घरबिदा गएका नेपालीहरू साउदी फर्कन पाउने, नो अब्जेक्शन लेटर अनिवार्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
798 Shares
साउदी अरेबिया

साउदी अरेबियाका सरकारले कोरोना भाइरसका कारण नेपालमै रोकिएका नेपालीहरुलाई फर्कन दिने भएको छ । घरबिदा गएका नेपालीहरुलाई साउदी सरकारले फर्कन दिने निर्णय गरेको नेपाली दूतावासले सूचना जारी गरेर जानकारी दिएको हो ।

दूतावासका सूचना अनुसार घरबिदा तथा आगमन भिसा (रि इण्ट्री) नेपाल गएकाहरू साउदी फर्कन सक्ने बताएका छन् । साउदी फर्कन भिसासँगै कम्पनीबाट नो अब्जेक्शन लेटर अनिवार्य चाहिने दूतावासको सूचनामा उल्लेख छ । कम्पनीले नो अब्जेक्शन लेटर नदिएसम्म दूतावासले साउदी नफर्कन अनुरोध समेत सूचनामा गरेको छ ।

साउदीले सेप्टेम्बर १५ तारिखदेखि जीसीसी आबद्ध देशका नागरिकहरुलाई साउदीमा प्रवेश दिने निर्णय गरे लगत्तै नेपाली दूतावासले सूचना जारी गरेर नेपालीहरू फर्कन सक्ने बताएका हुन् । दूतावासले नेपाली फर्कन यहाँको कम्पनीले नो अब्जेक्शन लेटर वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्ने जनाएको छ ।

दूतावासको सूचनामा ‘ कागजी प्रकृयासँगै नेपालीहरुले साउदी फर्कन ४८ घण्टा समय अवधिरहने पीसिआर नेगेटिभ रिपोर्ट बोडिङको समय र साउदी विमानस्थलमा देखाउनुपर्ने ‘ लेखिएको छ । त्यस्तै ‘ साउदी प्रवेश गर्नेहरुले साउदी कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सबै सम्बन्धी व्यवस्थाहरू पालना गर्नेछु, भनी विमानस्थल आगमनपश्चात कागजातमा अनिवार्य रुपमा हस्ताक्षर गर्नुपर्ने ‘ सूचनामा उल्लेख छ ।

सूचनामा ‘ साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकमा वा भिसाको म्याद सकिएकाहरुको हकमा सेक्टेम्बर ३० तारिखसम्मका लागि स्वत नवीकरण हुने ‘ उल्लेख छ । दूतावासले ‘ बिदाबाट फर्किने वा पुनः आगमन भिसामा गएका तर नेपाल सरकार वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृत लिएर मात्र आउन सकिने ‘ सूचनामा लेखिएको छ ।

साउदी सरकारले कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई आगामी वर्षको जनवरीदेखि हटाउने घोषणा यसअघिनै गरिसकेको छ । साउदीमा झण्डै ६ हजारको हाराहारी महिला कामदारसँगै ३ लाखभन्दा धेरै नेपालीहरू कार्यरत रहेको दूतावासको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया