नेपालमा अज्ञातबास

काठमाडाैं

(अप्रिल ९, १८९३ मा भारतको उत्तरप्रदेश आजमगढमा जन्मिएका केदारनाथ पाण्डे पछि महापण्डित राहुल सांकृत्यायन बने । ४५ वर्ष घरभन्दा बाहिर यात्रा गरेका उनले भाषा, यात्रा, संस्कृति, धर्म र दर्शनसम्बन्धी १ सय ५० पुस्तक लेखे । सांकृत्यायनले तिब्बतको याक्रा गर्ने त्रममा सन् १९२९ मा केही समय काठमाडौं र हेलम्बुमा बिताएका थिए । १९५० मा प्रकाशित उनको आत्मकथा ‘मेरी जीवनयात्रा-२’ मा प्रकाशित लेखको अनूदित र सम्पादित अंश ।)

अमलेखगन्जमा रेलबाट ओर्लिएँ । त्यहाँ सामान ओसार्ने खाली लरी भेटियो । लरी भीमफेदीसम्म आउँथ्यो । अनि पैदलै सिसागढी (चिसापानी) र चन्द्रागिरि पहाड चढेर नेपाल उत्रिएँ । नेपालमा आइपुगेर थापाथलीको बैरागी मठमा बसेँ । पशुपति र गुहेश्वरीको दर्शन गरें । तर म नेपाल पशुपति, गुहेश्वरीको दर्शनका लागि गएको थिइनँ । महाबौद्ध बौद्धहरूको ठूलो तीर्थ हो । अघिल्लो यात्रामा मैले यहाँ एक चिनियाँ लामालाई भेटेको थिएँ । त्यहाँ पुगेपछि यी लामा बितिसकेको थाहा भयो । उनका दुई छोराहरू रहेछन् । आफ्ना ३०-४० शिष्य-शिष्याको डफ्फा लिएर डुक्पा लामा नामका एक प्रभावशाली लामा त्यहीँ बस्दा रहेछन् ।

म डुक्पा लामाका शिष्यहरूसँग (तिब्बतीमा) कुरा गर्ने कोसिस गर्दै थिएँ, लाहुलका रिन्छेन र यिनका एक मित्रसँग भेट भयो । यिनीहरू दुवै हिन्दी बोल्थे । रिन्छेनलाई लिएर म डुक्पा लामासँग भेट गर्न गएँ । यिनलाई लद्दाखको चिठी दिएँ । चिठीसँगै श्रीलंकामा बस्दा आफूले त्रिपिटकको अध्ययन गरेको र श्रीलंकामा बौद्धधर्मसँग सम्बन्धित सबै ग्रन्थ प्राप्य नभएकाले ती ग्रन्थ पढ्न तिब्बत जाने इच्छा भएको कुरा पनि बताएँ । आफूले भारतमा बुद्ध धर्मको प्रचार गर्न चाहेको र यो पुण्यकार्यमा सहयोग गर्न अनुरोध पनि गरें । डुक्पा लामाले खुसी हुँदै भने, ‘हामीसँग बस्दै गर्नुस्, हामी यहाँ अरू केही दिन बसेर तिब्बततिर जाने योजनामा छौं, तपाईं पनि हामीसँगै जान सक्नुहुन्छ । सुनेर मलाई असाध्यै खुसी लाग्यो ।

शिवरात्रिपछि पनि म नेपालमै छु भन्ने नेपाल सरकारले थाहा पायो भने मलाई सिधै वीरगञ्ज फर्काइदिने भएकाले मैले लुकेर बस्नुपर्छ भनेर मैले रिन्छेनलाई सम्झाइसकेको थिएँ । महाबौद्ध विशाल स्तूप हो । यसको चारैतिर एकनाले, दुईनाले घरहरू बनेका छन् । यी घरहरूको तल्लो तल्लामा पसल छन् र माथिका कोठाहरूमा तिब्बती र अन्य बौद्धयात्रीहरू बस्ने गर्छन् । घरपटी पनि यहीं बस्छन् । रिन्छेनले पहिला मलाई एउटा नेपालीको घरको कोठामा राखेको थियो । तर म चाहिँ मानिसहरूले चिन्लान् भनेर डराइरहेको थिएँ । मैले आफ्ना लागि भनेर तिब्बतीहरूले लगाउने पुरानो चोगा (छुपा) र लामो जुत्ता पनि किनेँ । रिन्छेनसँग मैले आफ्नो डर बताएपछि उनले मलाई लामाका शिष्य-शिष्याहरू बस्ने कोठामै बस्न सक्ने व्यवस्था मिलाइदिए ।

भोटको भेषमा काठमाडौंमा

म भोटे लुगा नै लगाउँथे । दारी-जुँगा काट्न छोडिदिएको थिएँ, नुवाइधुवाइ पनि बन्द थियो । हातमुखमा मयल जम्मा हुन थालेको थियो, तैपनि मलाई यो त मधेसतिरको मान्छे हो भनेर कसैले चिन्लान् भन्ने डर कायमै थियो । चमेरोजस्तै म दिनभरि घरभित्रै बसिरहन्थेँ र साँझ परेपछि भोटे लुगा लगाएर स्तूपको परिक्रमा गरेर कोठामै फर्कन्थेँ । यसरी बसेको पनि एक महिनाभन्दा बढी भइसकेको थियो ।

नेपाल उपत्यकाका सबै बौद्धमार्गीहरूमाझ डुक्पा लामा आगमजानी सिद्ध हुन् र यिनी चौबीसै घण्टा समाधिमा रहन्छन् भनेर प्रसिद्ध थिए । रातदिन जहिलेसुकै आसन बाँधेर बसेको देखिन्थ्यो । कहिले यिनका आँखा खुलेको पनि देखिन्थ्यो, कसैसँग कुराकानी पनि गर्थे र कहिले आँखा बन्दै रहन्थ्यो । कहिले दिउँसो पूजा सामान मगाएर पूजा गर्थे भने कहिले आधी रातमा पूजा गरिरहका हुन्थे । नेपालका गृहस्थ बौद्धहरू यिनीकहाँ उपहार लिएर बरोबर आइरहन्थे ।

‘वज्रच्छेदिको प्रज्ञापारमिता’ महायान बौद्धधर्मको असाध्यै पूजनीय ग्रन्थ हो । डुक्पा लामासँग काठको फल्याकमा उल्टो गरी खोपेर लेखिएको अवस्थामा यो सिङ्गै ग्रन्थ उपलब्ध थियो । लामाका शिष्य-शिष्याहरू मसी लगाएको हाते कागजमा यो ग्रन्थलाई दिनभर छापिरहन्थे । लामा पुस्तकलाई प्रसादको रूपमा बाँड्थे । शिष्य-शिष्याहरू दिनभर स्तूपको छेउमा गएर छाप्ने काम गर्थे, मचाहिँ उनीहरूको कोठामा एक्लै बसिरहन्थेँ । मेरो साथमा अंग्रेजीमा लेखिएको तिब्बती भाषा सिकाउने किताब थियो, म त्यही पढिरहन्थेँ ।

केही दिनमै डुक्पा लामाका बहिनी, भान्जी र छ-सात वर्षको भान्जोसँग मेरो घनिष्ठता बढ्न थाल्यो । हामी घरको बीचको तलामा थियौं । माथिल्लो तलामा दिवंगत चिनियाँ लामाकी सुन्दरी पुत्री बस्ने गर्थिन् । यिनी विवाहिता थिइनन् र यिनलाई मन पराउने थुप्रै थिए । एक दिन म कोठामा चुपचाप बसिरहेको बखत एक नेपाली युवाभित्र आएर छेउको आसनमा बसेर मसँग कुरा गर्न थाल्यो । मलाई भित्रभित्रै डर लाग्न थाल्यो । उसलाई के जवाफ दिएँ भन्ने त अहिले सम्झिन्नँ । मलाई अब रहस्य भन्डाफोर हुने भयो र सारा परिश्रम व्यर्थै जाने भयो भन्ने लागिरहेको थियो । तर एकै छिनमा यी युवक तिनै तरुनीसँग भेट गर्न समय कुरेर यहाँ बसेको थाहा भयो । सम्भवतः त्यो समय यी तरुनी अर्कै प्रेमीको साथमा थिइन् । यी युवती पनि मेरोबारेमा राम्रैसँग जानकार थिइन् जस्तो लाग्छ । म आफूलाई लुकाउन जति चिन्तित थिएँ, मेरा भोटिया साथीहरूलाई भने त्यसको एक प्रतिशत पनि चिन्ता थिएन । जसरी यी भोटियाहरूलाई नेपालमा आउन जान केही समस्या थिएन, उनीहरू मेरो बारेमा पनि त्यस्तै ठान्थे । डुक्पा लामा र उनका शिष्यहरूले कति जनासँग मेरोबारेमा कुरा गरिसकेका थिए, त्यो म भन्न सक्दिनँ ।

साँझमा लामाका शिष्यहरू छपाइको काम सकेर फर्केपछि यिनै दुईवटा कोठामा सुत्थे । यहाँ सुत्ने, बस्ने कुरामा स्त्री-पुरुषमा कुनै भेदभाव थिएन । गर्भ नबसेसम्म यहाँ कुनै कुराको कसैले पनि वास्ता गर्दैनथ्यो । शिष्याहरूमा केही तिब्बतका र केही नेपालका थिए । उनीहरूबीच कस्तो हाँसोठट्टा हुन्छ, उनीहरूको एकअर्का बिच कस्तो सम्बन्ध छ भन्ने चासो मलाई थिएन । किताबको पाठ याद गर्दै र यदाकदा तिन–जिन र उसकी आमा तथा दिदीसँग कुरा गरेर दिन बिताउँथे । राति खानपिन सकेर आठ, नौ बजेतिर उनीहरू सुत्न आउँदा म प्रायः सुतिसेको हुन्थेँ । मेरो छेउको टसी-ल्हुन्पोको साथमा बस्नेवाली मध्य-तिब्बतकी थिइन् । त्यसैले मौका मिलेसम्म म यिनीसँग कुरा गरेर आफ्नो भाषा सुधार्ने प्रयास गर्थें । यहाँ एक महिना बसुन्जेल भाषा बुझ्नमा मेरो जुन गतिमा प्रगति भयो, त्यसमा यी कुराकानीले धेरै सहायता दिएको थियो ।

फागुन बित्यो । चैतको गर्मी सुरु भइसकेको थियो । यहाँबाट कहिले हिँड्ने भनेर म दिनदिनै सोध्थेँ । हरेकपटक भोलि-पर्सि भनिन्थ्यो तर हिँड्ने कुरा कसैले गर्दैनथ्यो । अन्तमा एक दिन थाहा भयो रिन्पोछे किँडोल विहार जानेवाला छन् । ठूलाठूला महन्त र अवतारी महन्तहरूलाई तिब्बतमा सम्मानपूर्वक रिन्पोछे भनिन्थ्यो । लामाले कोही कोही गृहस्थ भक्तहरूसँग काशीका पण्डितको बारेमा कुरा गर्न थालेका कुराले मलाई डर लाग्न थालेको थियो । यही कारण केही मानिसहरू मलाई भेट्न आउन थालेका थिए ।

नेपालका गृहस्थ बौद्धहरूमा धर्मासाहु ठूला भक्त र प्रतिष्ठित थिए । यिनीसँग कसैले मेरोबारेमा बताइदिएको रहेछ । यिनी घरबाट बाहिर निस्किँदैनथे र रातदिन पूजापाठमा बिताउँथे । एक दुई दिनका लागि उनीकहाँ गएर बसूँ भनेर उनले खबर पठाएका थिए । लामा र उनका शिष्यमण्डली किमडोल विहार गएपछि रिन्–छेनले मलाई धर्मासाहुको घर लिएर गए । उनको घर काठमाडौं सहरको बीचमा असनटोलमा थियो । हामी साँझतिर निस्केका थियौँ । मेरो अनुहारमा एक महिनादेखि नकाटेको दारी, शरीरमा तिब्बतीहरूले लगाउने रातो चोगा र खुट्टामा तिब्बती जुत्ता थियो । बाटोमा जाँदै गर्दा मतिर हेर्ने हरेक मान्छेप्रति मलाई शंका लाग्थ्यो । महाबौद्धबाट धर्मासाहुको घर एक डेढ माइलको बाटोमा थियो । अरू त खास केही भएन, तर जुत्ताले खुट्टामा घाउ बनायो । धर्मासाहुले मलाई घरको सबभन्दा माथिको चौथो तलामा राखे । उनको स्वागत सुमधुर र सामान्य थियो । मसँग भेटेर उनी ज्यादै खुसी भए । उनले तिब्बतको बारे धेरै कुरा पनि बताए ।

आफू आफ्नै बन्दी

एक दुई दिनपछि म पनि किमडोल विहार गएँ । किमडोल विहार काठमाडौंबाट बाहिर एक माइल जति पर स्वयम्भू महास्तूपको छेउमै थियो । यो विहार सम्भवतः पुरानै हो तर घरहरूचाहिँ प्रायःजसो नयाँ थिए । यहाँ पनि मलाई लामाकै आडको कोठामा राखियो । तर यहाँ मैले दर्शकमण्डलीको अघिल्तिरै बस्नुपर्यो । म एकदमै अत्तालिएँ । हिन्दुस्तानबाट कोही सन्यासी लामाकहाँ आएको र लामाले मेरोबारेमा बताएपछि ऊ मसँग भेट गर्न उत्सुक छ भन्ने सुनेपछि म झन् अत्तालिएँ । त्यहाँको सबै व्यवस्थापन दसरतन साहुले गरेका थिए । मैले उनीसँग आफ्नो अप्ठेरो बताएँ र मलाई भीडबाट पर कतै एकान्त स्थानमा लिएर जान अनुरोध गरेँ ।

यिनले मलाई किमडोलबाट केही पर बगैंचा भएको एउटा घरमा लिएर गए । यो घर एकदमै फरकखालको थियो । धेरै दिनदेखि यहाँ कोही बस्ने गरेको थिएन । म यो घरभित्र एउटा कोठामा बस्थेँ र दसरतन साहु बाहिरबाट ताल्चा लगाएर जान्थे । साँझ-बिहान अँध्यारोमा मात्र म शौच आदि कर्मको लागि बाहिर निस्किन्थेँ । मेरो लागि यो आफैंले रोजेको कैद सजाय थियो । उसो त, मेरो कुनै राजनीतिक उद्देश्य थिएन । तर नेपाल सरकार खतरा मोल्न किन तयार हुन्थ्यो ? अलि अघिदेखि नै अंग्रेजहरू आएर गुप्ती कुरा धुतेर लैजान्छन् र नेपाललाई हडप्छन् भन्ने डर थियो । त्यसै बेलादेखि दक्षिणका मानिसहरूसँग कडा व्यवहार गर्न थालियो । अहिले त नेपालको पाई-पाई अंग्रेजलाई थाहा छ, नेपाल उसकै मुठ्ठीमा छ र उनीहरू मुठ्ठीभित्रै पनि चाहेजति घुमफिर गर्न पनि सक्छन् । तैपनि दक्षिणका मानिसहरूसँग त्यत्तिकै कडाइका साथ व्यवहार गरिन्थ्यो ।
दसरतन साहु असाध्यै धर्मात्मा थिए, साथै उनलाई मेरो अप्ठेरोको राम्रो ज्ञान थियो । उनले कसैलाई पनि म भए ठाउँमा आउन दिएनन् । यो घरमा बसेको पनि पन्ध्र, बीस दिन भैसकेको थियो । लामाको अझै पनि यहाँबाट जाने सुरसार थिएन । लामा यहाँबाट परको हेलम्बु गाउँमा जान्छन् भन्ने मैले थाहा पाएको थिएँ । मैले दसरतन साहुलाई मलाई हेलम्बु पुर्याइदिन अनुरोध गरेँ । काठमाडौंबाट चार–पाँच दिनको बाटो पर पुगेपछि खतरा केही कम पनि हुन्थ्यो । उनले मेरो अनुरोधलाई स्वीकार गरे ।

हेलम्बुको पैदल यात्रा

मैले नेपाली सुरुवाल, दौरा र कालो टोपी लगाएँ । आँखा छोप्नका लागि कालो चस्मा पनि लगाएँ । दसरतन साहुले कपडाको नयाँ बुट दिएका थिए । एक डेढ माइल हिँडेपछि त्यसले खुट्टामा घाउ बनायो । हिँड्न एकदमै गाह्रो हुन थाल्यो तर हिँड्नुको विकल्प थिएन । हामी सुन्दरीजल पुग्यौँ । नेपाललाई प्रकृतिले असाध्य धनी बनाइदिएको छ । तर त्यहाँको शासनको ढाँचा यस्तो छ कि प्रकृतिले दिएको एक प्रतिशत मात्र पनि देशले उपयोग गर्न सके धन्न थियो ! उद्योग धन्दा बढाउनतिर नेपालका शासकहरूको बिल्कुल ध्यान छैन । यो उनीहरूको लागि खतराको कुरा हो, यसमा कुनै शंका छैन ।

सुन्दरीजलबाट पहाड सुरु भयो । एकपछि अर्को पहाड चढ्दै जानु थियो । जुत्ताले खुट्टा खाँदै थियो । त्यसमाथि यतिका दिनसम्म कोठामा बन्दीजस्तै बसेको थिएँ, यसले पनि हिँड्न गाह्रो परेको थियो । म हिम्मतको बलले आफूलाई अगाडि धकेल्दै थिएँ । तर, त्यो हिम्मतले कुनै पनि बेला लक्तो छाडिदिन सक्थ्यो । यही बखत, हट्टाकट्टा शरीरको एक व्यत्ति आउँदै गरेको देखियो । दसरतनले मेरो समस्या बुझेका थिए । उनले आफ्नो बिरामी साथीलाई ज्याला लिएर बोकेर लैजानका लागि कुरा गरे । सायद उसले दोब्बर ज्याला माग्यो । मैले मोलतोल नगर्न र जति भन्छ त्यतिमा मञ्जुरी दिन कानमा भनेँ । कुरा मिल्यो ।

काठमाडौं छोडेको चौथो वा पाँचौ दिन हामी हेलम्बु पुग्यौँ । संसारका सबै पहाडी उपत्यकाहरूले पच्चीसौँ जातिका पृथक् अस्तित्वलाई आफूभित्र समाहित गरेर राखेका हुन्छन् । नेपालमा पनि गोरखा, नेवार, थारू, तामाङ, गुरुङ, ह्योल्मो, शेर्पा आदि थुप्रै जाति छन् । जसरी पहाडले पर्खाल बनेर दुईतिरको पानीलाई मिसिन दिँदैन, त्यसै गरेर जातिहरूलाई पनि मिसिएर एक बन्न दिँदैन । हामी गोरखा, नेवार, तामाङ आदि बस्ती हुँदै अहिले भोटे भाषा बोल्ने ह्योल्मोहरूको गाउँमा आइपुगेका थियौँ ।

नेवार कसरी व्यापारी बने ?

नेपालमा व्यापारकुशल नेवार जाति नै हुन् । नेवारहरू धेरैजसो बौद्ध छन् । डेढ सय वर्षअघि गोरखाका राजा पृथ्वीनारायणले नेपाल उपत्यकालाई जितेर गोरखा राज्यको जग नबसाल्दासम्म नेवारहरू नै नेपालका शासक थिए । यिनै पृथ्वीनारायणका वंशज आज पनि नेपालको सिंहासनमा बिराजमान छन्, तर सय वर्ष जतिअघि राणा जंगबहादुरले पुराना मन्त्री र भारदारहरूको हत्या गरेर शासन हत्याएका थिए । जंगबहादुर आफैं सिंहासनमा बस्ने इच्छा गरेनन् । अहिले पनि गद्दीका हकदार त पाँच सरकार पृथ्वीनारायणका सन्तति नै हुन्छन्, तर उनीहरू एक प्रकारले जंगबहादुरका खलकको पेन्सनवाला बन्दीजस्तै भएका छन् । शासनको सारा शक्ति, सारा धन जंगबहादुरको राणा–सन्ततिको हातमा रहेको छ ।

नेवारहरूको राज्य गोरखालीले खोसेपछि पराजित सबै शासक जातिको जस्तै उनीहरूलाई पनि आरामदायी जीवन बिताउन व्यापारबाहेक अर्को विकल्प बाँकी रहेन । नेवारहरू धेरैजसो व्यापारी हुनुको यही नै एक मात्र कारण हो । नेपालको पहाडी क्षेत्रमा टाढाटाढा दुर्गमभन्दा दुर्गम ठाउँमा पनि एउटा न एउटा नेवारको पसल निश्चितै फेला पर्छ । उनीहरू धेरैजसो बौद्ध धर्मावलम्बी छन् । त्यसैले सीमान्तीकृत जातिहरूसँग मेलजुल गर्न उनीहरूलाई कुनै हीनता भएन । हामी पनि बाटोमा आउँदै गर्दा नेवारकै घरमा बास बस्दै आएका थियौं ।
हेलम्बुका सुन्दरी र हजार मसलाको जिम्बु

यहाँ काठमाडौंको जस्तो गर्मी पनि थिएन । माथितिर देखिने यस स्वर्गीय हरियालीको कोमल स्पर्शले हाम्रा आँखालाई निथ्रुक्क पार्दै थियो । यो सुन्दर दृश्य देखेर मात्र होइन, अब म राजधानीबाट धेरै पर छु भन्ने विचारले पनि मलाई ज्यादै खुसी तुल्यायो । दसरतन साहुले मलाई आफ्नो एक परिचित मित्रको घरमा लिएर गए । ह्योल्मो जाति असाध्यै सुन्दर भूखण्डमा बस्ने मात्र होइन कि उनीहरूमा स्वयंमा पनि सौन्दर्य प्रचुर मात्रामा थियो । खासगरी स्त्रीहरू त उत्पातै राम्रा रहेछन् । उसो त, उनीहरू मंगोलियन भोटिया जातिका हुन् । यो उनीहरूको आँखा र गालामा प्रस्टै देखिन्छ तर पनि यिनीहरूमा हिन्दुहरूको रगत यसरी उचित मात्रामा मिलेको छ कि यिनीहरूका मुख न ज्यादा भद्दा, न त्यस्तो चेप्टो नै देखिन्छ । आँखा पनि प्रशस्तै खुला रहन्छ । गुलाबी रङको त के कुरा गर्नु ? ह्योल्मो सुन्दरीहरूको काठमाडौंको अन्तस्पुरमा अत्यधिक माग छ भने यसमा आश्चर्य केही छैन । हामी जुन घरमा गयौँ, त्यो घरकी घरपटी साहुनी पचास आसपासकी थिइन् । तर पनि यिनको सौन्दर्य ओरालो लागिसकेको थिएन । घरमा यिनको एउटा छोरा र बुहारी थिए । परिवार ठूलो थिएन ।

यो गाउँ समुद्र सतहबाट नौ, दस हजार फिटभन्दा कममा पक्कै पनि थिएन । जाडो याममा चारैतिर हिउँ नै हिउँ हुन्थ्यो होला । म त्यहाँ मे, जुन महिनातिर पुगेको थिएँ । त्यसैले त्योबेला केको हिउँ देखिनु ? घरहरू धेरैजसो दुईतले थिए । तर काठमाडौंमा जताततै देखिनेजस्तो टाउकै ठोक्किने होचा तलाचाहिँ थिएनन् । कोठाका छत पनि काठका फल्याकले छाएका थिए । दसरतन साहु मलाई यसै घरमा छोडेर फर्किए ।
यहाँ धान फल्दैन थियो । तर यहाँबाट एक–दुई दिन तलको बाटोमा धानखेत थियो । पुगिसरी आउनेहरू चामलको भात खान मन पराउँथे । आलु–मुलाको तरकारीसँग भात असाध्यै मीठो हुन्थ्यो । उनीहरू तरकारीमा मसला पनि धेरै हाल्दैनथे तर जिम्बु एक्लैले हजार प्रकारका मसलाको काम दिन्थ्यो । मानिसहरूका घर र शरीर दुवै सफासुग्घर थिए ।

दुई-चार दिनपछि गाउँकी एक वृद्ध भिक्षुणी काठमाडौंबाट आइन् । तिनी पनि डुक्पा लामाकै शिष्या थिइन् र केही महिनादेखि यिनै लामाकहाँ बसिरहेकी थिइन् । यिनको वास्तविक नाम के थियो भन्नेचाहिँ म भन्न सक्तिनँ तर हामी तिनलाई आनीबुट्टी भन्थ्यौं । तिब्बती भाषामा भिक्षुणीलाई आनी भनिन्छ । आनीबुट्टीको आफ्नै घर थियो । आनीबुट्टी गाउँ आएपछि म तिनकै घरमा बस्न थालें । माथिल्लो तलामा खाना बनाउन दाउरा बाल्ने आगेनो थियो । आनीबुट्टीको हातमा खानालाई अमृत बनाउने कला थियो । तिनी मलाई कुनै पनि प्रकारको कष्ट दिन चाहन्नथिन् । आनीबुट्टीको उमेर पचास आसपासको भए पनि कोही तन्नेरीका साथ एउटै घरमा बस्दा कसैले केही भन्ला भनेर तिनी राति एक छिमेकी महिलालाई आफूसँग सुत्न बोलाउँथिन् । हामी दुवैको हकमा यो राम्रो कुरा हो भन्ने मलाई पनि लाग्यो ।

महाबौद्धमा बस्दै गर्दा मलाई तिब्बती भाषा बोल्ने अभ्यास हुने गर्थ्यो । तर किंडोलछेउको सुनसान घरमा बसेको समय म यो अवसरबाट बन्चित भएको थिएँ । आनीबुट्टीको घरमा पनि मलाई तिब्बती बोल्ने अवसर मिलेन । आनीबुट्टी दिउँसो अरू नै काममा व्यस्त रहन्थिन् । त्यसो त, यिनको तिब्बती खासै राम्रो पनि थिएन । गाउँमा तिब्बती बोल्ने अरू पनि भेटिन्थे होलान् भेटिन त तर म पनि उनीहरूसँग ज्यादा हेलमेल राख्न उति चाहँदिन थिएँ । किनभने ज्यादा हेलमेलले रहस्य खुल्ने डर थियो ।

दिक्कलाग्दा दिनहरू

केही दिनपछि काठमाडौंबाट डुक्पा लामाको शिष्यमण्डलीका धेरै व्यक्तिहरू हेलम्बु आए । उनीहरू गाउँभन्दा तलको बुद्ध मन्दिरमा बस्न थाले । त्यहाँ गएर हेर्दा मेरो बालमित्र तिन-जिन पनि भेटियो । भाषा मजबुत गर्ने यस्तो गतिलो मौका म गुमाउन चाहँदिन थिएँ । यद्यपि त्यहाँ बस्दा मेरो खानपिनमा समस्या पैदा हुन सक्थ्यो, तर पनि म आफ्नो झोली-तुम्बा लिएर त्यहीँ पुगेँ ।

अलिअलि वर्षा सुरु हुन थालेको थियो । प्रायः म जंगलमा स्ट्रबेरी खोज्न भनेर जान्थेँ । स्ट्रबेरी थोरै मीठो, धेरै अमिलो हुन्थ्यो । तिन-जिनलाई त्यो खुब मन पथ्र्यो । म उसको लागि स्ट्रबेरी खोजेर ल्याउँथेँ, अनि ऊ मसँग कुरा गथ्र्यो । ऊ तिब्बती भाषा मात्र बोल्थ्यो । त्यो पनि बच्चाको सरल भाषा । तिन-जिनलाई गुरु थाप्दा मलाई धेरै फाइदा भयो ।

डुक्पा लामाका शिष्य-शिष्याहरू यहाँ पनि हाते-कागजमा ‘वज्रच्छेदिका’ छाप्ने काममा व्यस्त रहन्थे । उल्टो अक्षर खोपेको पाटीलाई जमिनमा उत्तानो पारेर राखिन्थ्यो र दुई व्यक्ति त्यसको दुईतिर आमुन्नेसामुन्ने बस्थे । एउटाचाहिँ मसी पोतेको कागज पाटीमाथि राख्थ्यो र अर्को कपडा बेरेको लाठीको रोलर दुवै हातले थिच्दै त्यसमाथि रगड्थ्यो । त्यहाँ त्यस्ता आठ-दस रोलर दिनभरि चलिरहन्थे ।

उत्तरतिर दुई-तीन माइलको दूरीमा देवदारको जंगलको बिच एउटा सानो कुटीमा सेतो झन्डा फहराइरहेको हुन्थ्यो । त्यहाँ कोही वनवासी लामा तपस्या गरिरहेका थिए । गाउँको अर्कोपट्टि माथितिर एउटा मठ थियो । त्यहाँ एक लामा भजन गाइरहन्थे । गाउँबाट धेरै टाढा भएकाले जंगलवाला लामाकहाँ धेरै मानिसहरू जाँदैनथे । तर भजनवाला लामाकहाँ भने दर्जनौं महिलाहरू भजनमा सामेल हुन्थे । ती लामा प्रायःजसो बोधिसत्व अवलोकितेश्वरको व्रत गराउँथे । यो व्रतमा अर्ध उपवास बस्नुपथ्र्यो, केही हजार मन्त्र जप गर्नुपथ्र्यो र हजारौंपटक साष्टाङ्ग दण्डवत् पनि गर्नुपथ्र्यो । म एक दिन त्यहाँ गएँ । अब मलाई कोही दोभाषेको जरुरी पर्दैन थियो । म राम्रैसँग तिब्बती बोल्न सक्थेँ । लामा अलिअलि पढे–लेखेका थिए र स्वभावतः झनै राम्रो थियो । मलाई यिनले त्यहीँ खाना पनि खुवाए ।

म बसेको ठाउँमा त बिसौं दिनदेखि बिहान मडुवा वा मकैको पिठोको नुनिलो सुक्खा हलुवा खान पाइन्थ्यो र साँझमा यसैको पातलो खोले । चिया पनि नुनको काँढा मात्र हुन्थ्यो । कहिलेकाहीँ त मलाई दिक्क पनि लाग्थ्यो । तर म जाने बुझेरै यो स्थितिमा फँसेको थिएँ । कहिलेकाहीँ मलाई गाउँ गएर अलिकति चामल, आलु, मुला, प्याज र मक्खन लिएर आउँ भन्ने पनि लाग्थ्यो । तर जबसम्म मेरा साथीहरू मडुवा-मकै खाइरहेका हुन्थे, तबसम्म मैले आफ्ना लागि विशेष व्यवस्था गर्न हुँदैन भनेर म चुप रहन्थेँ । मलाई थाहा थियो डुक्पा लामा यहाँ भएका भए छप्पन भोग लाग्थ्यो र त्यो समय म लामाकै भान्सामा सामेल भएको हुन्थेँ । तैपनि मैले यिनीहरूसँगै बसेर खाने निर्णय गरेँ । साथमा तिन–जिन थियो र नजिकैको जंगलमा जताततै स्ट्रबेरी भएकाले मलाई दिन बिताउन कुनै गारो थिएन ।

म कहिलेकाहीँ मानिसहरूको हात पनि हेरिदिन्थे । त्यो साधारण बुद्धिको कुरा थियो । म खुब विचार गरेर उनीहरूको बारेमा भविष्यवाणी गरिदिन्थेँ । आफ्नै मण्डलीका भिक्षु–भिक्षुणीहरूको हात हेर्नेसम्मको कुरा त ठीकै थियो । उनीहरू पटकपटक हात देखाएर थाक्दैनथे, भिक्षुणीहरू त अझ बढी नै देखाउँथे । एक दिन त के भयो भने म हेलम्बु आउँदा पहिलोपटक बसेको घरकी बुहारी पनि हात देखाउन आई । ऊ बाइस–तेइसवर्षे स्वस्थ सुन्दरी थिई । उसको श्रीमान् चार-पाँच वर्षले कान्छो र दुब्लो-पातलो युवक थियो । ऊ विशेषगरेर आफ्नो हातमा छोराछोरी लेखेको छ कि छैन भन्ने जान्न आएकी थिई । उसको हात हेरिदिन एक भिक्षुणीले मसँग असाध्यै अनुनय विनय गरेकी थिइन् । मलाईचाहिँ हात हेर्ने कामसँग झर्को लाग्न थालिसकेको थियो । उता भिक्षुणी हातखुट्टा जोडेर मसँग बिन्ती गर्न लागिन्, ‘यसका सासू–ससुराले यसलाई बाँझी ठानेर छोराको अर्को विवाह गरिदिन खोजिरहेका छन्, तपाईंले यसको हात हेरिदिनैपर्छ ।’ मैले हात हेरेर भनिदिएँ, ‘छोराको योग छ, यदि छोरा भएन भने यिनको कारणले नभएर यिनका लोग्नेको दोषले गर्दा हुँदैन । युवती सन्तुष्ट देखिई । तर उसको समस्या यत्तिकैमा समाधान हुनेवाला कहाँ थियो र !


डाँडैडाँडा कुतीको बाटो !

म काठमाडौंबाट हेलम्बु आउँदा डुक्पा लामाले मलाई आफू पनि हेलम्बु आउने र मलाई साथ लिएर तिब्बत जाने निश्चित वचन दिएका थिए । म यही आशामा दुई महिनाभन्दा बढी समयदेखि यिनको फेर समातेर बसिरहेको थिएँ । काठमाडौंबाट बेलाबेला जो मानिस आउँथे, उनीहरू पनि लामा चाँडोभन्दा चाँडो यहाँ आउनेवाला छन् भनेर बताउँथे । एक दिन साँझ लामाका दुई चेला आएर लामा काठमाडौंबाट सोझै कुतीतिर लागिसके भन्ने बताए । सुनेर मेरो मुटु टक्क अडियो । म जुन हाँगामा ढुक्कले बसिरहेको थिएँ, त्यही हाँगो भाँचिएर जमिनमा बजारिएको थियो । अब के गर्नु पर्ला ? एकै छिनमा मैले उनीहरूलाई आफू पनि भोलि नै यहाँबाट कुतीतिर लाग्ने निर्णय गरेको सुनाएँ । मलाई बाटो पनि थाहा थिएन, कोही साथी पनि थिएनन् । मेरो यस्तो निश्चय सुनेर उनीहरूलाई आश्चर्य हुनै पर्थ्यो ।

त्यही रात म र मेरा साथीहरू मिलेर कुतीसम्मको लागि साथी खोज्ने प्रयास र्गयौं । तर कोही पनि फेला परेन । विहान म मन्दिरको पुजारीकहाँ पुगेँ । यो समय नून ल्याउने समय थियो । तिब्बतको खारी तालबाट जम्मा गरेको नुन मानिसहरू याकहरूलाई बोकाएर कुती पुर्याउँथे, र नेपालका पहाडीयाहरू चामल र मकैको पिठो पिठ्युँमा बोकाएर नुनसँग साट्नको लागि कुती पुग्थे । पुजारी भन्न लाग्यो, ‘मलाई नुन लिन त जानैपर्छ तर बाली भित्र्याउन अझै दस, पन्ध्र दिन बाँकी छ । यदि अहिल्यै म हिँडें भने मेरो खेती बरर्बाद हुन्छ ।’ मैले अनुरोध गरेँ, मेरा मित्रले सम्झाए र फेरि म दोब्बर ज्याला दिन पनि तयार भएँ । अन्ततः यिनी मसँग जाने भए । त्यही दिन एक प्रहर दिन चढिसकेपछि हामी दुई हेलम्बुबाट बाटो लाग्यौँ ।

तपाईको प्रतिक्रिया