नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् । ‘कोभिड १९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ,’ ढुङ्गानाले भने ।
विज्ञप्ति मार्फत् अध्यक्ष ढुङ्गानाले पिसीआर परीक्षण गर्न सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पिसीआर परीक्षणलाई सहज बनाउन आग्रह गर्नुका साथै संघले डा. गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा. केसीको जीवनरक्षा गर्न समेत सरकारसँग माग गरेको छ ।
यस्तै बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ ।