साउदीमा तीन लाख १४ हजार कोरोना संक्रमित निको

बुधबार १ हजार १०२ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा पछिल्लो दिन कोरोना भाइरस (कोभिड-१९) उपचारपछि दैनिक निको हुनेको संख्या दुई गुणाभन्दा धेरै बढ्नेक्रम जारी छ । यसै क्रममा बुधबार कोरोना भाइरस संक्रमित १ हजार १०२ जना निको भएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमित उपचारपछि तीन लाख १३ हजार ७८६ जना उपचारपछि निको भैसकेका छन् ।

त्यसैगरी बुधबार कोरोना भाइरस नयाँ संक्रमित ५६१ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कुल कोरोना संक्रमित तीन लाख ३१ हजार ३५९ जना पुगेका छन् । ‘ कुल संक्रमितमध्ये १३ हजार ४ जना बिरामीहरु यहाँका कोभिड अस्पतालहरुमा उपचार भइरहेको ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ उपचाररतमध्ये १ हजार ९५ जनाको अवस्था गम्भीर रहेकाले उहाँहरुको उपचारका लागि चिकित्सकहरुको बिशेष टोली परिरहनु भएको छ ।’


यहाँ बुधबार कोरोना भाइरसको उपचार गरिरहेका २७ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए ।उनका अनुसार साउदी अरेबियामा हालसम्म कोरोना भाइरसबाट ४ हजार ५६९ जनाको मृत्यु भैसकेका छन् । उनका अनुसार यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये ६० भन्दा बढी नेपालीको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको ‘, उनले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया