन् । ललितपुरमा साथीहरु लडेर कोन्ज्योसोम राखे । रसुवको गत्लाङमा पार्वतीकुण्ड वा के भनेको थियो साथीहरु लडेर आमाछोदिङमो राख्न सफल भयो । धादिङको नेत्रावती गाउँपालिकामा साथीहरु पनि लडेरै नेत्रावती डापजोङसम्म बनायो । आदिवासीहरुले पहिचानसहितको विकास खोजेको हो । अहिले दिगो विकासको कुरा उठ्ने गर्छ यसमा शंकै छैन तर दिगो विकास त जनताको चाहन अनुसार, उसको क्षमता अनुसार उसालाई पच्ने, उ खुसी हुने हुनु पर्यो न कि उसको संस्कृति, परम्परा र पहिचान मर्ने । पहिचान मारिसकेपछि त पशु तुल्य, पशु समान भैहाल्यो नि । संस्कृति बिनाको विकास भनेको एउटा मानव जत्था मात्र हुने भयो ।
(प्रस्तुत आलेख २०७६ भाद्र ६-८ गतेसम्म भच्र्यल माध्यामद्वारा संचालित पाँचौं तामाङ ज्ञान महोत्सवमा तामाङले प्रस्तुत गरेको विचरको आधारमा तयार गरिएको हो । -सम्पादक)