एनआरएनए हेल्थ सम्मेलनको निस्कर्ष : चेतनाको अभावमा बढ्दै महिलामा स्वास्थ्य समस्या

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
काठमाडाैं

गैर आवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार महिलाको स्वास्थ्य र अवसर विषयक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा एनआरएनए कोरियाकी सदस्य जुनु गुरुङले रोजगारीका लागि कोरियामा गएका महिलाहरु धेरै समस्यामा रहेको बताइन् ।

उनले भनिन्, ‘कोरिया आउने ८० प्रतिशत महिला कृषिमा आउँछन् । कृषिको काम नेपालको जस्तै हो तर यहाँ व्यवसायीक हो । लामो समयसम्म काममा खट्नुपर्ने हुँदा नेपालमा काम गर्ने बानी नभएकाहरुलाई समस्या परेको छ ।’

उनका अनुसार ढाड दुख्ने लामो समयसम्म काम गर्दा अन्य समस्या देखिने गरेकाले महिलाहरु काम छाडेर भाग्ने, आत्महत्या गर्ने प्रवृति बढेको छ । उनले समस्यामा परेका महिलाहरुलाई सहयोगका नाममा पुरुषहरुले यौन शोषण गर्ने प्रवृति समेत कोरियामा रहेको जानकारी दिइन् ।
यस्तो समस्या हुन नदिन नेपालबाट कोरिया उड्नुभन्दा अगाडी नै आफूले गर्ने काम र कोरियाको अबस्थाबारे बुझेर जानुपर्ने बताइन् ।

यसैगरी एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले नेपाली महिलाहरुलाई किशोेरावस्थादेखि नै आफ्नो शारिरीक परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा जानकारी नहुँदा यसले लामो अबस्थासम्म असर पारिरहेको बताइन् ।

सानै उमेरमा गरिने विवाह, अशिक्षा, कम उमेरमा गर्भधारण गर्दा पनि महिलाहरुमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुगिरहेको उनले बताइन् । नेपालजस्ता पुरुषप्रधान मुलुकमा महिलाहरुले केही काम गर्न सक्दैनन् भन्ने धारणाले गर्दा पनि महिलाहरुले आफूलाई कमजोर महशुस गर्ने हुँदा यसले पनि मानसिक असर पारिरहेको उनले बताइन् ।

विश्वमा प्रत्येक वर्ष १५ लाख स्तन क्यान्सरका विरामी थपिने गरेको डा. सुजिता श्रेष्ठले बताइन् । नेपालमा पाठेघरपछि दोस्रो सबैभन्दा बढी स्तन क्यानसर हुने गरेको उनको भनाई छ ।

‘स्तन क्यान्सरबाट जोगिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । स्तनमा गाँठाहरु देखिए । छालाको रंग तथा बनावटमा परिवर्तन आउने लगायत लक्षण देखिएमा तत्काल जाँच गराउनुपर्छ’ डा श्रेष्ठले भनिन् ।

डा एलिजा श्रेष्ठले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समेत जोखिम रहेको बताउँदै महिनावारी भइसकेपछि लामो समयसम्म पनि रगत बगिरहनु, यौनसम्पर्क गर्दा पटकपटक रगत बग्नु, गन्हाउने पानी बग्नु जस्ता लक्षणहरु पाठेघरको क्यान्सर हुँदा देखिने बताइन् ।

यस्ता लक्षणहरु देखिने बित्तिकै तत्काल अस्पताल जानुपर्ने तथा बेलाबेलामा पाठेघर परीक्षण गराउनुपर्ने उनको भनाई छ ।

‘पाठेघरको मुखको क्यान्सरको पहिलो, दोस्रो, तेस्रो र चौथो चरण हुन्छ । पहिलो चरणमा सर्जरी गरेर पाठेघर डिम्बासय र वरपरको ग्रन्थी निकाल्छौँ । ग्रन्थीहरुमा पनि क्यान्सर देखियो भने रेडियो थेरापी गर्छौँ । अर्को भनेको किमो थेरापी पनि हो ’ डा श्रेष्ठले भनिन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सर भएकाहरु समयमा अस्पताल नपुग्ने हुँदा उपचारमा समस्या हुने गरेको उनले उल्लेख गरिन् ।

जनचेतनाको अभाव, लाज तथा आफ्नो आर्थिक समस्याका कारण पनि महिलाहरु अस्पताल जान नसकेको उनले उल्लेख गरिन् ।

रेस्मा प्रसाँइले सञ्चालन गरेको उक्त कार्यक्रममा साउदीबाट यस्मिन बेगम सइदले कार्यक्रमको समग्र विषयको बारेमा आफ्नो धारणा राखेकी थिइन् ।

भर्चुअल कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका अन्य स्वास्थ्यकर्मीहरु, विज्ञ तथा विभिन्न पेशामा कार्यरत महिलाहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया