दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
पर्वत

पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि १७ वर्षदेखि फरार सूचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुश्माबाट पक्राउ ग¥यो । पर्वत जिल्लाको फलेवास नगरपालिकाकी ५० वर्षीया क्षेत्रीलाई कुश्माबजारमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यस्तै सर्वोच्च अदालतले वि.सं. २०६० मै दोषी ठहर गरे पनि पक्राउ पर्न नसकेकी क्षेत्रीले दुई वर्ष पाँच महिना पाँच दिन सजाय भुक्तान गर्न बाँकी भए पनि पक्राउ परेकी थिइनन् ।

सवारी ज्यान मुद्दामा अदालतबाट विसं २०६७ मा दोषी ठहर भएका मोदी गाउँपालिका–६ तिलहारका ३५ वर्षीय दीपेन्द्र सुनार पनि १० वर्षपछि पक्राउ परे । पर्वत जिल्ला अदालतबाट एक वर्ष ११ महिना दुई दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भए पनि लुकीछिपी बस्दै आएका क्षेत्री र सुनारजस्तै लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको हो ।

बैकिङ कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट विसं २०७६ वैशाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० वर्षीय कृष्णबहादुर कार्कीलाई पनि उनकै घरबाट पक्राउ गरेको छ । बुटवलबाट घरमा आई लुकीछिपी बसेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सूचीमा रहेका छ पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका दुई पक्राउ परेका छन् । लागुऔषध, बैकिङ कसुर, भ्रष्टाचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका एक–एक, झुटो विवरण पेश गरी नागरिकता लिएका दुई तथा जालसाज मुद्दाका तीन जना प्रतिवादी पक्राउ परिसकेका छन् ।

पर्वत प्रहरीले यस अवधिमा पक्राउ गरेका फरार प्रतिवादीबाट पाँच वर्ष तीन महिना दुई दिन कैद र ११ लाख ४८ हजार १०० रुपैयाँ जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए ।

अदालतबाट दोषी ठहर भए पनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अपराधका घटनाले प्रोत्साहन पाउँदै आएका छन् । साजय पाएका व्यक्ति खुला हिँड्दा निरपराध मानिसको मनोवलसमेत खस्कने गरेको छ । पर्वत जिल्लामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित

यस वर्षको मनसुन शुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा नौ जनाको ज्यान गएको थियो ।


जेठ ३१ राति पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको थियो । पहिरोले तीन घरमा प्रत्यक्ष असर गरेकामा कमला विक र तुलबहादुरको घरपरिवारका सबैको ज्यान गएको थियो । त्यस्तै भदौ २९ गते फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ । घरमाथिबाट आएको पहिरोले मुडिकुबाका इन्द्रजित विकको घर पुरिँदा उनकी तीन वर्षीया नातिनी ऋतिका विकको मृत्यु भएको थिइन्। पहिरोमा परी ऋतिकाकी आमा सेती विक र अन्य दुई जना सामान्य घाइते भएको थियो ।

पहिरोमा परी जिल्लाभर झण्डै २५ घर पूर्णरूपमा विस्थापित बनेका छन् भने १०० भन्दा बढी घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जसमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैँयु गाउँपालिका र जलजला गाउँपालिकाका निजी घर पहिराले क्षति पुर्याउनुका साथै बस्ती जोखिममा छन् । पहिराका कारण कुश्मा नगरपालिका खुर्कोटमा ५० घरधुरी र फलेवास नगरपालिका कुर्घालगायत २५ वडाका केही घरधुरी जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने प्रजिअ रेग्मीले बताए । प्रजिअ रेग्मीका अनुसार जिल्लाका जोखिमयुक्त ठाउँ र जिल्लामा विपद्बाट पुगेको क्षतिका बारेमा विपद् व्यवस्थापन समितिको बैठक बसी मन्त्रालयमा पठाइसकिएको छ ।

जेठयता जिल्लामा हालसम्म बाढीपहिरोबाट ज्यान गुमाएका तथा आवासविहीन बनेका परिवारलाई गरी १९ लाख ९३ हजार रुपैयाँ राहत वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रका पर्वतका लेखापाल यामनाथ पौडेलका अनुसार घर पूर्ण क्षतिमा परेर विस्थापित बनेका २५ परिवारका लागि एकमुष्ट आठ लाख ९१ हजार रुपैयाँ, पहिरोबाट ज्यान गुमाएका मृतक परिवारलाई एकमुष्ट ११ लाख रुपैयाँ राहत वितरण भएको छ । उनका अनुसार गण्डकी प्रदेश सरकारबाट प्रतिमृतक व्यक्तिलाई ५० हजार रुपैयाँका दरले पाँच लाख रुपैयाँ वितरण भएको छ । ढीपहिरोपीडितलाई अन्य सामाजिक सङ्घसंस्थाबाट पनि सहयोग सामग्री प्राप्त भएको थियो ।

तपाईको प्रतिक्रिया