बाह्रविसे नाकपुजेका पहिरो पीडितलाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

बाह्रविसे नपा वडा नं. ७ स्थित होमथाङ, भीरखर्क नाकपुजेका पहिरो विस्थापितलाई आर्थिक सहयोग गरेको छ । उनीहरुलाई नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले प्रदान गरिन् ।

वल्ड बैङ्क सम्वद्ध कर्मचारीले पठाएको उक्त नगदलाई जनहित ग्रामीण सेवा समितिको संयोजनमा दलित समुदायका २४ घरपरिवारलाई सहयोग गरेका हुन् ।

समितिले आफ्नो नाम अनुसारकै काम गरेकोमा संस्थाका राजेन्द्र शर्मा, अध्यक्ष भरत सापकोट र राजु शर्मालाई धन्यवाद दिए ।

दानवीर कर्मचारीबाट प्राप्त रकमबाट थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले पीडितलाई नगद प्रदान गरेको संस्थाका निर्देशक राजेन्द्र शर्माले बताए ।


सो रकम जिन्सीमा बदल्दा आवश्यकता अनुरुपको तादात्म्य नमिल्ने भएकाले नगद नै वितरण गर्ने योजना बनाएको जिकिर गर्दै थप नगद सङ्कलनका निम्ति पहल भरहेको जानकारी समेत उनले दिए ।

कार्यक्रमस्थलमा कान्छो छोरा सुकलाल बिकको सिङ्गो परिवार गुमाएको पीडामा विक्षिप्त साठी वर्षीया बालकुमारी बिकका गहमा आँशु टिल्पिलाइरहेको देखिन्थ्यो । हर्थुङ्गोले आँसु पुछ्दै प्राप्त गरेको नगद के गर्ने भन्ने कुनै योजना नभएको बिकले भक्कानिँदै बताइन् ।

सानो रकम प्राप्त गर्दा पनि विस्थापितहरूको मलिन मुहारमा किञ्चित चमक भने देखिन्थ्यो । संस्थाका अध्यक्ष सापकोटाले पीडितको पुनर्बासका निम्ति संस्थाले सक्दो सहयोग गर्ने वाचा गरे ।

तपाईको प्रतिक्रिया