कुवेतको अमिरको निधन, चीन र अमेरिकाद्वारा दुःख व्यक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कुवेत

कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

ट्रम्पले कुवेतका अमिरको निधनले आफूलाई र मेलानियालाई निकै दुःख लागेको छ, भन्दै कुवेतका नागरिकहरुलाई समवेदन सन्देश पठाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा बताइएको छ ।

कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको थियो । उनको अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेको थियो । उपचाररत सोही अस्पतालमा उनको निधन भएको बताइएको छ ।


त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गरेको छ । राष्ट्रपति सिले उनको निधनबाट आफूलाई दुःख लागेको बताएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधबार मात्र सार्वजनिक गरेका बताइएको छ । उनी ९१ वर्षका थिए । उनको निधनपछि ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई कुवेतको मन्त्रिपरिषदले अमिरको उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।

गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका गएको थियो । त्यसपछि पनि लामो समयसम्म उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन । अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहेको थियो । उनले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गरेको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया