साउदीमा दैनिक दुई गुणाभन्दा धेरै कोरोना निको, नयाँ संक्रमित पाँच सयमा झर्‍यो

साउदीमा अहिलेसम्म तीन लाख २९ हजारभन्दा धेरै संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा पछिल्लो दिन उपचारपछि निको हुनेको संख्या बढ्नेक्रम जारी छ । यसै क्रममा शनिबार कोरोना भाइरसको उपचारपछि एक हजार ७८ जना निको भएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरस संक्रमित तीन लाख ९ हजार ४३० जनाको सफल उपचार भैसकेका छन् ।

त्यसैगरी शनिबार कोरोना भाइरस नयाँ संक्रमित ५५१ थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार हालसम्म यहाँ तीन लाख २९ हजार २७१ जना कोरोना संक्रमित पुगिसकेका छन् । ‘ संक्रमितमध्ये १५ हजार ३८३ जनाको यहाँको विभिन्न अस्पतालमा उपचार भइरहेको छन् ‘, प्रवक्ता डा.अब्दुलीले भने,’ उपचाररतमध्ये १ हजार १६६ जनाको गम्भीर अवस्था रहेकाले उहाँहरुलाई बिशेष ध्यानमा राखेर चिकित्सकहरु लागि परिरहनु भएको छ ।’


शनिबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ५२१ जना बढी छन् । यहाँ कुनै बेला दैनिक ५५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएको थियो । पछिल्लो दिन भने ५ देखि ६ सयको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

साउदीमा कोरोनाको उपचार गरिरहेका २८ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरसबाट कुल ४ हजार ४५८ जनाले ज्यान गुमाई सकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया