रानीपोखरी बालगोपालेश्वर मन्दिरमा गजुर स्थापना गरियो

सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडाैं

ऐतिहासिक रानीपोखरीको बिच भागमा निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा गजुर स्थापना गरिएको छ । आज बिहान ८ बजेको साइतमा मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो ।

मुख्य गजुर १२३ किलोग्राम तौलको रहेको छ । तामाले बनेको गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको छ । २०७२ सालको भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले निर्माणको अन्तिम चरणमा छ । यही दशैँ अघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ । अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

शुरुमा काठमाडौं महानगरपालिले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले काठमाडौ महानगरपालिकामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात् ने.सं. ७८९ (वि.सं. १७२५) मा सम्पन्न भएको थियो । ने.सं. ७९० (वि.सं. १७२७/ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको बताइन्छ । उत्तर-पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर-पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण-पूर्व कुनामा देवीको मन्दिर र दक्षिण-पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका