इजरायलमा पहिलो चरण पाँच सय केयरगिभर लैजाने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
काठमाडाैं

वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिएको इजरायलले पहिलो चरण ५ सय नेपालीलाई केयरगिभरमा रोजगारीको अवसर दिने भएको छ । इजरायल सरकारले नेपालबाट २ हजार ५ सय नेपाली लैजाने जनाए पनि पहिलो चरणमा भने परीक्षणका लागि पाँच सय नेपाली युवा लैजाने भएको हो ।

पहिलो चरणको नतिजा हेरेर क्रमशः अरु नेपालीलाई पनि लैजाने योजना रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपाली श्रमिकलाई इजरायलमा रोजगारीमा पठाउनुअघि १४ असोजमा २ देशबीच श्रम सम्झौता हुने बताए । “पहिलो चरणमा ५ सय नेपाली युवालाई रोजगारीमा पठाउने योजना रहेको छ,” महानिर्देशक दाहालले कारोबारसँग भने, “नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने भएपछि श्रमिक छनोट कार्यविधिका लागि वैदेशिक रोजगार विभागले काम सुरु गरिसकेको छ ।” यसअघि इजरायल पठाउँदा गरिएको भन्दा यो पटकको प्रक्रिया केही लचिलो बनाइएको छ । अब जाने कामदारले इजरायलको हेल्थ केयर सेन्टरमा रहेको वृद्धवृद्धाको हेरचाहका लागि काम गर्नुपर्ने छ ।

श्रम सम्झौताका लागि इजरायलस्थित नेपाली राजदूत डा अन्जान शाक्यले नेपाली केयर गिभरहरूले काम गर्नुपर्ने जिरयातिक सेन्टर एन्ड नर्सिङ होमको समेत स्थलगत भ्रमण समेत गरेकी छन् । नेपाली श्रमिकको इमानदारिता, मेहेनती स्वभावका कारण पछिल्लो समय इजरायल सरकार र त्यहाँका रोजगारदाता सकारात्मक हुदै आएका छन् । इजरायलमा नेपाली श्रमिक पठाउने सम्बन्धमा श्रम स्वीकृतिका लागि इजरायलस्थित नेपाली राजदूतलाई जिम्मा दिइएको छ । विभागले दुई देशबीच भएको श्रम सम्झौताका विषयलाई आधार बनाएर कार्यविधि बनाउने जनाउँदै कामसमेत सुरु गरिसकेको छ । यो कार्यविधिले इजरायल जाने श्रमिकको छनोट, योग्यता र पठाउने विधि तय गर्ने छ ।

यसपटक विगतको तुलनामा छनोट प्रक्रिया सरल रहेको विभागका निर्देशक टिकामणि न्यौपानेले बताए । “इजरायल जाने श्रमिक छनोटका लागि नेपाल सरकारलाई जिम्मेवारी दिइएको छ,” निर्देशक न्यौपानेले भने, “हामीले छनोट प्रक्रियामा इजरायली पक्षलाई समेत बस्न आग्रह गरे पनि उनीहरूले नेपाली पक्षलाई नै जिम्मेवारी दिएका छन् ।”

नेपालले नै छनोट गरेर पठाइदिओस् भन्ने इजरायाली पक्षको अनुरोध रहेको छ । इजरायलका लागि ४५ वर्षसम्म उमेर भएका कक्षासम्म अध्ययन गरेको र केयरगिभरको तालिम लिएको भए पुग्ने छ । केयर गिभर तालिम नलिएको खण्डमा नर्सिङ अध्ययन गरेको भए पनि हुने जनाइएको छ । सामान्य रूपमा अंग्रेजी बोल्न सक्ने भए राम्रौ हुने जनाइएको छ ।

भाषालगायतका विषय अनिवार्य नभएका कारण आवेदन दिनेको संख्या बढी हुनसक्ने विभागको अनुमान छ । यो प्रक्रियामा इजरायल जाने नेपाली श्रमिकको अनुमानित आम्दानी मासिक १ हजार ५ सय डलर अर्थात १ लाख ८० हजारको हाराहारीमा हुने जनाइएको छ । इजरायलले नेपाली पक्षलाई छिटो छरितो श्रमिक पठाउन दबाब दिँदै आइरहेका कारण दसैंलगत्तै यसका लागि विभागले काम सुरु गर्ने जनाइएको छ । यसअघि इजरायलले न्यून संख्यामा नेपाली श्रमिक लगेको भए पनि उसको श्रम बजारको मागअनुसार पछिल्लो समय ठूलो संख्यामा नेपाली श्रमिक लैजाने तयारी गरेको देखिन्छ । यो प्रक्रियामा अन्य देशबाट समेत इजरायलले श्रमिक लैजाने भएकाले नेपाली पक्षले छिटो छरितो श्रमिक पठाउने योजना बनाउनु पर्ने देखिएको छ ।

नेपाली श्रमिक लैजाने तयारी भएपछि इजरायलस्थित नेपाली राजदूत शाक्य, नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानान गोर्डर, नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरे, इजरायली स्वास्थ्य मन्त्रालय, इजरायली श्रम मन्त्रालय, त्यहाँको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटीले नेपाली श्रमिक काम गर्ने कार्यक्षेत्रको अध्ययन भ्रमण समेत गरेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका० व्यक्तिहरू, अंग्रेजी भाषा उत्तीर्ण ९लिखित तथा अन्तर्वाता दुबै० गरेका, निश्चित उमेर, तौल, उचाई, स्वास्थ्य परीक्षण, कुनै अपराधिक गतिविधिमा संलग्न नभएको प्रमाणपत्र लगायतका योग्यता पुगेका व्यक्तिहरू स्वच्छ प्रतिस्पर्धाबाट छनौट भएर जानसक्ने जनाएको छ । तर, यसअघि इजरायल आएका व्यक्ति भने यो प्रक्रियाबाट भने जान पाउने छैनन् । दूतावासले छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकोले कुनै पनि हल्लाका पछाडि नलाग्न आग्रह अनुरोध समेत गरेको छ ।-कारोबार दैनिक

तपाईको प्रतिक्रिया