तामाकोशी–३ को क्षमता घटाउनेलाई काम अगाडि बढाउन नदिने

तत्काल सच्याउन आग्रह

दोलखा

दोलखामा बन्न लागेको तामाकोशी–३ जलविद्युत् आयोजना सम्झौता गर्ने निर्णय नसच्याए टीबीआई ग्रुपलाई दोलखा प्रवेश गर्न नदिने भएको छ । तामाकोशी- ३ को क्षमता ६५० मेगाबाट घटाएर २०० मेगावाटमा बनाउने सम्झौता गरेपछि राजनीतिक दलहरु, नागरिक समाज, जनप्रतिनिधि र स्थानीयहरुले निर्णय तत्काल नसच्याए प्रवेश गर्न नदिने चेतावनी दिएका हुन् ।

निर्णय नसच्याए कुनै पनि हालतमा आयोजनाको काम अगाडि बढाउन नदिने तामाकोसी–३ जलविद्युत् सरोकार समितिका अध्यक्ष शिवप्रसाद भण्डारीले अाइतबार चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

टीबीआई होल्डिङ्स र दुई चिनियाँ कम्पनी साङ्घाई इन्भेष्टिगेसन डिजाइन रिसर्च इन्ष्टिच्युट तथा युनायन इनर्जी इन्भेस्टमेन्ट ग्रुपबीच आयोजना बनाउनका लागि एमओयू भएको हो ।

नर्वेको एसएन पावरले पहिला आयोजनालाई ८८० मेगावाटमा डिजाइन गरेको थियो । कमजोर भू-बनोटको कारण देखाएर पछि ६५० मेगावाटमा डिजाइन गरिएको हो ।

नेकपाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले ६५० भन्दा माथिको क्षमतामा आयोजना बनाउन आउनेलाई पूर्णरुपमा स्वागत गर्ने र सहयोग गर्ने बताउँदै क्षमता घटाउनेलाई दोलखामा टेक्न नदिने बताए ।

यसअघि शनिबार नेपाली काङ्ग्रेस दोलखाले प्रेश विज्ञप्ति जारी गर्दै २०० मेगावाटमा आयोजना निर्माण गर्न खोजिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।

तस्विर : तारादेवी

तपाईको प्रतिक्रिया