रामेछापमा भैंसी धनीलाई प्रोत्साहन भत्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रामेछाप

रामेछापमा नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैंसी धनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैंसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो । नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६० भैंसी धनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ ।


नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना जारी गरेको छ । मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैंसीभन्दा बढी संख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए ।

उनका अनुसार भैंसीको सुत्केरी भत्ता प्राप्त गर्न भँैसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैंसी धनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैंसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ । नगरपालिकाका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैँसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताइन् ।

मापदण्ड पूरा गरेर आउने कृषकलाई रु तीन हजार भैँसी सुत्केरी भत्ता उपलब्ध गराइन्छ । गत वर्षदेखि सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको नगरपालिकाले प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया