मौलिकताको खोजी : सकसपूर्ण यात्रा र तितो अनुभव

दार्खा, धादिङ
फलाम तगाराेमा रहेकाे शिलालेख । तस्बिर : लेखक

हालैको कुरा हो, इतिहास पर्गेल्ने क्रममा नब्बे साल (१९९०) को भूकम्प आसपास जन्मेकाहरुसँग उहिलेका कुरा गरिरहेको थिएँ । एक जना युवा हाम्रा संवादमा मिसिन आइपुगे र भने- ‘तपाईंलाई त पैसा आउँछ होला, यी बाजेको भागमा चाहीँ कति पर्छ ?’ प्रश्न सामान्य ख्यालखेलाचीमा सोधिएको थियो । जबकि मलाई कहीँबाट पैसा आउँदैन भन्ने कुरा उनलाई पनि थाहा थियो । यसले मलाई यो लेख लेख्न प्रेरित गर्यो । यदि पैसा नपाउँदा हामी आफ्ना इतिहास, संस्कृति र परम्पराबारे नबोल्ने र नलेख्ने हो भने हामीबारे अरुले जे बोल्यो, जे लेखिदियो त्यही स्थापित हुँदै जानेछ । यसो नहोस् र वास्तविकता बाहिर आओस् भनेर म गाउँघर घुम्ने गर्छु, ६० नाघेकाहरुका कुरा सुन्छु, ४० मुनिकालाई सुनाउँछु र बिचकासँग अन्तक्र्रिया गर्छु । त्यसबाट प्राप्त कुराहरुलाई पत्रपत्रिका, पुस्तक, पुस्तिकाहरु मार्फत् प्रकाशनमा ल्याउन प्रयास र्गछु । अनुसन्धान, खोज जे भनौं मेरो यही चल्दै आइरहेको छ विगत केही वर्ष यता ।

यात्राको क्रममा ग्युल म्हाने, छेची म्हाने (माने) लगायत कयौं मानेहरु भत्केको, भत्काइएको भेटिए । न्यातास्हिप्ता (सिमेभूमे) अतिक्रमणमा परेको, ल्हइ थान (देवता थान), लुइ थान (नाग थान) नष्ट गरिएको, सयौं वर्ष पुराना ऐतिहासिक स्थलहरु नामेट पारिएको पाएँ । कैयौं गुम्बा र कुङ्कर (झाँक्रीहरुको आराध्यस्थल) भत्केको देखेँ । सांस्कृतिक सम्पदाहरु जानेर, बुझेर वा बहकाइमा लागेर सकेसम्म सिध्याइएको थाहा पाएँ, देखेँ । गाउँघरबाट भौतिकसँगसँगै अभौतिक सम्पदाहरु पनि पुराना पुस्ताहरुसँगै नासिदै जाने क्रम बढ्दो छ । सम्पदाहरुको महत्व बुझेनन्, बुझ्नै चाहेनन् भनौं वास्तै गरिएन । जाति बाँकी छन् त्यो पनि उही दिशातर्फ उन्मूख छन् । सम्पदाहरु इतिहासका धरोहरहरु हुन्, आधार र प्रमाणहरु हुन् । मानव उद्भव तथा सभ्यताका निसानहरु हुन्, खोज अनुसन्धानका आधार र प्रमाणहरु हुन् । तत्थ्य र प्रमाण बिनाको इतिकास लेखन अपुरो र अधुरो हुने हुँदा त्यस प्रकारको भौतिक सम्पदाको आवश्यकता महसुस गरेँ तर अब कहाँ पाउनु, नासिएर गईसके, सब सिध्याइसके । अब बनाएर त्यो पुरानो हुँदैन ।

सिध्याउनेहरु छाती फुलाएर हिँडिरहेका छन्, जान्ने, बुझ्ने पल्टिएकै छन् । किन भत्काइयो ? भत्काउन किन प्रेरित गर्यो ? किन दिइयो ? अरुले भत्काउँदा भत्काउन दिनु हुन्न भन्ने किन लागेन ? यो पाटोको पनि खोजी हुनु जरुरी छ । नष्ट गरिएका सम्पदास्थलहरु बिस्तारै नयाँ सार्वजनिक संरचना (स्वास्थ्य चौकी, विद्यालय, सडक, विद्युत गृह आदि) निर्माणमा लगाइँदै छन् । उही घटना निरन्तर दोहोरिरहँदा त्यो आदतको रुपमा विकास हुने र त्यसको असर र नकरात्मक पक्षको पनि ख्याल नहुने, नगरिने हुन्छ । यस्ता घटनाहरु विकासको नाममा आदिवासी बस्तीहरु एवं तामाङ गाउँबस्तीहरुमा व्यापक रुपमा अघि बढेको छ । यी घटनाहरु समुदायकै लागि सामन्यकृत हुँदैछ, सम्पदास्थलहरुको बिनास उनीहरुकै लागि सामान्य घटना हुँदै गएको छ ।

हाम्रा बाजे करीब ३० वर्ष गाउँका बैदार (लेखनदास) हुनु भयो । पञ्चायतकालभरि उहाँ शक्तिमा रहनु भयो । गाउँमा विद्यालय खोल्नेदेखि लिएर हरेकका नाममा जग्गा दर्ता गर्ने काम गर्नु भयो । म ठान्दथेँ बाजेकोमा केही न केही लिखतहरु अवश्य छन्, थियो । तर दुःखको कुरा घर सफाई गर्ने क्रममा २०६० ताका नै तीन धोक्रा जति कागजात नष्ट गरिएछ, जलाइएछ । त्यसको प्रत्यक्ष घाटा त केही भएन तर खोजको एउटा श्रृंखला अपुरो भयो । ख्यालखेलाची नै होस् पैसाको अपेक्षा गेर्न ती युवाका लागि केही नहोलान्, ऐतिहासिक स्थलमा आक्रमण गर्नेहरुका लागि पनि कुचोले बढार्नु पर्ने हावाले उडाइदियो ठिकै भयो होला तर म जस्ता इतिहासको खोजी गर्नेका लागि ती कोरा कागज मात्र थिएनन्, इतिहासका ठेली थिए ।

एक पटक तामाङ मातृभाषा पढाउँदै गरेका र नयाँ थालनी गर्न लागेका १५ ओटा विद्यालयका २५ शिक्षकशिक्षिकाहरूका लागि मातृभाषा शिक्षण तालिम सञ्चालन गरिएको थियो । तालिम सञ्लालनको क्रममा तामाङ भाषा पढेर के काम ? लगायतका संवेदनशील प्रश्नहरु मात्र सोधिएन अझ त्यसमाथि पश्चगामी प्रवृत्ति र कार्य भन्ने आरोप पनि लाग्यो । प्रश्नले मनमा बोझिलो, खल्लो र असहज महसुस गरायो । एउटा स्थानीय भाषा, संस्कार, संस्कृति र लोकसाहित्यको खोजी गरी आफ्नो मौलिकतालाई जीवन्त राख्न चाहने एक अभियन्तालाई यो भन्दा ठूलो ठेस अरु के सक्छ र ?

तामाङ नेपालका पुराना आदिवासी मध्ये एक हुन् । अझ आदिवासीको वकालत गर्ने ती युवा प्रश्नकर्ताले हेक्का राखे कि राखेनन् कुन्नि आदिवासी जनजाति हुनलाई भाषा कति आवश्यक छ ? आफ्नो छुट्टै मातृभाषा, परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदायलाई मात्र आदिवासी जनजाति हुन् भनेर आदिवासी जनजातिको परिभाषाले प्रष्ट पारेको छ । सकारात्मक विभेद आवश्यक छ भन्ने अनि तामाङ भाषा पढाउनु हुन्न भन्ने कुरा विरोधाभाष भएन र ? सचेत र वर्तमानका कर्मठ व्यक्तिले तामाङ मातृभाषाको पठनपाठनको विरोध गरे भाषाको अवस्था कस्तो होला । जबसम्म मौखिक भाषालाई लेख्य रुप दिइँदैन तबसम्म भाषाको समृद्धि र विकास सम्भव छैन । मातृभाषाप्रतिको उपेक्षा यो एक नमूना मात्र हो । मौलिकताको खोजी अभियानमा लाग्दा यस प्रकारका कैयन सङ्गिन प्रश्नहरूको सामना गर्नु परेको छ । संवैधानिक व्यवस्था भएपनि स्थानीय तहहरुमा ऐन, नियमहरु अझै नबन्दा मातृभाषामा शिक्षा अझै सुरु हुन सकेको छैन ।

तामाङ समाज आफ्नै मौलिक विचार, उत्प्रेरणा र अनुभवको आधारमा चल्दछ । कुरा भाषा, लिखत र व्यवहारबाट उठान भए पनि समस्या त्यसको मात्रै होइन । भेषभूषा, रहनसहन, रीतिरिवाज, संस्कार र संस्कृति सबैमा परसंस्कृतिकरण हाबि हुने क्रम बढ्दो छ । धेरै राजनीतिकर्मीलाई तामाङ भाषा बोल्नै आउँदैन । सडक, सदन र सरकारमा तामाङको वकालत गर्छन् । ताम्सालिङ क्षेत्रका जनताको अधिकार स्थापित गर्छु भनेर अन्य खस नेपाली भाषामा प्रतिवद्धता जनाउँछन् । तर, ती नेतालाई थाहा छ कि छैन जनताको अधिकार पहिचानसँग जोडिएको हुन्छ । जातीय पहिचान भाषा, भेषभूषा, संस्कार र संस्कृतिमा अडिएको हुन्छ । आफ्ना छोराछोरीलाई तामाङ गन्ध पनि नआउने विद्यालयमा पढाएर परसंस्कृति ग्रहण गर्न लगाउने अनि जनतालाई यसो गर उसो गर भनेर अर्ती उपदेश दिने गर्छन् । यी नेताजीहरुका भाषण मात्र चुनावी नारा हुन् र अझ कार्यकर्तालाई गुलाम बनाउने मानसिकताबाट प्रेरित छ । अबका युवा पटमूर्ख हुनु हुँदैन । भाषणबाट अघाएका छांै व्यवहारको अपेक्षा आजको आवश्यकता हो । त्यसका लागि संविधानले व्यवस्था गरेको मातृभाषामा शिक्षा पाउने व्यवस्थाको कार्यान्वयन जरुरी छ । त्यसपछि पाठ्यक्रममा ऐतिहासिक, भौतिक वा अभौतिक सम्पदाहरु समेट्ने प्रयास हुन्छ । पाठ्यपुस्तक तयार गर्न सोध खोज गरिन्छ । सिकाउन अनेक तरिका अपनाइन्छन् अनि बल्ल भत्काइएका, बिगारिएका, फालिएका सबै चिज काम लाग्ने देखिन्छन् । यसले तामाङ विश्वदृष्टिकोणलाई पनि प्रष्ट पार्दै लानेछन् ।

यत्तिबेला कोरोनाका कारण केही समय रोकिएको मात्र हो नत्र तामाङ युवाहरू विदेश जाने क्रम व्यापक छ । विदेशिनेहरुमा अध्ययन कम कामका लागि जानेको जमात ठूलो छ । यी युवाहरुलाई हाम्रो आफ्नै मौलिक ज्ञान, सीप र दक्षता प्रयोग गरेर परम्परागत व्यवसायलाई व्यवस्थित र वैज्ञानिक तवरले अगाडि बढाउन सके प्रसस्त आर्थिक उपार्जन हुने सम्भावन देखिन्छ । तामाङहरूमा जडिबुटी ज्ञान, पशुपालन सम्बन्धी र हस्तकलाका सामग्री निर्माणमा बढी पारङ्गत छन् । उनीहरुको ज्ञान, सीप र क्षमताको पहिचान गरी प्रोत्साहनसहित त्यस क्षेत्रमा ल्याउने कार्यक्रम आभावका कारण करोडौं मूल्यका जटिबुटी कवाडीको भाउमा धमाधम विदेशमा निकासी भैराखेको छ । जबकि विश्वमा आधुनिक औषधी विज्ञानले समेत बोम्पो (झाँक्री)का परम्परागत ज्ञान पद्धतिलाई स्वीकार गरेको स्थिति छ । यस सम्बन्धी अध्ययन अनुसन्धान गर्न ठूलै यूवा जमातको आवश्यकता देखिए तापनि सरकारको यसतर्फ आकर्षण गर्ने कार्यक्रम देखिएको छैन, विदेशिने यूवा लर्कोको दृष्य हेर्न हामी बाध्य छौं । उपनिवेशवादी शिक्षाको यो करामत रोक्न अब सचेत हुन जरुरी छ ।

परिवर्तन सकारात्मकतातर्फ उन्मुख हुनु पर्दछ । परिवर्तन समय मुताविक हुनु पर्दछ । विकास र परिवर्तनको नाममा पहिचान गुमाउने कुरा हुनु हुँदैन । हरेक क्षेत्रमा विकास र परिवर्तनसँगै तामाङहरु पिल्सिरहेका छन् । तैपनि यही भित्रबाट केही दमित आवाजहरु उठिरहेका छन्, यो सकरात्म पक्ष हो । भेषभूषा, रहनसहन, सामाजिक संस्कार, संस्कृति, भाषा र चालचलन बचाउ गर्न थोरै मात्रमा भएपनि लागि परेका छन् । तर यस प्रकारका आवाजहरूलाई बुलन्द पार्नु पर्दछ भनि साथ दिनेहरुको कमि छ, प्रोत्साहन छैन । परम्परा र संस्कृतिको नाममा रहेको अन्धविश्वास, ढोंग, आडम्बर र विकृतिहरूको भने पहिचान गरि हटाउनु नै पर्दछ । त्यसतर्फ हाम्रो ध्यान जान सकिरहेको छैन । बरु विभिन्न वाद र सिद्धान्तको नाम विभाजित भएर उनीहरुकै सीमित स्वार्थ पुरा गर्ने सामन्तीहरूको कुटिल चालमा फसिरहेको छ । यो बुझ्नका लागि उचित र सही शिक्षा ग्रहण गर्नु पर्दछ । मेलापात, ऐँचो पैँचो, गुहार आदि मौलिक अभ्यासहरु थिए हाम्रा । त्यसको सिको गर्नु पर्दछ । सक्षम जनशक्तिलाई दलाल वा बिचौलीया बनाउने हैन उत्पादक बनाउनु पर्दछ ।

हामीसँग विविधताभित्र पनि विविधता छन् । विशेष खालका विशेषताहरू पनि छन् । ती विविधता र विशेषताहरू किन खोजिदैनन् ? विविधतामा विभेद मात्र किन देख्छौं ? भाषा, लिपि, भेषभूषा, संस्कार, संस्कृतिको विवादमा तामाङ वौद्धिक जमातलाई ग्रान्ड डिजाइनका साथ लडाइरहेकै छन् । घोडचढी नाचलाई नेपालको ऐतिहासिक युद्धकला नाच भनि दर्ता गराउन लाग्दा तामाङभित्रै विवाद किन ? म्हाने व्हाइमा नाचिने दोरानाचलाई एकता नाच भन्दा अरुलाई किन टाउको दुखाई ? म्हेन्दोमाया गीत हो की नाच ? यावत प्रश्नहरू साधारणतयाः तामाङ समाजलाई नजिकैबाट नियालिरहेका गैरतामाङहरूलाई लागिरहेको हुन सक्छ । सत्यको अन्वेषण हुनु, परीक्षणहरू गरिनु पर्दछ तर हरेक कुरामा तर्क मात्र गरेर हुने वाला छैन । परिणाम देखिने, मापन गर्न सकिने हुनु पर्दछ । यी बाहिर छताछुल्ल भएका प्रश्नहरूको उत्तर दिन तामाङका नेता बुद्धिजीवि तथा विशेषज्ञहरूबाट विशेष भूमिका हुनु पर्दछ । अर्थ, प्रभाव र विश्लेषणमा मात्र नअल्झिई विविधताभित्रको विविधता र त्यस भित्रका पनि विशेष खालका विशेषताहरुमा ध्यान केन्द्रीत हुनु जरुरी छ । जसरी कोदोको झार गोड्दा मुखे गौराई खेलेर नैतिकता र अनुशासनको अभ्यास गराइन्थ्यो । मेला अवधिभर कुरा नकाट्न र मनोमालिन्य नहोस् भन्नका लागि स्थानीय म्हाने गीत गाइन्थ्यो, सेरलेम गरिन्थ्यो । मकै खन्दा लिङमा गाइन्थ्यो । त्यसले मनोमालिन्य त रोक्थ्यो नै लोकगीतहरु पुस्तान्तरण हुन्थ्यो । त्यसलाई विद्यालयमा वा कक्षाकोठामा प्रयोग गरी किन लाभान्वित हुन चाहदैनौं ? लामा, बेम्पो, लाप्तापा, सङतुङ आदिमा मनोमालिन्य भए कसले मिलाउथ्यो ? त्यसको अभ्यास हेरेर अहिलेका समूह समूहमा हुने वादविवाद, झगडा र मारकाटलाई व्यवस्थापन गर्न सकिन्न र ?

अहिलेसम्मको शिक्षा प्रणालीले हामीलाई एउटा निश्चित जाति, समुदायको मानिस मात्र राम्रो भन्ने मात्र थोपरिदियो । आफ्नै बाटुलो अनुहार अनि थेप्चो नाक हिरो जस्तो देखिन तन्काउने बुद्धि दियो । यानेकी हिरो भनेको बाहुन क्षेत्री वा विदेशी हुनु पर्छ भन्ने सिकाइदियो । विदेशको लाहुरे भए महान र यतैको बने तुच्छ ठान्ने दिमाग बनाइदियो । चोर भए पनि गोरा शरीर, निलो आँखा र कैलो कपाल भएकालाई नमस्ते गर्न पाउँदा गर्वले छाती फुल्ने भइदियो । गाउँको स्नातकोत्तर भन्दा बाहिरको स्नातक सक्षम भन्ने दिमाग दियो । त्यसैले बैंककै होमलोनमा भएपनि चार आनामा घर ठड्याउनेको मान बढ्न गयो । मरुभूमिको गर्मीमा भेँडा चराएर भए पनि कमाएको रुपैयाँमा इज्जत भेटाइयो । यसले मौलिकताको संरक्षणमा कठिनाइ उत्पन्न गराउँदो रहेछ ।


राजनीतिक दलहरुले तामाङहरूलाई उपयोग मात्र गरिरहेका छन् । उनीहरुको प्रयोगले पार्टीको दायरा पनि फराकिलो पारेका छन् तर उनीहरुलाई तामाङ जातिको पहिचान मात्र खोरिया फाड्ने देखिरहेका छन् । गाई खाने भाषा बोल्ने पिपा गोश्वारा भन्दा माथि उठेर हेर्ने नेता भेटाउन गाह्रो छ । चुनावमा प्रयोग हुने भाडाका सस्ता मान्छेहरु ठानेका छन् । मासु र रक्सीमा बिग्ने लाटाहरु देखिरहेका छन् । हाम्रो शक्ति छिन्न भिन्न पारिएको छ । गाउँको नाममा, पञ्चायतको नाममा, वडाको नाममा हामीलाई विभाजित तुल्याएको छ । शिक्षाको नाममा, धर्मकर्यको नाममा, दलको नाममा हामी विभाजित बन्यौं, बनियौं । त्यसैले जातको मान्छे जिते वा जिताए पनि उनमा जातीय चेत हुँदैन । तामाङ बाहुल्य क्षेत्रको सांस्कृतिक अध्ययनको लागि अमुक जातको अमुक व्यक्तिलाई जिम्मा दिइन्छ । अनि टेढो बाङ्गो प्रतिवेदन बुझाइन्छ । अनि ‘बमखुङ गङ’ बाहुन डाडा हुन जान्छ, ‘म्यगङ’ मेघाङ हुन जान्छ, ‘सिङल्ह’ सिंगला हुन जान्छ, ‘बर्मचेत’ ब्रम्हचेत हुन जान्छ । उसले कुङकर, म्हाने, छ्योर्तेन र दुर्सामा केही फरक देख्दैन । सरकारी दस्ताबेज हुँनाले कालन्तरमा त्यसले विरोधाभास उत्पन्न गराउँदछ । जसरी नेपालको इतिहास पढ्दा गोर्खाको पढेर काठमाडौंमा पुर्याइन्छ । यता सेंखण्ड (भोट खण्ड) बारे सही चर्चा नै नगरी भोट भनेकोे तिब्बत भनिदिएको छ । त्यसले हामीलाई विरोधाभास गराउँदछ । इतिहासशिरोमणि नाम दिएका आचार्य बाजेलाई ज्योमोलोङमाको नाम बदल्न लगायो । घले राजाको बयानलाई शंका गर्दै उनले लेखेका छन्, घले बस्ती न अहिले छन् न पहिले थियो । इतिहासमा क्षेत्र शाहको पालामा बार्पाकका घले राजालाई हराइ सिङजुङ दखल गर्ने कुरा लेखेको पाइन्छ । यी कुराहरुले इतिहास निश्चित स्वार्थ समूहले लेखाइन्छ भन्ने प्रष्ट हुन्छ । त्यस कारण वाद र सिद्धान्तलाई आदिवासी स्वार्थ मुताविक प्रयोग गर्न र गराउन पहल कदमी लिन सक्नु पर्दछ । यसको लागि भित्रि मनमा आदिवासी मौलिक अभ्यास ठिक थियो र छ भन्ने भावना हुनु पर्दछ । यो धेरै थोरै तामाङले मात्र बुझेका छन् ।

हामीले विगतबाट पाठ सिक्नु पर्दछ । अन्याय, अत्याचार, दमन, शोषण, दलन र उत्पीडन गरी असमानताको खाडलमा धकेलिदिएको छ हामीलाई । इतिहासमा गोलमाल लेखिदिएको छ, यसलाई निफन्नु पर्दछ । तामाङको पूख्र्यौली सम्बन्ध बोम्पोसँग छ, व्हाइ पोम्पोसँग छ । लामाशास्त्रा पनि हाम्रा संस्कारगत कुराहरु छन् । हामी माझ द्विविधाको ज्वार फिजिएको छ, फिजाइएको छ । यसबाट पनि बाहिर निस्कन सक्नु पर्दछ । वाह्य आँखाले होइन, हाम्रो आफ्नै आँखाले हाम्रो मौलिकता मापन, शुद्धताको मापन विधिहरु उपयोग गर्नु पर्दछ । जस्का लागि सुस्पष्ट, योजनाबद्ध वैज्ञानिक अध्ययनहरु हुन आवश्यक छ । मौलिकताको खोजीबाट आएको निष्कर्षलाई प्रचार प्रसार गर्नु पर्दछ, कार्यन्वयन गर्नुपर्दछ । त्यसलाई स्थानीय ग्रामीण तहका सर्वसाधारणसम्म विकेन्द्रित गर्न सक्यौ भने उठान भएका प्रश्नहरुको उत्तर पाउँदै जानेछ । यसका लागि आइएलओ १६९ को अनुच्छेद २८ को व्यवस्था कार्यान्वयनमा ल्याउनु पर्दछ नभए लेखोट मात्र हुनेछ । यसको कार्यन्वयन गराउन विभित दवाव समूहहरु निर्माण गर्दै अगाडि बढ्नु पर्दछ ।

(फ्युबा लोकसाहित्यका क्षेत्रमा विगत एक दशकदेखि निरन्तर अध्ययन अनुसन्धानरत छन् ।)

तपाईको प्रतिक्रिया