होमस्टे चलाउन गौरीशंकर आयोजनाबाट सामग्री सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दाेलखा

विश्वमा नै पर्यटन व्यवसाय धराशयी बनिरहेका अवस्थामा पर्यटन प्रवद्र्धन गराउनका लागि घरबास सञ्चालन गर्न गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले १० घरपरिवारका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।

दोलखा जिल्लामा पर्ने सो संरक्षण क्षेत्रअन्तर्गत बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा होमस्टे सञ्चालन गर्न आवश्यक सामग्री प्रदान गरिएको हो ।


पर्यटनको प्रचुर सम्भावना रहेको उक्त क्षेत्रमा लामाबगर, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थल, लप्ची, रोल्वालिङ हिमालय जाने मार्गको प्रस्थानविन्दु छन् । भविष्यमा लामाबगरमा विशेष गरी जलपर्यटन बढ्ने सम्भावना र स्रोतसाधन पनि रहेकाले पूर्वाधार विकास गर्न घरबास सञ्चालन गर्न लागिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले बताए ।

होमस्टे सञ्चालनका लागि प्रतिघर २० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ । प्रतिघर एक कोठाका दुई शय्याका लागि आवश्यक पर्ने सिरक, डस्ना, तकिया दुईदुई थान, चप्पल, डोरम्याट, डस्टबिन, तौलिया, ह्याङ्गर, ऐना, रजिष्ट्रर, एस्ट्रे, होमस्टे बोर्ड एकएक थान र कार्पेट ६ मिटर वितरण गरिएको पर्यटन सहायक याङ्टी शेर्पाले बताइन् ।

उच्च हिमाली क्षेत्रमा रहेको सो संरक्षण क्षेत्रमा पर्ने विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्न आउने पर्यटकको संख्यामा समेत वृद्धि हुँदै गएको छ । लकडाउनपूर्व रोल्वालिङ हिमशृङ्खला, च्छोरोल्पा हिमताल, लप्ची, गुम्लालगायत क्षेत्रमा भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया