कुमाल समाज साउदीको पहलमा दुई नेपाली स्वदेश फर्काइयो

रविन थुलुङ राई संवाददाता
साउदी अरेबिया

विगत दुई वर्षदेखि साउदीको जुवेलस्थित एक कम्पनीमा अवैधानिक रुपमा कार्यरत प्युठानका ओमबहादुर अधिकारी र गोरखाका राधाकृष्ण सेढाईलाई कुमाल समाजका अध्यक्ष ओमबहादुर कुमालको पहलमा स्वदेश फर्काइएको छ ।

उनीहरूलाई यहाँ क्रियाशील संघसंस्था तथा समाजसेवीहरुको सहयोगमा नेपाल एयरलाइन्स र हिमालयको चार्टरउडानबाट नेपाल फर्काइएको एयरलाइन्सका प्रतिनिधि तथा कुमाल समजाका अध्यक्ष कुमालले जानकारी दिए ।

सेढाईलाई हवाई टिकटका लागि अन्तर संस्था समन्वय समितीका उपाध्यक्ष तथा युवा कुमाल समाज साउदीका अध्यक्ष ओम कुमाल र एभेरेष्ट होटेल जुबेलका संचालन ईश्वर काप्रीले १७ सय ५० रियाल चार्टरउडानको टिकट बराबरको रकम हस्तान्तरण गरेको थियो । त्यस्तै होटेल क्वारेन्टाइनका लागि अन्तर संस्था समन्वय समिति साउदीद्वारा ३ सय रियाल र नेपाल मगर संघ प्रवास शाखा साउदीले २०० रियाल सहयोग प्रदान गरेको अध्यक्ष कुमालले जानकारी । अध्यक्ष कुमालका अनुसार सेढाई गत ८ सेप्टेम्बरमा नेपाल एयरलाईन्सको चार्टरउडानबाट स्वदेश फर्किसकेका छन् ।

त्यसैगरी प्युठानका अधिकारीलाई पनि समाजसेवी कुमालले आर्थिक संकलन गरि नेपाल फर्काइएको थियो । अधिकारीलाई किराँत राई यायोक्खा शाखा साउदीले ६ सय रियल, युवा कुमाल समाज साउदीले १६० रियाल सहयोग गरेको थियो । त्यसैगरी कृष्ण पुरी १५०, सुर्य श्रेष्ठ १५०, ईश्वर काप्री १५०, अन्जान गुभाजु – १०० काजी गुरुङ १००, नाम नखुलाउने १००, श्याम श्रेष्ठ १००, खेम तमु ६५, रबिन्द्र साह ५०, सुकु गुरुङ ५० गरी १७ सय ७५ रियाल संकलन गरि हस्तान्तरण गरेको अध्यक्ष कुमालले जानकारी दिए ।


अधिकारी गत २२ सेप्टेम्बरमा हिमालयन एयरलाइन्सको चार्टरउडान मार्फत नेपाल फर्किसकेको अध्यक्ष ओम कुमालले बताए । उनका अनुसार सेढाई र अधिकारीलाई नेपाली दूतावासको सिफारिसमा साउदी सरकारले बहिर्गमन (exit visa) भिसा दिइएका थिए ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदी आएको केही महिनामा कम्पनी छोडेका सेढाई र अधिकारी विश्व व्यापी महामारी कोरोनाको कहर सुरु भएपछि रोजगार बिहिन भएका थिए । कोरोनाका कारण साउदीका साना तथा मझौला कम्पनीहरु बन्द भएको र ठुला कम्पनीहरुले कामदार कटौती गरिरहेका बेला अवैधानिक रुपमा बसेका कामदारहरुले काम पाउने वातावरण नभएपछि सेढाई र अधिकारीलाई नेपाल फर्काइएका हुन् ।

सेढाई र अधिकारी प्रतिनिधि पात्र मात्र हुन् । साउदीमा हजारौं नेपालीहरुले कोरोनाका कारण रोजगारी गुमाएका छन् । यहाँको सरकारले कोरोनाका कारण झन्डै १२ लाख आप्रवासी मजदुरहरु प्रभावित भएको बताइएको छ । साउदी सरकारले बेरोजगारीहरुलाई उनीहरूले पाउनुपर्ने अन्तर्राष्ट्रिय कानुन अनुसारको क्षतिपूर्ति दिएर ससम्मान बिदाई गर्न समेत कम्पनीहरुलाई आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया