चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु भयो

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु गरेका छन् । तीन संस्थाले दशैँतिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यन्न उपलब्ध गराउन पसल शुरु गरेको बताएका छन् ।

ती संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उहाँका अनुसार प्रत्येक खाद्यान्नमा प्रतिकिलो झण्डै पाँच रुपैयाँसम्म छुट दिइएको छ । खनालले भने, ‘हामीले चामल, सिमी, फापरलगायतका सबै खाद्यान्नमा छुट गरेका छौँ, साल्ट ट्रेडिङ र डिडिसीले पनि छुट गरेका छन् ।’

नेपालमा कोभिड १९ को सङ्क्रमण बढिरहेकाले त्यसबाट बचेर सामान खरीदबिक्री गर्ने व्यवस्था मिलाइएको खनालले बताए । सबै स्थानमा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘उपभोक्ता आफैँ पनि सजग हुन खाँचो छ ।’


कम्पनीले यस वर्ष सहुलियत पसल सञ्चालन गर्दा झण्डै २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । गत आवमा १७ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो ।

उपत्यकाका रामशाहपथ, थापाथली, कालीमाटी, कोटेश्वर, टेकु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरलगायत स्थानमा बिक्री कक्ष छन् भने उपत्यका बाहिर ४९ स्थानमा पसल सञ्चालित छ ।

यी स्थानमा तीनै संस्थाले आआफ्ना सामानको फरकफरक कक्ष राखेका छन् । यी संस्थाले विगत वर्षदेखि नै चाडपर्वलाई लक्ष्य गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएका हुन् ।

तपाईको प्रतिक्रिया