कोरोना सङ्क्रमित फेला परेपछि दोलखामा शैक्षिक संस्था बन्द गर्न निर्देशन

सैलुङअनलाइन संवाददाता
98 Shares
दाेलखा

दोलखामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।

जिल्लाको तामाकोशी गाउँपालिकामा तीनजनामा कोरोना पोजेटिभ पुष्टि भएसँगै समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । तामाकोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष महेश काफ्ले र वडा नं. ६ च्यामाका ४५ वर्षिय पुरुष र उनकी १५ वर्षिय छोरी जिल्ला बाहिर नगएको र उनीहरुमा कोरोना पुष्टि भएकोले समुदाय स्तरमा कोरोना फैलिएको आशंक गरिएको गाउँपालिका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताएका छन् ।

जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । बैठकले बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ ।

बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न गराउन निषेध गरिएको छ । मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन ।

बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन । चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका