सर्लाहीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्ववियुद्वारा शुक्रबार अन्तरक्रिया गरेको छ । क्याम्पस व्यवस्थापन समिति, विद्यार्थी र स्ववियुबीच भएको अन्तरक्रियामा क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक संरचना, क्याम्पसले दिने सेवा, यातायात, लाइब्रेरी विषयमा केन्द्रित रहेका थिए ।
छलफलमा विद्यार्थीले आआफ्ना समस्या राखेका थिए । समस्यालाई सम्बोधन गर्दै क्याम्पस व्यवस्थापन, क्याम्पस प्रमुख, जनप्रतिनिधि र स्ववियुले जवाफ दिएका थिए । विद्यार्थीले क्याम्पस बसको रुटको विषयमा, पुस्तकालय, क्यान्टिन, शौचालय, शिक्षक र विद्यार्थी नियमित कक्षा आउने नआउने, छात्रवृत्ति, परीक्षा लगायतका विषयमा समस्या रहेको बताएका छन् ।
स्ववियु सभापति प्रज्वल ढुंगानाको अध्यक्षतामा भएको अन्तरक्रियामा व्यवस्थापन समिति अध्यक्ष बासुदेव निरौला, वडा नम्बर १० का वडाध्यक्ष शम्बु मैनाली, व्यवस्थापन समितिका कोषाध्यक्ष श्यामबाबु कार्की, अनुगमन समितिका संयोजक चुडामणि वाग्ले, लेखा संयोजक बिदुर प्याकुरेल, क्याम्पस प्रमुख हरिलाल मैनाली लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए ।