खाडीमा महिलाहरुलाई मापदण्ड तोकेर ल्याउनुपर्छ: बेगम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

एनआरएनकी सदस्य यासमिन बेगमले खाडी मुलुकमा आउने महिलाहरुलाई पूर्ण प्रतिबन्ध होइन, उचित प्रकृया र पद्धति मिलाएर वैधानिक रूपमा ल्याउनुपर्ने बताएकी छिन् ।

सदस्य बेगमले सेप्टेम्बर २६ मा एनआरएन अमेरिकाद्वारा संचालित महिला राष्ट्रिय सम्मेलन २०२० उद्घाटनका क्रममा उक्त कुरा बताएकी हुन् । बेगम निवर्तमान मध्यपूर्व एनआरएनकी महिला सहसंयोजक समेत हुन् । बेगम हाल साउदी अरेबियामा व्यवसाय गर्छिन् । सम्मेलनको उद्घाटन भर्चुअल मार्फत गरेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बेगमले खाडी मुलुकहरुमा विगतको दिनहरुमा जस्तो महिलाहरुको जटिल समस्या नरहेको बताइन् । बेगमले पहिलोपटक अमेरिका एनआरएनले महिला राष्ट्रिय सम्मेलन गरेकोमा धन्यवाद दिदै शुभकामना समेत दिइन् ।


बेगमले अवैध तरिकाले आउने महिलाहरू बाहेक अन्य समस्या देखिएकोले सीप र योग्यता लगायतको पहिचान गरी वैधानिक रूपमा खाडी ल्याउनुपर्ने बताइन् । वैधानिक रूपमा ल्याउदा नेपाल सरकार र एनआरएनले श्रमिकको पक्षमा ओकालत गर्न पाउने समेत बेगमको दावी छ । बेगमले महिला र पुरुष दुवैलाई घरेलु कामदारमा भने पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने बताइन् ।

त्यसैगरी कार्यक्रम पहिलोपटक ऐतिहासिक रूपमा सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै बेगमले अयोजक टिमलाई बधाई तथा शुभकामना दिएकी थिइन् । उनले खाडी मुलुकमा कोरोनाका कारण प्रभावित भएका पुरुष तथा महिला कामदारहरुलाई एनआरएनले नेपाल फिर्तिका लागि सहजीकरण गरिरहेको बताइन् ।

मध्यपूर्वमा बिगतमा जस्तो महिलाहरुलाई आइपर्ने समस्याहरू स्वचेतनाका कारण न्यूनिकरण हुँदै गएको र बाह्य रूपमा देखे र सोचे जस्तो विकराल नभएको जानकारी दिइन् । अन्य राष्ट्रका महिलाहरुले भोग्नु परे जस्तो संस्थागत अवसर माथिको लैंगिक विभेद, असमानता, महिला सहभागिता आदि विषयहरुमा क़ुनै प्रकारको मतभेद र संस्थागत पदीय जिम्मेवारीबाट अपहेलना वा बन्चित नगरिएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया