साउदीमा कुल तीन लाख १७ हजार जना कोरोना संक्रमित निको

आइतबार ६ सय कोरोना निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमितसँगै दैनिक मृत्युदर पनि घट्नेक्रम जारी छ ।

यसै क्रममा आइतबार कोरोनाबाट २८ जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलीका अनुसार अहिलेसम्म कुल कोरोना भाइरसबाट साउदी अरेबियामा ४ हजार ६८३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी आइतबार कोरोना भाइरस नयाँ संक्रमित ४०३ जना थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार हालसम्म साउदी अरेबियामा तीन लाख ३३ हजार १९३ जना कोरोना भाइरसबाट संक्रमित भैसकेका छन् । ‘ कुल संक्रमितमध्ये ११ हजार ५०५ जना बिरामीहरु यहाँका कोभिड अस्पतालहरुमा उपचार लिइरहनु भएको छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ तीमध्ये चिकित्सकहरुका अनुसार १ हजार ३२ जना बिरामीको अवस्था भने गम्भीर रहेको छ ।’

यहाँ आइतबार कोरोना भाइरसको उपचार गरिरहेका ६ सय जना उपचारपछि घर फर्किएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन लाख १७ हजार ५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।


साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये ६० भन्दा बढी नेपालीको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको ‘, उनले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया