लोप हुँदै संस्कृति धान्ने जुट खेती

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
झापा

तीन दशक अघिसम्म झापाको प्रमुख नगदेबालीको रूपमा रहेको जुट ९पाटा० खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । उचित मूल्यको अभाव र सरकारको कम प्राथमिकताको कारण जुट खेती लोप हुने अवस्थामा पुगेको हो । जिल्लाका सिमावर्ती गाउँपालिकाहरू कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा जुट खेती गर्ने गरिएको थियो । तर, पछिल्लो समय धेरै घटेको छ । विगतमा झापाका किसानले राम्रो आम्दानी हुने खेतीको रूपमा लिने जुट खेती अहिले किसानले घरायसी प्रयोजनका लागि मात्र गर्दै आएका छन् ।

पछिल्लो समयमा भने सन्ठी ९आगो बाल्न०मात्र यो खेती हुन थालेको छ । गाउँका किसानले थोरै भए पनि जुट खेती अझै गरिरहेको तर जुट खेतीका लागि किसानलाई प्रोत्साहन गर्न सरकारी तवरबाट कुनै पनि कार्यक्रम नभएको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवकुमार यादव बताउँछन् । गत वर्ष जिल्लामा ५९२ हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । प्रतिहेक्टर १ टनको दरले जुटको उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । उनले झापामा जुट खेती लगातार घट्दै गएको बताए । स्थानीय किसानका अनुसार विगतमा भने जुट खेतीका लागि धेरै बजेट आउने गरेको थियो भने धेरै क्षेत्रफलमा खेती पनि हुने गरेको थियो । हाल जुट खेतीका लागि कृषि शाखाबाट कुनै सहयोग नआएपनि आदिवासी समुदायले आफ्नो परम्परा धान्न र घरायसी प्रयोजनका लागि खेती गर्न भने छोडेका छैनन् । पाटासँगै सन्ठीको अति आवश्यकता पर्ने गरेकाले उनीहरूले थोरै भएपनि जुट खेती गरिरहेका छन् ।

झापाको बाह्रदशी गाउँपालिकामा करिव २० बिघा क्षेत्रफलमा यस वर्ष जुट खेती गरिएको छ । गाउँपालिकाको सातवटै वडामा जुट खेती गर्ने गरिएको छ । बाह्रदशी –१ मा मात्र करिव ५ विगाहमा यस वर्ष जुट खेती गरिएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । पहिला बिघामा खेती गर्ने किसानहरू अहिले थोरै ठाउँमा भएपनि जुट खेती गर्ने गरेको उनी सुनाउँछन् । उचित मूल्यको अभाव र झन्झटिलो भएका कारण किसानले जुट खेती छोड्दै गएको उनको भनाइ छ । “जुट कुहाउन खोला वा पोखरी चाहिन्छ, जलाशय हराउँदै गए,” उनले भने, “त्यससँगै जुट खेती गर्दा बीउ छरेदेखि तयारी पाटा नसुकाएसम्म झन्झट नै झन्झट छ ।” खासगरी आदिवासी समुदायले घरायसी प्रयोजनका लागि जुट खेती गर्ने गरेका छन् ।

विगतमा धेरै क्षेत्रफलमा पाटा खेती गरेका बाह्रदशी– १ का रूपलाल राजवंशीले यस वर्ष एक कठ्ठामा जुट लगाएका छन् । एक कठ्ठामा चार मन जुटफल्ने उनको अनुमान छ । अहिले प्रतिमन जुट २५ सय रुपैयाँको दरले बिक्री हुने गरेको छ । चार मन जुट फलाउन उनले १० हजारजति खर्च गरिसके । “छर्न र गोड्न साढे ७ हजार त्यस्तै काट्न, कुहाउन र धुन ३ हजार खर्च भइसक्यो,” उनले भने, “जुट बेचेको पैसाले खर्च मात्र उठ्ने भयो ।” उनले जुटभन्दा सन्ठीको लागि आफूले खेती गर्ने गरेको बताए ।

यस्तै, स्थानीय नोकलाल राजवंशीले अढाई कठ्ठामा जुट लगाएका छन् । सन्ठीकै लागि सोही गाउँका अमनप्रसाद राजवंशीले अधियाँमा जुट लगाएका छन् । दिउँसोको चर्को घाममा होलीमा जुट धुँदै गरेका उनी सन्ठीकै लागि अथक मेहनत गरिरहेको बताउँछन् । पहिला धेरै खेत गरेको तर बीउ नपाएर धेरै नरोपेको बताउने अमनले डेढ कठ्ठाको जुटबाट केही आम्दानी हुनसक्ने बताए ।

जुटको साँस्कृतिक महत्व

आदिवासी समुदायको लागि पाटा परम्परागत खेती हो । आदिवासी समुदायमा सन्ठीको ठूलो महत्व रहेको छ । तिहारमा पर्ने गोरुवाँसी पर्वमा सन्ठीको राँको (हुकाहुकी) खेल्ने परम्परा पूर्वका आदिवासी समुदायमा रहेको छ । राजवंशी, ताजपुरिया, गनगाई, माझी लगायतका जातिले सन्ठीको मुठो (हुकाहुकी) बनाएर त्यसलाई पूजा गर्ने र आगो सल्काएर खेल्ने परम्परा छ । पहिले सबैले जुट खेती गर्ने गरेका थिए तर जुट खेती छोडेकाहरूले अहिले अरुबाट सन्ठी किनेर भए पनि हुकाहुकी खेल पर्व मनाउने गरेका छन् । पूजाआजासँगै आदिवासी समुदायले आगो सल्काउन सन्ठी प्रयोग गर्ने गरेका छन् । इन्धनको रूपमा अझै दाउरा प्रयोग गरिरहेका ग्रामीण भेगका आदिबासीले आगो सल्काउन र गुइँठा बनाउन सन्ठी प्रयोग गर्ने गरेकोले पनि यो लोप हुन नसकेको हो । पहिला जुटले घरमै डोरी बाट्ने ९बनाउने ० गरिएकोमा अचेल बजारबाट किनेर प्रयोग गरिन्छ । त्यस्तै, जुटको साग पनि प्रचलनमा छ ।– कारोबार दैनिकमा मनिषा चम्लागार्इले लेखेकी छिन्

तपाईको प्रतिक्रिया