तनावाला चप्पल

काठमाडाैं

जीवनका कयौं वसन्त पार गर्दै गर्दा
जीवनमा कयौं चिज आए गए
हरेकले कि चोट
कि खुसी दिएर गए
तर
मेरो खुट्टाको तनावाला चप्पल
मेरो जीवनमा आएको कयौं वर्ष बिते
र पनि
यसले कहिल्यै मलाई छाडेन
कहिल्यै मेरो हैसियत सोधेन
मबाट कहिल्यै कुनै अवसर खोजेन
बरू सँधै
मेरा लागि
खिइन तयार भयो
चुडिन तयार भयो
च्यातिन तयार भयो
दुष्ट काँडाहरूसँग
जुध्न तयार भयो
तर मलाई छाड्न
कहिल्यै तयार भएन
समयसँगै यसले मेरा लागि
ठाउँ छाड्यो
साइज छाड्यो
रूप छाड्यो
रंग छाड्यो
मुल्य छाड्यो
तर मेरो साथ छाडेन ।

त्यसैले
म मेरो तनावाला चप्पल माथि
सधैं गर्व गर्छु
जसले
जीवनका उकाली ओरालीमा
मेरो साथ कहिल्यै छाडेन ।।

तपाईको प्रतिक्रिया