पृष्ठभूमि
महामारीको रुपमा विश्वभरि फैलिएको कोभिड १९ भाइरसले विश्वका हरेक वर्ग र समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक जीवनमा ठूलो रुपमा असर गरेको छ । तर पनि आदिवासी जनजाति समुदायमा यो भाइरसको प्रभाव बढी रहने कुरा विभिन्न प्रतिवेदनहरुले देखाउँछ । यसो हुनुमा आदिवासी जनजातिहरु सामाजिक, आर्थिक र राजनीतिक रुपमा सीमान्तमा रहनु हो । (संयुक्त राष्ट्रसंघ तथा बल्र्ड बैंक, २०२०) तथ्याङ्कहरुले के बताउँछ भने आदिवासी जनजाति समुदाय कोभिड १९ भाइरस मात्रै नभइ अन्य प्राकृतिक प्रकोपहरुले समेत सबैभन्दा बढी असर पुर्याएको समुदाय हो ।
कोभिड १९ र तामाङ सन्दर्भ
नेपालमा पछिल्लो दिनहरुमा कोभिड १९ भाइरसको ग्राफ द्रुत गतिमा उकालो चढिरहेको अवस्था छ । नेपाल विश्वमा सङ्क्रमणको सङ्ख्याको बृद्धिदरको दृष्ट्रिले ११ औं स्थानमा रहेको छ । आजको दिनसम्म नेपालमा ६२,७९७ जना सङ्क्रमित र ४०१ जनाको मृत्यु भइसकेको छ (४ असोज २०७७) । अहिले पनि जाजाति विशेषका तथ्याङ्क त हामीसँग छैन तर विभिन्न सन्दर्भग्रन्थ र प्रतिवेदनहरुलाई आधार मान्दा यस्ता महामारीबाट सबैभन्दा बढी प्रभावित आदिवासी जनजातिमा हुने गरेका छन् । नेपालमा कोभिढ १९ को सङ्क्रमण र प्रभाव हरेक जातजाति र समुदायमा उत्तिकै रहेपनि यसले अझ बढी तामाङ समुदायमा पर्ने, पार्ने देखिन्छ किनकी तामाङ समुदायको बसोबास शहरी क्षेत्र मुख्यतः संघीय राजधानी काठमाडौं वरिपरिका जिल्लाहरुमा बढी रहेकोले र शहर बजारमा आवतजावत र घुलमिल बढी हुने हुँदा सङ्क्रमणको सम्भावना बढी रहेको छ । तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि रहेकाले पनि यो समुदाय बढी जोखिममा रहेको छ ।
कोभिड १९ र बालबालिकाको शिक्षा
कोभिड १९ भाइरसको रोकथामका एउटा उपायका रुपमा अहिले नेपाल लगायत विश्वका धेरै देशहरुले विद्यालयहरु बन्द गरेका छन । जसका कारण हाल विश्वभरि एक अरबभन्दा बढी बालबालिकाहरु विद्यालय बाहिर छन् (विश्वबैंक २०२०)। युनडीपीका अनुसार कम मानव विकास भएका देशका ८६ प्रतिशत बालबालिकाले कोभिड १९ महामारीका कारण शिक्षा प्राप्त गरिरहेका छैनन् । जबकि विकसित देशमा यो २० प्रतिशत मात्रै रहेको छ । नेपालमा मात्रै ७० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिकाहरु विद्यालय बाहिर रहेको छ (शिक्षा मन्त्रालय २०२०) । अर्थात् ७० लाख भन्दा बढी बालबालिकाहरु शैक्षिक क्रियाकलापबाट बाहिर रहेका छन् ।
बालबालिकाको शिक्षामा सरकारी प्रयत्न
बालबालिकाहरु शैक्षिक क्रियापलापबाट बाहिर रहेका समस्यालाई सम्बोधन गर्नका लागि नेपाल सरकारले नीतिगत योजनाका साथ दुर तथा खुल्ला शिक्षालगायतका बैकल्पिक शिक्षाको व्यवस्था गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको छ । र, पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित भई रेडियो र टेलिभिजन सामग्री विकास गरी प्रसारण गर्दै अएको छ । विद्यार्थीहरुका लागि स्वअध्ययन तथा क्रियाकलाप सामग्री विकास गरी पोर्टलमा राखेको छ । तर यो कार्यक्रममा सवै वर्ग, समुदाय, क्षेत्र र लिङ्गका बालबालिकाहरुको पहुँच पुग्न सकेको छैन । यस्ता लाभ लिन नसक्ने समुदायका रुपमा तामाङहरुलाई लिन सकिन्छ ।
वैकल्पिक शिक्षा र तामाङ समुदाय
वैकल्पिक शिक्षा टेलिभिजन, रेडियो पत्रपत्रिका तथा मोबाइल फोनबाट प्रदान गरिने हुँदा यस्ता सामग्रीहरुमा धेरै तामाङ समुदाय सदस्यहरुको पहुँच छैनन् फलस्वरुप ठुलो सङ्ख्यामा तामाङ बालबालिका बैकल्पिक शिक्षा लिनबाट बञ्चित हुनसक्ने आँकलन गर्न सकिन्छ । सरकारी तथ्याङ्क अनुसार ३५.१ प्रतिशत तामाङसँग मात्रै (३० मिनेटको दुरीसम्मको) इन्टरनेटको पहुँच रहेको छ । कन्सोर्टियम नेपाल र वल्र्ड भिजनले भर्खरै गरेको सर्वेक्षणमा २९ प्रतिशत बालबालिका मात्रै बैकल्पिक पठन पाठनमा सहभागी हुने गरेका छन् । बैकल्पिक पठन पाठनमा सहभागी हुने बालबालिकाहरुमा मुख्य गरी नीजि विद्यालयमा पढ्ने र माथिल्लो कक्षामा पढ्ने बालबालिका मात्र रहेका छन् । यो अध्ययन अनुसार करीव ८० प्रतिशत विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक सामग्री नै छैन । सन् २०११ को सर्वेक्षण अनुसार २८.३४ प्रतित तामाङ गरिबीका रेखामुनि रहेका छन् । त्यसैगरी ६३.२२ प्रतिशत तामाङहरु गैर कृषि ज्यालामा आश्रित छन् (केतबि, २०१४) । तर, कोभिड १९ ले समग्र अर्थतन्त्र नै तहसनहस भएको वर्तमान परिपेक्ष्यमा ठुलो सङ्ख्यामा ज्यालामा आश्रित तामाङहरुकको लागि बालबालिकाको शिक्षाभन्दा भोक प्राथमिकतामा पर्नछ र बालबालिकाको शिक्षामा लगानी गर्नसक्ने सम्भावना एकदम न्युन रहन्छ । यसरी तामाङ परिवारमा देखा परेको आर्थिक अस्थिरताले तामाङ बालबालिकाको शिक्षामा असर पुर्याउने निश्चित छ । बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ र बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण पुस्तिका २०७७ मा शिक्षकलाई जति जिम्मेवारी तोकिएको छ त्यो पूर्ण रुपमा कार्यान्वयन भएको देखिँदैन । उदाहरणको रुपमा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि सुरक्षित मापदण्ड अपनाई भौतिक दुरी कायम गर्दै बालबालिकाहरुलाई पाठ्यपुस्तक, स्वाध्यायन सामग्री वा छपाइका सामग्रीहरु उपलव्ध गराउन लागि पहल गर्ने भनिएको छ तर त्यो पूर्ण रुपमा कार्यान्वयन भएको देखिँदैन । थोरै विद्यालय र शिक्षकले मात्र यो जिम्मेवारी पुरा गरेको देखिन्छ । शिक्षकहरुसँगको कुराकानीमा पहिला जीवन अनि शिक्षा भन्ने जस्ता जवाफ आउने गरेको स्थिति छ ।
त्यसैगरी नेपाली दोस्रो भाषा भएका प्रारम्भिक कक्षाका विद्यार्थीहरुको हकमा अभिभावकहरुलाई पाठ सुन्न र बुझाउनका लागि परिचालन गर्ने भनिएको छ तर धेरै तामाङ अभिभावकहरु स्वयं लेखपढ गर्न नजान्ने र दोस्रो भाषा नबुझ्ने भएको हुँदा तामाङ समुदायको लागि यो व्यवहारिक देखिँदैन (तथ्याङ्क अनुसार तामाङहरुको साक्षरता प्रतिशत ५६.६४ (वर्षभन्दा माथिका उमेर समुहका) रहेका छन् ।
दुरगामी असर
कोभिढ १९ ले तामाङ बालबालिकाको शिक्षामा पारिरहेको शिक्षालाई तत्काल सम्बोधन गर्ने कोशिस नगरिए यसले तामाङ समुदायको समग्र जीवनमा दुरगामी असर पर्ने निश्चित छ । बेलायतका जनस्वास्थ्यविद्हरुले गरेको अध्ययनले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा मानसिक रुपमा असर पर्ने बालबालिकाको सङ्ख्या अध्याधिक हुनेछ ।
ड्रपआउट रेट बढ्ने सम्भावना
तामाङ ज्ञान, सीप र कला आदिको लोप हुने सम्भावना यदि कोभिड १९ ले तामाङ समुदायमा महामारीको रुप लियो भने यसले समुदायका पाका (जो तामाङ ज्ञानका स्रोत हुन) मानिसहरुको मृत्युदर बढ्नेछ र योसँगै तामाङ ज्ञान, सीप र कला पनि लोप हुँदै जानेछ । बालबालिकाले पुराना पुस्ताबाट आदिवासी ज्ञान, सीप कलालगायतका अनौपचारिक शिक्षा लिने स्रोत गुमाउदा तामाङ पहिचानमा सङ्कट पर्न सक्दछ ।
बालश्रमको बृद्धि- आफ्नो अभिभावकलाई आयआर्जनसम्बन्धी गतिविधिहरुमा सहयोग गर्न विद्यालय छाड्नु पर्ने अवस्थाको सृजना हुन्छ र अन्ततः बालश्रम गर्न बाध्य हुनेछ ।
बालविवाहरुको बृद्धि हुने सम्भावना- शैक्षिक गतिविधिबाट टाढिदा बालविवाह हुने सम्भावना बढी रहन्छ र विवाहित भएपछि पुनः विद्यालय फर्कने सम्भावना पनि कमै रहन्छ ।
असर न्युनीकरणका उपाय
आर्थिक रुपमा कमजोर बालबालिकाहरुको पहिचान गरी तिनीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु प्रदान गरेर शैक्षिक क्रियाकलापमा पहुँच पुर्याई विद्यालय छोड्नबाट बचाउने मात्र नभइ बालविबाह, बालश्रम जस्ता कार्यलाई रोक्न सकिन्छ ।
बालबालिका, विद्यालय र सुरक्षित पठनपाठनलाई सहयोग पुग्ने गरी विद्यालयहरुमा आवश्यक बजेट व्यवस्था गर्न पर्दछ । विद्यालय भौतिक पुर्वाधारयुक्त र प्राविधिक रुपले सक्ष्म बनाउनु पर्दछ । यसको लागि तीनै तहको सरकार, समुदाय र गैरसरकारी संस्थाका् भुमिका आउँछ ।
न्यून आय भएका बालबालिकाको परिवारको आर्थिक अवस्थामा सुधार गर्ने कार्यक्रमहरुमा जोड दिनु पर्दछ ।
विद्यालय व्यवस्थापन समिति, विद्यालय र अभिभावक संघले शिक्षकहरुलाई सबल र सक्षम बनाई प्रभावकारी ढंगले परिचालन गराई बालबालिकाहरुसँग नियमित सम्पर्क र अन्तक्र्रिया गरी तिनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी बनाई राख्नुपर्दछ ।
आशा र सम्भावना
कोभिढ १९ भाइरस विश्वराजनीतिसँग प्रत्यक्ष जोडिएको हुनाले शक्ति संघर्षका क्रममा यो भाइरसको खोप र औषधी विकासका लागि शक्ति राष्ट्रहरु अहोरात्र खटिरहेका छन् । भुराजनीतिक दृष्ट्रिकोणले महत्वपूर्ण हाम्रो मुलुकमा छिमेकी देशहरुले विकास गरिरहेका खोप र औषधी यसको व्यवसायिक उत्पादन भएसँगै हामीकहाँ छिटोभन्दा छिटो आउने सम्भावना छ । यसो भएमा तामाङ समुदाय पनि यो महामारीबाट छिटटै मुक्त हुन सकिन्छ र हामीले परिकल्पना गरेको जस्तो समस्या र असरबाट थोरै क्षतिमा हाम्रो अगाडि बढ्न सकिन्छ । अन्तमा, आफू सचेत र सुरक्षित भई समुदायलाई पनि सचेत र सुरक्षित बनाइ यो महामारीबाट बचौं र बचाऔं ।