औपन्यासिक तत्वको कसीमा तामाङ उपन्यास ‘प्राङ्बोला छेटाङ’

काठमाडाैं

१. उपन्यासको परिचय

तामाङ स्रष्टा योकबहादुर घिसिङ कवि तथा उपन्यासकार हुन् । कवि उनको प्रथम व्यक्तित्व हो भने उपन्यासकार चाहीँँ द्वितीय व्यक्तित्व । साहित्य, पत्रकारिता र राजनीति उनका व्यक्तित्वका आयामहरु हुन् । यद्यपि उनको व्यक्तित्वको गुणवक्ता चाहीँँ साहित्यिक व्यक्तित्वमा नै झल्किन्छ । उनले कविता सङ्ग्रहदेखि महाकाव्य र उपन्याससम्मका साहित्यिक सिर्जन पुष्पहरु लिएर तामाङ साहित्यको इतिहासमा सुनाम अङ्कित गर्न सफल भएका छन् । उनको साहित्यिक यात्रा वा साधना अविराम उत्साहकासाथ अघि बढिरहेछ तामाङ साहित्यको बाटिका सजाउन । उनी तामाङ साहित्यका निम्ति प्रसस्त संभावना बोकेका आशाका पुञ्ज हुन् । प्रकाशित अप्रकाशित गरी आधा दर्जन कृतिहरु उनले सिर्जना गरिसकेका छन् ।

युवा तामाङ स्रष्टा घिसिङको जन्म वि.सं. २०३६ सालमा काभ्रे जिल्लाको मिल्चे गा.वि.स.को खजुलीबेशीमा भएको हो । पिता गगनसिंह र माता सनमाया थिङको प्रिय पुत्र हुन् उनी । विद्यार्थी जीवनदेखि नै साहित्य र राजनीतिमा होम्मिन पुगेका उनले एस.एल.सी.जेलबाटै गरे । अप्ठेरा क्षणहरुमा पनि विचलित भएनन् उनी, विचारमा अडिग रहे र सिर्जनामा उत्तिकै तल्लीन पनि । त्यसकै परिणाम भन्नुपर्छ सानो उमेर र छोटो अवधिमै यतिको सङ्ख्यामा कृतिको सिर्जना र प्रकाशन गर्न सक्नु । उनका प्रमुख प्रकाशित कृतिहरुमध्ये कविता सङ्ग्रहमा ‘आँसुले भिजेको परेली’ (२०५३), ‘घेराभित्रबाट’ (२०५३), ‘राल्फाली मैच्याङ’ (२०६०), तामाङ भाषाको उपन्यास ‘प्राङ्बोला छेटाङ’ (२०५९) र महाकाव्यमा रहेका छन् । ‘प्रिय याङशीला’, ‘विधुवाको सिन्दुर’ उनका अप्रकाशित कृतिहरु हुन् । यी कृतिहरुमा स्रष्टा घिसिङले तामाङ भाषा र साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बनाएका छन् । उपन्यासतर्फ उनको यो उपन्यास दीपेन्द्र लामाको ‘नाम्सारी’ उपन्यासपछि दोस्रो हो ।

२. योगदान र प्रवृत्ति

‘प्राङ्बोला छेटाङ’ उपन्यास तामाङ साहित्यको दोस्रो उपन्यास हो भने यसका उपन्यासकार योकबहादुर घिसिङ दोस्रो उपन्यासकार हुन् । यसरी उनले तामाङ भाषा र साहित्यमा उपन्यास विधामा कृति सिर्जेर ठूलो गुण लगाएका छन् । साथै उनका अन्य कृतिहरु नेपाली भाषा र साहित्यकै विकासका लागि महत्वपूर्ण छन् । कविता र उपन्यास दुबै विधामा कलम चलाएका घिसिङको सुरुका कृतिहरुमा उमेरजन्य प्रणयप्रीतिका भाव, सामाजिक परिवर्तनको आशा र चाहना, जीवनभोगाइको यथार्थ आदि विषयवस्तु समेटिएका छन् । तर पछिल्ला कृतिहरुमा उनको वैचारिक अडान स्पष्ट रुपमा प्रतिबिम्बित भएको देखिन्छ । सुरुका लेखन सिकारु र परिपक्वतातिर लम्किएको देखिए पनि पछिल्ला कृतिहरु परिष्कृत हुँदै गएको पाइन्छ ।

प्रगतिशीलता उनको मूल प्रवृत्ति हो । वामपन्थी राजनीतिमा आबद्ध रहनाले होला उनका कृतिहरुमा समाजवादी यथार्थ वा माक्र्सवादी वर्गीय चिन्तनको प्रभाव र चाप पाइन्छ । ‘राल्फाली मैच्याङ’ र ‘प्राङ्बोला छेटाङ’मा एकातिर शोषक सामन्तको अन्याय र अत्याचारको पराकाष्ठाको प्रस्तुति छ भने अर्कातिर शोषित, पीडित जनताको पीडा र मुक्तिको विरोध तथा विद्रोह उछालिएको छ । उनले साहित्यलाई समाज परिवर्तनको हतियार बनाउन खोजेका छन् । माक्र्सवादी दर्शनको मूल सार पनि समाज परिवर्तन नै हो । यसले साहित्यलाई सामाजिक सांस्कृतिक परिवर्तनको साधन मान्दछ । यो कला कलाका लागि भन्ने विचारका विपक्ष कित्तामा उभी समाजको लागि साहित्य भन्ने पक्षमा अडिग रहन्छ । स्रष्टा घिसिङले यही माक्र्सवादी सौन्दर्यशास्त्रको लगाम बेसरी पक्रेका छन् । त्यसैले उनको सिर्जनामा क्रान्तिचेत, प्रगतिशीलता, सामाजिक परिवर्तनको उत्कट इच्छा, वर्गीय मुक्ति, सामाजिक यथार्थ, व्यङ्ग्यात्मक, भाषिक सरलता तथा भावगाम्भीर्य पाइन्छ ।

३. उपन्यासको परिचय

उपन्यास साहित्यको आधुनिक र कान्छो विधा हो भने यो आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान यसको मूल अस्थिपन्जर वा चुरो हो । जीवनजगतको कुनै सानो घटना विशेषको आख्यानात्क चित्रण कथा हो । अनि जीवन र जगतको साङ्गापाङ्गो प्रस्तुति चाहीँँ उपन्यास हो । कथालाई तन्क्याएर न उपन्यास बन्छ न उपन्यास छोट्याएर नै काथा । तसर्थ कथा र उपन्यास दुबै आख्यान विधामा परे पनि यसको अन्तरको कारक कथानकीय आयामको संकुुचन र विस्तार हो । कथामा जीवनको एक घटनाको संक्षिप्त तर पूर्ण अभिव्यक्ति हुन्छ भने उपन्यासमा सिङ्गो जीवनको पूर्ण तथा विस्तृत घटनाक्रमको लम्बेतान प्रस्तुति हुन्छ, जहाँ जीवनजगतको समग्र पाटापक्षको आख्यानात्मक अभिव्यञ्जना गरिन्छ । अतः उपन्यास सिङ्गो बगैँचा हो भने कथा बगैँचामा फुलेको गुलाबको फूल हो ।

न्यू इन्टरनेसनल डिक्नेरीका अनुसार उपन्यास यस्तो विशाल कल्पित गद्य आख्यान हो, जसमा एउटै आख्यानअन्तर्गत यथार्थ जनजीवनको निरुपणको प्रयास गर्ने चरित्र तथा तिनीहरुको क्रियाकलापको चित्रण हुन्छ । त्यस्तै पाश्चात्य विद्वान राल्फ फक्स उपन्यास पहिलो त्यो साहित्यिक कला हो, जसले मानव जीवनका सम्पूर्ण अङ्गको अभिव्यक्ति गर्दछ । अनि समालोचक कृष्णचन्द्रसिं प्रधानका अनुसार उपन्यास जीवनजगतप्रतिको विहङ्गम दृष्टि हो, जसलाई बुझ्ने, केलाउने र चित्रण गर्ने प्रयत्न अत्यन्त यथार्थिक हुन्छ । यथातथ्यको उद्घाटन मात्र नभएर यो एक सम्पूर्ण मनुष्य जीवित मनुष्य संसार हो । साथै समालोचक राजेन्द्र सुवेदीले पूर्वापर तारतम्यमा सुसम्बद्ध गरेर लेखिएको आख्यानात्मक रचनालाई उपन्यास भनी परिभाषित गरेका छन् । यसरी उपन्यास यस्तो आख्यानात्मक विधा हो, जसमा जीवनको सम्पूर्ण घटनाक्रमलाई सन्तुलित रुपमा सविस्तार वर्णन गरिन्छ ।

४. उपन्यासका तत्वहरु

उपन्यास एउटा सिङ्गो संरचना हो । कुनै पनि संरचनाको निर्माण विभिन्न अवयवहरुको संयोजनबाट हुन्छ । त्यस्तै उपन्यासका पनि संरचनागत अंगहरु छन् रतिनै अवयव वा अंगहरुउपन्यासका तत्वहरु हुन् । अझ उपन्यास बनोट र बुनोटको सुसंयोजन हो । बनोट यसको बाह्य रुप वा आवरण हो भने बुनोट भित्री स्वरुप हो । बनोट र बुनौट दुबैको निर्माण यी नै तत्वहरुको सुगठन र सुगुम्फनबाट हुन्छ । समालोचक कृष्णचन्द्रसिं प्रधान (२०६१ः७) ले भनेका छन्ः सामान्यतया यसमा पाइने आवश्यक वस्तुका आधारमा उपन्यासको मूलभूत तत्व भन्नाले चरित्र, कथोपकथन, शैली, भाषा, वातावरण र उद्देश्यलाई औँल्याएको हो । यादव लामिछाने (२०५४) कथावस्तु, कथोपकथन, पात्र, जीवनदर्शन, शैली, देशकाल र परिस्थिति आदिलाई औपन्यासिक तत्व मानेका छन् । सारमा उपन्यासमा हुनुपर्ने अनिवार्य संरचागत तत्वहरु निम्न रहेका छन्ः
(क) कथानक (ख) पात्र वा चरित्रचित्रण (ग) मूलभाव वा जीवनदर्शन (घ) परिवेश (ङ) भाषाशैली (च) कथोपकथन वा संवाद (छ) द्वन्द्व (ज) कौतुहलता (झ) शीर्षकीय सार्थकता ।

५. तामाङ उपन्यास ‘प्राङ्बोला छेटाङ’को परिचय

‘प्राङ्बोला छेटाङ’ (गरीबको साइत,२०५९) तामाङ उपन्यासकार योकबहादुर घिसिङ रचित तामाङ साहित्यको दोस्रो उपन्यास हो । मेजरमान थिङबाट प्रकाशित यस उपन्यासको संरचना १० खण्डमा विभाजित छ । आकारमा सानो देखिए पनि औपचारिक मूल्यवक्ता र गुणवक्ताको दृष्टिमा यो उपन्यास खरो उत्रिएको देखिन्छ । कथानक रैखिक छ, आदि, मध्य र अन्तको सरल रेखीय प्रवाह छ । छेवाङको दर्दनाक गरिबीको कथाबाट उठान भई समाज मुक्तिका लागि जनयुद्धमा लाग्दालाग्दै प्रहरीको गोली लागी मृत्युवरण गरिएको घटनासँगै कथानकको बैठक हुन्छ । चरित्रचित्रणमा शोषित र शोषकवर्गका प्रतिनिधि पात्रहरु उभ्याइएका छन् । छेवाङ, नाङसाल, कुन्साङ शोषित पीडित वर्गका असली प्रतिनिधिहरु हुन् भने शर्मा बाजे, पुलिस वीरबहादुर आदि शोषक सामन्तवर्गका खाँटी प्रतिनिधि । अनि कुन्साङ चाहीँँ परिवर्तनका प्रतिनिधि मुख पात्र हुन् । उपन्यासको मूलभाव वा जनमुक्ति संग्राममा लाग्नैपर्ने माक्र्सवादी दर्शन वा चिन्तनको इमानदारीपूर्ण उपस्थापन । यही वैचारिक मियोमा सिङ्गो उपन्यास ठडिएको छ । भाषाशैली सरल, प्रभावकारी, सांकेतिक, व्यंग्यात्मक छ भने जबरजस्ती शब्दनिर्माण गर्दा कताकति बाधा नपुग्ने होइन । पात्रअनुकूलको कथ्य भाषा र जीवन्त भाषाको चयन अनि प्रयोगले उपन्यासमा स्वभाविकता सिर्जना गरेको छ । ग्रामीण परिवेश, प्राकृतिक विविधताको सुन्दर चित्रण, गाउँदेखि जेलसम्मको स्थानिक परिवेश, करीब १ वर्षीय समयावधि तथा शोषकवर्ग र निम्न वर्गबीचको वर्गीय द्वन्द्वले उपन्यासलाई मार्मिक र विश्सनीय बनाएको छ । अर्थात् उपन्यासमा समय, स्थान र घटनाको सुन्दर संयोजन गरिएको छ । आन्तरिक द्वन्द्व कम तर बाह्य द्वन्द्व टड्कारो देखिन्छ । खास गरी द्वन्द्व शोषकका पृष्ठपोषक राज्य सत्ताको विरुद्ध केन्द्रित छ । उपन्यासमा जनताको बलिदानीपूर्ण संघर्षले जनताले चाहेको उज्यालो दिन अवश्य पनि ल्याइछाड्ने सामूहिक उद्घोषका साथ औपन्यासिक कथावस्तु टुङगिएको छ ।

यसरी प्राङ्बोला छेटाङ उपन्यासमा तामाङ जातिको दारुण आर्थिक अवस्था र दयनीय जीवनचर्याको सपाट प्रस्तुति छ भने त्यसको फाइदा उठाएर गर्नसम्म अन्याय गर्न पछि नपर्ने प्रवृत्ति बोकेका ठालू वर्गको उछितो काढ्न खोजिएको छ । साथसाथै राज्य, प्रशासन, कानुन तथा सुरक्षा निकाय पनि गरीबवर्गको सुरक्षार्थ नभई उनै ठालूवर्गको स्वार्थ रक्षाको साधन बन्न पुगेको वास्तविकतालाई उदांगो पारिदिएको छ । अन्ततः उपन्यासले पुराना सामन्ती सत्ता र संस्कारको अन्त गरी जनताको सुदिन ल्याउन सबै उठ्नुपर्ने, जाग्नुपर्ने र लागिरहनुपर्ने क्रान्तिधर्मी सन्देशको प्रवाह गरेको देखिन्छ । यही विरोध, क्रान्ति र विद्रोहको आवाज बुलन्द गर्न यो उपन्यास सक्षम रहेको देखिन्छ भने परिवर्तनको लागि प्रेरणा र उत्साह भर्ने भरिसक्य यत्न र प्रयत्न गरेको पाइन्छ । समष्टिमा उपन्यास रचनागत शैलीशिल्पका दृष्टिले जति सशक्त र सबल छ भाव वा विचारको प्रस्तुतिका दृष्टिले उत्तिकै प्रष्ट र सफल देखिन्छ ।

६. औपन्यासिक तत्वका कसीमा प्राङ्बोला छेटाङ उपन्यासको समीक्षा

(क) कथावस्तु

दिनभरि ज्याला मजदुरी गरी बेलुकाको हातमुख जोर्नुपर्ने छेवाङको बाध्यता हो । बहिनीको उमेर २२ वर्ष पुग्दा पनि गरिबीकै कारण विवाह गरिदिन सकेका छैनन् । बूढ्यौली उमेरसँगै बिरामी परी ओछ्यान परेका बुबालाई आर्थिक अभावका कारण अस्पताल लगी उपचार गर्न पनि सकेका छैनन् छेवाङले । बुबाको उपचारको लागि छरछिमेकका सबैसँग सरसापटी नमागेको होइन तर तन्नम गरीबलाई कसैले पत्याएनन् । कसैले नदिएपछि सहनुको विकल्प रहेन । अन्ततः बुबाको मृत्यु हुन्छ । छेवाङ आफ्नो गच्छेअनुसार कम खर्चमा नयाँ तर सहज ढंगले काजक्रिया गरी संस्कार सम्पन्न गर्न पुग्छन् । एक्ली बहिनी नाङसालले सातै वर्षको कलिलो उमेरमा आमाको मायाबाट बन्चित हुनुपर्यो भने बुबालाई पनि गुमाउनु पर्यो हुनत बिरामी बाबालाई उपचार गर्न नसक्दा धेरै आँसु नबगाएको कहाँ हो र? के गर्नु उनको दाजेले जसोतसो परिवार धानेका छन् । बाबुको मृत्युपछि छेवाङको जीवन जसोतसो चलेकै थियो तर एकदिन शर्मा बाजेको काममा जाँदै गर्दा गाउँका भतिजा दोर्जेको कुराले छाँगाबाट खसझैँ हुन्छन् । तिम्री बहिनीको कुराले गाउँ हल्लिसक्यो भन्ने कुराले उनमा असह्य पीडा थपिन्छ । सत्य के हो बहिनीलाई सोधिन्छ त्यतिबेला उनी थाहा पाउँछन् पैसा लिन जाँदा दुष्ट शर्मा बाजेले जबरजस्ती गरी बहिनीको इज्जत लुटेको र दोजिया समेत रहेको कुरा । यो सुनेपछि उनमा आक्रोशको वेग नआएको होइन । तर सबै शर्मा बाजैकै हैहैमा लाग्ने देखेपछि चुप लाग्छन् । गाउँमा हल्ला चलेको र शर्मा बाजेले आफ्नो अपराध स्वीकार नगरेपछि नाङसालले एकदिन झुण्डिएर आत्महत्या गर्छिन् । तर दुर्भाग्य शर्मा बाजेले आफ्नो पाप लुकाउन पुलिसलाई पैसा खुवाएर बहिनीमाथि अवैध सम्बन्ध राखी दोजिया बनाएको र मारेको समेत आरोप लगाई छेवाङलाई जेल पठाइन्छ । जेलमा उनको भेट राजनीतिक बन्दी पाङदोर्जे कुन्साङसँग हुन पुग्छ । कुन्साङकै योजनानुसार जेल तोडेर दुबै जना भाग्न सफल हुुन्छन् । त्यसपछि कुन्साङकै अगुवाइमा दुबै जना जनताको मुक्तिका खातिर जनसेना भई जनमुक्तिको युद्धमा लाग्छन् । छेवाङलाई चिनीयाँ महान नेता माओत्सेतुङको जनताको स्वीकृतिविना सियो पनि छुन नहुने महान विचार सुनाइन्छ । उनीहरु शर्मा बाजेलाई कारवाही गर्न गाउँकै जनहित प्रा.वि.मा पुग्छन्, जनताको बाक्लो उपस्थिति हुन्छ । शर्मालाई त्यहाँ ल्याइन्छ, सारा पाप स्वीकारेपछि भीड उर्लेर कुटिन्छ । त्यत्तिकैमा भीडबाट एक्कासी गोली चल्दा छेवाङको छातीमा लाग्छ । जनताको लागि आफूले गर्न नसके पनि साथीहरुले गर्ने इच्छा राख्दाराख्दै पीडा खप्न नसकी उनको मृत्यु हुन्छ र अरु सबै भाग्छन् । अरुलाई नभेटेको रिसमा उनको लासलाई छियाछिया पारेर पाखाभरि छरिदिन्छन् । अन्ततः सबै जनताको उपस्थितिमा जनसेनाको नेतृत्वमा विरोध र्याली गरिन्छ र छेवाङलाई सहिद घोषणा गरिन्छ । सहिद छेटाङ छेरेङ्गाइ (जिन्दावाद), संसारका सबै गरीब गीक् ताअी (एक होऔँ) र हाम्रो सुदिन हालाहाला(आउँछ आउँछ) को बुलन्द क्रान्तिधर्मी आवाजकासाथ कथा टुंगिन्छ ।
सरसरती हेर्दा कथावस्तु सामाजिक यथार्थवादी देखिए पनि राजनीतिक रङ्ग पोतिएको देखिन्छ । उपन्यासकारकै वास्तविक जीवनका भोगाइहरु यसमा नपरेको भन्न सकिन्न । जे होस् कथावस्तु सरल र रैखिक छ । घटनाक्रमको उठानदेखि प्रारम्भ, विकास, संघर्ष, चरमोत्कर्ष, ह्रास र पतनसम्मको कथानकीय तत्वहरु अबलम्वन गरिएका छन् ।

(ख) पात्र वा चरित्रचित्रण

आख्यानका वाहक हुन् पात्र वा चरित्र । पात्रकै माध्यमबाट कथानक प्रारम्भ भई अन्त्यसम्म पुग्छ । तसर्थ पात्र वा चरित्र विनाको उपन्यास जीवन्त र गतिशील बन्दैन भनूँ पात्रविना उपन्यास चालकविनाका गाडीझैँ हुन्छ ।

प्राङ्बोला छेटाङका पात्रहरु वर्गीय चरित्रका छन् । यसमा शोषित वर्गका प्रतिनिधिका रुपमा छेवाङ, नाङसाल, कुन्साङ र समग्र निम्न वर्गीय जनसमूह रहेका छन् भने शोषक पीडक वर्गका वर्गीय अनुहारमा शर्मा बाजे, पुलिस वीरबहादुर लगायतलाई राज्यसत्तालाई उभ्याइएको छ । कार्य भूमिकाको दृष्टिले छेवाङ नायक हुन् उपन्यासका । अनि नाङसाल सहनायिका र खलनायक हुन् शर्मा बाजे । त्यसमा कुन्साङ चाहीँँ उपन्यासका विचारवाहक मुख पात्र हुन् । अन्य दोर्जे, कर्णबहादुर आदि चाहीँँ सहायक पात्र हुन् । यसरी यस उपन्यासमा ग्रामीण समाजका झुप्राबस्तीमा गरिबीको बेहिसाब मार खेपिरहेका र उच्चवर्ग तथा राज्यको शोषणको जाँतोमा पिसिएका पात्रहरु हुन् । साथै राज्य, सत्ता, शक्ति, धनसम्पत्तिको आडमा शोषण दमन अन्याय अत्याचारको दुष्मनी फणा फिँजाउने, छोरीचेलीको अस्मिता लुट्ने र निहत्था जनतालाई सजिलै गोलीले भुट्ने दमनकारी मतियारहरुलाई खलपात्रको रुपमा उभ्याइएको छ ।

समष्टिमा पात्र वा चरित्रचित्रण वर्गीय प्रतिनिधिका सन्दर्भमा सान्दर्भिक र उपयुक्त देखिन्छ । सङ्ख्यामा अल्पसङ्ख्यक, लिंगीय रुपमा महिला, पुरुष, प्रवृत्ति सत् र असत्, कार्यका आधारमा प्रमुख, सहायक र अन्य पात्रहरु खडा गरिएका छन् । अतः पात्र चयन र सन्तुलनको साक्ष्यमा उपन्यास प्रबल देखिन्छ ।

(ग) मूलभाव वा जीवनदर्शन

‘देन्छीन् बेनान् रेसाम, बेनानसे सेसाम प्राङ्बोला हादुअी बसी जाम्बुलिङ ह्यालह्याल स्होबारी कादे गाअीलारो । चोराङबान् प्राङ्बोला लागीरी ब्राबा म्हीमाक कादेसे ह्युलम्हीला स्हेरलेङ आरेना थाआरेना प्राङ्बोला दाप्सुताअी थर्ताआदे बिबा बोअीह्युलला मुलम्हीला बिबाताम डातामसे पुअीबामुला ।’ (सत्य चाहने सबै उठे, सबैले गरीबको सपना पूरा भई गाउँबस्तीमा उज्यालो छाउन गारो हुन्न । यस्तै गरीबवर्गको लागि हिँड्ने जनसेनाहरुले जनइच्छालाई नबुझी गरीबको सियो पनि छुन हुँदैन भन्ने माओत्सेतुङ विचारलाई यस उपन्यासले बोकेको छ ।) उपन्यासकार घिसिङले उपन्यासमा यिनै विचारको भ्रुणलाई हुर्काइबढाई औपन्यासिक सन्तानको जन्म दिएका छन् । यस उपन्यासको सार वा गन्तव्य सामाजिक समानता र न्याय स्थापना गर्न अन्याय अत्याचार र शोषण दमनको अन्त्य हो ।

मूलत उपन्यासको जीवनदर्शन वा उदेश्य तमाम श्रमजीवीवर्गको उत्थानको निम्ति जनमुक्तिको संग्राममा हेलिनु र पुरान शक्ति, सत्ता र संस्कारको ठाउँमा नयाँ सत्ता र संस्कारको प्रतिस्थापन गर्नु देखिन्छ । जहाँ सीमित ठालू वर्गको मात्र हालमुहाली नभई बहुसङ्ख्यक सर्वहारावर्गको सत्ता स्थापना हुन्छ । यही वैचारिक बीजविन्दुको आधारसिलामा उपन्यासको रचना गरिएको छ । समष्टिमा उपन्यासको साध्य भनेको समाजवादी राज्य व्यवस्थाको स्थापनातर्फ अभिमुखीत छ । यसलाई कुन्साङले पुलिसलाई भनेको कथनले पुष्टि गर्दछ । उनले भनेका छन्ः मैले मात्र खाना खाएर हुन्न, यहाँ साढे २ करोड नेपाली जनताले खाना खान पाउनुपर्छ म यही चाहन्छु(पृष्ठ २१) । यही सबैले खाना, नाना र छाना पाउनु पर्छ भन्ने भाव नै उपन्यासको आत्मा हो भन्न सकिन्छ ।

(घ) परिवेश

उडन्ते र काल्पनिक बेलगामपूर्ण सिर्जना क्षणिक सन्तुष्टि र विलासको साधन त बन्ला तर समाजलाई युगयुगसम्म मार्गनिर्देशन गर्ने विश्वसनीय सुन्दर साहित्यिक सिर्जना चाहीँँ पक्कै बन्दैन । तसर्थ साहित्य शून्यतामा सिर्जना हुन सक्दैन । यसका लागि केही आधारहरु हुनु पर्दछ । त्यही आधारलाई परिवेश भनिन्छ । त्यसैले साहित्यिक सिर्जनामा समय, स्थान र घटना विशेषको त्रिआयामिक सन्तुलन कायम गरिन्छ ।

प्राङ्बोला छेटाङमा ग्रामीण दूरदराजको गाउँबस्तीलाई स्थानिक परिवेश बनाइएको छ । छेवाङको पानी चुहुने झुप्रोदेखि शर्माबाजेको सुविधायुक्त घर, खोलानाला, डाडाँकाडाँ, खेतबारीदेखि जेलसम्मका स्थानहरु यसमा समाहित छन् । साथै यस उपन्यासको सिर्जना वि.स. २०५९ साल उल्लिखित छ । शान्ति सम्झौता २०६२ पूर्व तर सशस्त्र विद्रोहको अन्तिम चरणतिरको समय भनी आँकलन गर्न सकिन्छ । उपन्यासको घटना प्रारम्भदेखि चरमोत्कर्षदेखि संघर्ष ह्राससम्मको स्थिति नियाल्दा करीब १ वर्षको अवधि लिएको देखिन्छ । त्यसरी घटित घटना शृङखलालाई हेर्दा उपचारको अभावमा छेवाङको बाबुको अकालमा मृत्यु, शर्मा बाजेले बहिनी नाङसालको इज्जत लुट्नु र दोजिया बनाउनु, गाउँभरि हल्ला मच्चिनु तर शर्मा बाजेले स्वीकार नगर्नु, असह्य भएर नाङसालले आत्महत्या गर्नु, सारा आरोप छेवाङमाथि लगाइनु, जेल पठाइनु, कुन्साङको योजनानुसार जेल तोडेर भाग्नु र जनमुक्तिका लागि गोली लागेर सहिद बन्नुसम्मका घटना शृङखला परिस्थिति हुन् । यसरी उपन्यासमा देश,काल र परिस्थितिको सन्तुलित संयोजन गरिएको पाइन्छ ।

(ङ) भाषाशैली

भाषा अभिव्यक्तिको माध्यम हो भने शैली चाहीँँ अभिव्यक्तिको ढंग, ढाँचा वा ढर्रा हो । यो लेखकीय निजी पहिचान पनि हो । यस उपन्यासमा भाषा सरल, सरस र प्रभावकारी छ । किनकि कथावस्तु र पात्रअनुकूल भाषाको प्रयोग छ । भाषा स्थान, समय र सन्दर्भसापेक्ष पनि हुन्छ । मुख्य कुरा भाषाको स्तर र पात्रको स्तरबीच तालमेल भने हुनै पर्दछ । यस उपन्यासमा पात्रको स्तर, विचार, उमेर, मनोदशा, क्षेत्र र संस्कृतिअनुसार भाषिकस्वरुपको प्रयोग गरिएको पाइन्छ । भाषा सरल भइकन पनि प्रभावकारी र सशक्त छ । गम्भीर भाव वा विचारलाई सरल र बोलीचालीको स्वभाविक र जीवन्त भाषिक प्रयोगले उद्दीप्त बनाएकै छ । तामाङ उखान टुक्का, उचित बिम्ब प्रतीकसहितको व्यङ्ग्यात्मक प्रस्तुतिले मार्मिक र गम्भीर बनाएको छ उपन्यासलाई । भाषिक सरलता, रसिकता र सटिकताको दृष्टिले खोट लगाउन नसकिए तापनि शाब्दिक छनोट र प्रयोगमा भने एकरुपता आउन नसकेको अनुभूत गर्न सकिन्छ । जसको कारण बोधगम्यतामा असर पुगेको देखिन्छ । दृष्टान्तको लागि छेटाङको अर्थ साइत, वा सपना, काहीँ सहिद वा भविष्य आदि विविध अर्थ लाग्ने गरी प्रयोग गरिएको छ । अर्कोतर्फ कालिक प्रयोगमा क्रियाको रुपगत बेमेल पाइन्छ । तामाङ भाषामा भूतकालीन भाव बुझाउन जी विभक्ति लगाइन्छ तर उपन्यासमा ला विभक्ति लगाइएको छ । ङीनोन लाङाई मुबा दिम्री ब्राला(दुबै काँक्रो भएको ठाउँमा जालान्) यहाँ हुनुपर्ने चाहीँँ ब्रजी (गयो) हो तर ब्राला (जाला) को प्रयोगले जाला भई अर्थबोधमा बाधा पुगेको देखिन्छ । साथै भाषिक सबलताका लागि केही उदाहरण हेर्न सकिन्छ । जस्तो म्हीला तीङट्वाइबारी म्हीलान् कुरी वाङ्दोला (मान्छेको मनको कुरा बुझ्न मान्छेकै मनमा पस्नुपर्ने), चु ताम थेसी छेवाङ छे गुमा ब्रारी ताइबा मे ह्राङ ताजी( यो कुरा सुनेपछि छेवाङ घाँस तान्दा भीरमा परेको गोरुझैँ भयो) जस्ता मार्मिक सिर्जनात्मक कथनको प्रयोग गरिएको छ । यी यस्तै भाषिक प्रयोगले उपन्यासलाई स्तरीय र सबल बनाएकै छ । भाषा सरल भइकन प्रभावकारी र रोचक भएर पनि घोचक वा व्यङ्ग्यात्मक छ । अतः भाषिक दृष्टिमा पनि उपन्यास अग्र नै देखिन्छ ।

(च) कथोपकथन वा संवाद

कथोपकथन वा संवाद विनाको उपन्यास एकोहोरो कथाजस्तो हुन्छ । उपयुक्त र उचित संवादले उपन्यासलाई जीवन्त र सशक्त बनाउँछ । संवादकै माध्यमबाट लक्ष्यित भाव वा विचार सम्प्रेषण गर्न सकिन्छ । नाटकमा अभिनय गरी भाव अभिव्यक्त गरिन्छ भने उपन्यासमा संवादको माध्यमबाट भाव प्रस्तुत गरिन्छ ।

यस उपन्यासमा पनि घटना, सन्दर्भ र पात्रको उचित संयोजन गरिएको देखिन्छ । पात्रको स्तर र अवस्थाअनुकूलको भाषिक संवादको प्रयोग छ । शर्मा बाजेको बोलाइ र छेवाङको भाषामा अन्तर छ । त्यसरी नै ग्रामीण बस्तीको गरीब पात्रले बोल्ने भाषा र अन्यले बोल्ने भिन्नता छ । त्यसलाई उपन्यासमा मौलिकतासहित उतारिएको छ । यसका लागि केही पात्रगत संवादहरु हेर्न सकिन्छ । छेवाङको भनाइ ङाअी आहाम्नी ङाला हादुअीला छेटाङ ह्राङ्नीला छ्यारी, ङाअी जम्बुलिङ्ला चोतेभन्दा लाआहाम्नी, तीकाअी पीनआहाम्नी( मैले समाजको लागि यतिभन्दा गर्न सकिनँ, मेरो सपना पूरा गर्ने काम तपाईहरुको जिम्मामा, मैले यतिभन्दा गर्नै सकिनँ, क्यै दिनै सकिनँ । छेवाङको यो मृत्युपूर्वको अन्तिम वाणी हो । यसमा जीवन्त संवादको स्वाद पाइन्छ । अनि जवाफमा कुन्साङले भनेका छन् “छेटाङ ह्रो ह्याङ्ला हादुअी बिबा तोलो ब्राबा म्हुन राङ्बा आहिन्, उ मुरी सिगो गाङ्जोरी फेबा दिनी ह्राङ्बा ह्यालह्याल ताला। थे दुइरी बेनान् प्राङ्बोसे ह्राङ्लान सुङ्से ज्याबा बु बुन्म्याङ्ला ।” साथी छेवाङ भविष्य वा ल्याउन खोजेको दिन भनेको भर्खरै बितेको रातजस्तो होइन, ऊ हेर डाँडामाथि लागेको झलमल घामजस्तै उज्यालो हुन्छ । त्यतिबेला सारा गरीबले आफ्नै मुखले मीठो सास फेर्न पाउँछ । यस्तै जीउँदोजाग्दो भाषिक छटाले उपन्यास सजिएको छ । साथै सामूहिक उद्गारको बान्की पनि उत्तिकै गतिलो मात्र होइन घतिलो पनि छ । जस्तो जम्बुलिङ्ला बेनान प्राङ्बो गीक ताअी (समाजका सबै गरीब एक बनौँ, यस्तै विविधतापूर्ण संवादको समुचित र सन्तुलित प्रयोगले उपन्यासलाई स्वभाविक र सार्थक बनाएको छ ।

(छ) द्वन्द्व

उपन्यास जीवनजगतको समग्र अभिव्यक्ति हो । भनिन्छ जीवन आफैँ संघर्षको नाउँ हो ।त्यही संघर्षशील जीवनको प्रतिरुप मानिन्छ । तसर्थ संघर्षविनाको जीवन र द्वन्द्वविनाको उपन्यास करीब करीब उस्तै अधूरो र अपूरो हुन्छ । यो उपन्यास माक्र्सवादी यथार्थवादी वा प्रगतिशील भएकोले द्वन्द्व शोषक र शोषितवर्गबीचमै सीमित छ । सशस्त्र वर्गसंघर्ष बाह्य द्वन्द्वको रुप हो । तसर्थ मानवीय अन्तरमनको नभई बाह्य द्वन्द्वको आयोजना गरिएको छ । फेरि आन्तरिक द्वन्द्वको रुपमा पुराना मूल्य र मान्यता, सोचचिन्तन र संस्कारविरुद्ध नवीन मूल्य, मान्यता र संस्कारलाई लिन नसकिने होइन । मूलतः उपन्यास पुराना सत्ता वा संस्कार विरुद्ध नयाँ सत्ता वा संस्कारबीचको द्वन्द्वमा केन्द्रित देखिन्छ । माक्र्सवादी दर्शनको अभीष्ट निम्नवर्ग वा गरीबवर्गको सत्ता स्थापना गर्नु मानिन्छ । उपन्यासमा पुराना राज्यसत्ताको विरुद्ध तमाम उत्पीडित जनताहरु एक भई जनमुक्तिको संग्राममा लागेको देखिन्छ । यसमा दस वर्षे जनयुद्धको परेको जस्तो नदेखिने होइन । तापनि समाज र जनता निरपेक्ष भई उपन्यास लेखिने कुरा आउँदैन । उपन्यासका स्वयम् सशस्त्र द्वन्द्वको मारबाट अछुतो रहेन । तसर्थ यसको धेरथोर प्रभाव यसमा पर्न गएको देखिन्छ । जे होस् उपन्यासमा वर्गीय द्वन्द्वलाई सशक्त रुपमा चित्रण गरिएको छ जुन स्वभाविक र सजीव देखिन्छ । लाग्छ तिनै द्वन्द्वमय घटनाक्रमहरुका जगमा सिङ्गो उपन्यास ठडिएको छ । त्यसलाई झिकिदिने हो भने उपन्यास प्राणहीन शरीरझैँ हुने देखिन्छ ।

(ज) कौतुहलता

त्यसपछि के होला ? भनी मनभित्र कुतकुत्याउने वा उत्साह जगाउने कार्य कौतुहलता हो । जिज्ञासाको उच्च रुपलाई कौतुहलता भन्न सकिन्छ । अरु जान्ने, बुझ्ने र थाहा पाउने इच्छाविना कार्य अगाडि बढ्दैन । तसर्थ उपन्यासजस्तो लामो कृतिमा कौतुहलताले पाठकलाई डोर्याउने गर्छ । अन्यथा पाठक निरुत्साहित हुन्छन् र जबरजस्ती उपन्यास पढ्नुपनेै स्थिति सिर्जना हुन्छ । यो निरस, उत्साहीन र खल्लो कार्य हुन जान्छ । त्यसैले हरेक उपन्यासमा कौतुहलता सिर्जना गरिएको हुन्छ ।

यस उपन्यासमा पनि घटनाक्रमको तारतम्य एकपछि अर्को मिलाइएको छ । त्यसमा एउटा घटनापछि के होला भन्ने जिज्ञासा उठ्छ नै । उदाहरणको लागि छेवाङ जेल परेसम्मको घटनालाई लिँदा त्यसपछि के भयो होला भन्ने कुराको जिज्ञासा पाठकमा स्वतःस्फूर्त रुपमा जान्छ । यसरी उपन्यासमा कौतुहलतालाई कथानुसार उचित संयोजन गरिएको छ । यद्यपि उपन्यासकारको वैचारिक चाप र प्रभावमा के हुन्छ भन्दा पनि यही र यस्तै हुन्छ भनी सहजै अनुमान गर्न सकिन्छ।

(झ) शीर्षकीय सार्थकता

शीर्षक कृतिको नाम हो । तर शीर्षक र कथ्यबीचको तालमेल भएन भने त्यो कृति खोटो हुन्छ । तसर्थ शीर्षकले कथ्यलाई वहन गरेकै हुनुपर्छ । चाहे शीर्षक अभिधात्मक होस् वा व्यङ्ग्यात्मक । यस उपन्यासको शीर्षक प्राङ्बोला छेटाङ (गरीबको साइत) उपयुक्त नै देखिन्छ । उपन्यास समष्टिमा तमाम गरीबको सुदिन ल्याउनको खातिर गरिएको जनमुक्तिको युद्धसँग सम्बन्धित छ । तिनै शोषितपीडित गरीबवर्गको सत्ता स्थापनाको लागि ठालूतन्त्र वा धनीवर्गको विरुद्ध जनता एक भएको देखाइएको छ । जनताहरु आफ्नो स्वतन्त्रता र अधिकार प्राप्त गरी उज्यालो भविष्य (छेटाङ) को निम्ति एकताबद्ध भएको प्रस्तुतिले शीर्षकलाई सार्थक बनाएको छ । साथै प्राङ्बो भनेको गरीब र छेटाङ भनेको साइत, भाग्य, भविष्य आदि अर्थमा प्रयोग गरिएको छ । समग्रमा उपन्यासको सार वा सन्देश तिनै भविष्य निर्माणतिर उन्मुख छ । तसर्थ शीर्षक कथ्यको सापेक्षतामा सारपूर्ण र सार्थक ठहरिन्छ ।


(ञ) निष्कर्ष

ह्याङ तामाङदा ग्याप्पा स्होसी थान्बा ह्युल्बाला ह्रीमठीम मुला, ह्याङ्से स्ह्रयोरी ह्याल तासी ङ्यासे दोपताआदे दोना फ्युक्पोला मुरीला गे लासी मान्नाङ छेम्नाङ ज्याला किन्सी निला । थे ज्याला तिनी चाजी न्हाङ्गारला लागिरी देपेन गे लाजी फ्युक्पोला मानाला मुरी स्होजी । ह्याङ जैलेन प्राङ्बो, फ्युक्पोला फ्युक्पो । (हामी तामाङलाई नोकर वा दास बनाई राख्ने राज्यको नीति नियम छ । हाम्रो दिन विहान उज्यालो भएदेखि बेलुका साँझ नपरन्जेल धनीको एक मुरीको काम गरी एक माना ज्याला लिँदैमा जान्छ । त्यो ज्याला आज खाएर भोलिलाई छैन । भोलिको लागि काम गरेर धनीको मानाको मुरी बनायो, तर हामी चाहीँँ गरीबको गरीब धनीचाहीँँ भनीमाथि धनी) (पृष्ठ ३७) । यसरी उपन्यासका मुख पात्र कुन्साङले उद्घोष गरेका छन् तामाङहरुले भोगिरहेका वास्तविकतालाई । साँच्चै बोलेको देखिन्छ कुटु यथार्थलाई किनकि राज्यको वषौँको विभेदकारी नीतिको शिकार हुनु पर्दा तामाङ जातिको जीवनस्तर उपन्यासमा जस्तो चित्रण गरिएको छ त्यो भन्दा अलिकति पनि फरक छैन । अहिले पनि तल्लोस्तरको काम गर्ने, धेरे मेहनत गर्ने तर गरिबीको दुष्चक्रमा परी कारुणिक र दयनीय जीवन विताउने तामाङ नै छन् । कला, संस्कृतिमा सम्पन्न भए पनि आर्थिक विपन्नता तामाङ जातिको परिचय बन्न पुगेको छ । जीवन धान्न नै मुस्किल पर्छ भने उन्नति र प्रगति, शिक्षा र रोजगारी, पहुँच र प्रतिनिुिधत्व कुरा परै जान्छ । तसर्थ राज्यको प्रशासन, शिक्षा लगायत विभिन्न तह तप्कामा तामाङ जातिको सहभागिता छैन । यही वास्तविकतालाई वकालत गरिएको छ तामाङ उपन्यास प्राङ्बोला छेटाङमा । अनि दयनीय र कारुणिक जीवनस्तरबाट राज्यको विभेदको अन्त्य गरिनुपर्ने कुराको पनि अभिव्यक्ति छ । साथै उच्च वर्गको शोषणको माखेजालो च्यात्न सबै गरीबवर्ग एक हुनुपर्ने उपाय एकातिर सुझाएका छन् भने अर्कातिर समग्र तामाङ वा गरीबहरुको मुक्तिको दिन ल्याउन जनस्तरबाट मुक्तिको लडाइ लड्नुपर्ने जोडदार आव्हानको साथमा उपन्यास टुङगिएको छ । तसर्थ प्राङ्बोला छेटाङ (गरीबको साइत)उपन्यासलाई गरीबवर्गको उत्थानको मार्गदर्शनका निम्ति रचिएको सुन्दर सिर्जना भन्न सकिन्छ जहाँ सुन्दर भविष्यको परिकल्पना मात्र छैन, सपना साकार पार्ने मार्गको स्पष्ट अभिव्यक्ति पनि छ । यसरी प्राङ्बोला छेटाङ उपन्यास तामाङ साहित्यको सुन्दर सिर्जना बन्नुका साथै वैचारिकताको सुवास समेत छर्न सफल भएको देखिन्छ ।

सन्दर्भ ग्रन्थसूची
घिसिङ, योकबहादुर (२०५९), प्राङ्बोला छेटाङ, काभ्रेः मेजरमान थिङ ।
घिसिङ, योकबहादुर (२०६०), राल्फाली मैच्याङ, काभ्रेः लेखक स्वयम् ।
प्रधान, कृष्णचन्द्रसिं (२०६१), नेपाली उपन्यास र उपन्यासकारहरु, काठमाडौं साझा प्रकाशन ।
बस्नेत, कृष्णबहादुर (२०५९), आधुनिक नेपाली उपन्यास (सैद्धान्तिक विश्लेषण), काठमाडौं दीक्षान्त पुस्तक भन्डार ।
बराल र एटम (२०५९), अनिवार्य नेपाली व्याकरण, अभिव्यक्ति र अभ्यास, काठमाडौं विद्यार्थी पुस्तक भन्डार ।
भुसाल, गणाकर (२०५८), इन्द्रेणी संगालो, काठमाडौं क्षितिज प्रकाशन ।
लम्साल र अन्य, (२०६४), नेपाली गद्य र साहित्य तथा भाषा, काठमाडौं सनलाइट पब्लिकेसन ,
लामिछाने, यादवप्रकाश (२०५४), नेपाली कथा र उपन्यास, काठमाडौं आठराई पुस्तक भन्डार।
ज्ञवाली र घिमिरे (२०५८), आख्यानकार पारिजात, काठमाडौं हजुरको प्रकाशन ।
ज्ञवाली र भट्टराई (२०६४), अनिवार्य नेपाली, काठमाडौं भुँडी पुराण प्रकाशन ।

तपाईको प्रतिक्रिया