जिल्लाका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण बढाउन प्रविधिमैत्री बनाउन थालेका छन्। संस्थागत विद्यालयमा विद्यार्थी तानिरहेका बेला सामुदायिकले पनि शिक्षणमा आधुनिक प्रविधि अपनाएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ।
विद्यार्थी खोज्नुपर्ने अवस्थामा पुगेकाबेला आधुनिक प्रविधि भित्रिएसँगै अभिभावकको रोजाइमा सामुदायिक विद्यालय पर्न थालेका छन्। सदरमुकाम खंलगामा रहेको त्रिभूवन जनता माध्यामिक विद्यालयले हाल प्रविधिसँग जोडिएर पढाउन थालेको बताएको छ। इन्जिनियरिङ संकायसमेत पढाइ भइरहेको यो विद्यालयमा तीन वटा कम्प्युटर ल्याव छन्। यस्तै चक र डस्टर विस्थापित गर्दै विद्यालयले प्रोजेक्टरको प्रयोगबाट पठनपाठन सुरु गरेको हो।
डिजिटल हाजिरी, सीसी क्यामेराबाट निरीक्षण र कम्प्युटर प्रणालीबाट पढाइ हुने गरेको छ। इन्जिनियरिङ र विज्ञान संकायतर्फ यसअघि नै कम्प्युटर ल्यावको व्यवस्था गरेको विद्यालयले हाल कक्षा ६ देखि १०सम्म कम्प्युटर विषय रोजेका विद्यार्थीहरुका लागि पनि कम्प्युटर ल्यावको व्यवस्था गरेको छ। प्राविधिक पढ्दै गरेका छविलाल खत्री विद्यालयले व्यवस्था गरेको प्रयोगात्मक समाग्रीबाट पठनपाठनमा सहज भएको बताउँछन्।
गाउँकै सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत पढ्न पाएपछि गुणस्तरीय शिक्षाका लागि कुनै सहर वा संस्थागत विद्यालय धाउने बाध्यता हटेको खत्रीले उल्लेख गरे। विद्यालयमा अहिले २१ वटा कम्प्युटर र दुई वटा ल्यापटपसहितको ल्याव स्थापना गरिएको प्रध्यानाध्यापक हरिप्रसाद खनालले जानकारी दिए। योसँगै विद्यालयमा १० वटा सीसी क्यामेरा, डिजिटल हाजिरी र दुई थान प्रोजेक्टरको व्यवस्था गरिएको छ।
मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत विनाराम खड्काले विद्यालयको मागका आधारमा आफूहरुले सहयोग गर्ने गरेको बताए। उनकाअनुसार प्रविधिमैत्री विद्यालय निर्माणका लागि नगरका ११ वटा विद्यालयले आवेदन दिएका छन्। त्यस्तै मुसीकोट नगरपालिका–९मा पनि सरकारी विद्यालय प्रविधिमैत्री बन्दै गएका छन्। वडाले चार वटा विद्यालयलाई प्रविधिमैत्री बनाउने भएको हो।
डिजिटल हाजिरी, कम्प्युटर, प्रिन्टर, इन्टरनेट, सोलार, पेनड्राइभ लगायतका सामग्रीहरू वडाले सबै विद्यालयलाई वितरणसमेत गरेको छ। विशेषगरी वडाका विद्यालयहरुमा प्रविधिको प्रयोगबाट पठन–पाठन गराई शिक्षाको गुणस्तर विकास गर्ने र विद्यार्थी तथा शिक्षकहरुलाई प्रविधिमा अभ्यस्त गराउने उद्देश्य राखिएको वडाध्यक्ष नविन ओलीले बताए। रुकुमपश्चिमः हाल प्रविधिमैत्री बनेको त्रिभूवन जनता मावि। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।