व्हारिस्हुङ : जमिनलाई दिइने बलिपूजा

खोजराज गोले लेखक/अध्येता
काठमाडाैं

उठान

तामाङहरु ख्रेला (माघ-फाल्गुन) छेपा ङा (वसन्तपञ्चमी)लाई जमिनमा वीज रोपणको आरम्भ वा खेतीकिसानी आरम्भको दिनको रुपमा लिन्छन् र पहिलो बालीको रुपमा एक सुर्का भए पनि बारी वा खेत खनजोत गरी मकै छरेर खेतीपातीको आरम्भ गर्छन् ।

खेतीपातीको क्रममा हुने जमिनको खनजोत वा धर्तीको दोहन प्रकृतिमैत्री हुनु पर्ने मान्यता तामाङहरुको रहिआएको छ । प्रकृतिका विपरित गएमा अनिष्ट र प्रकोप आइपर्ने विश्वास गर्छन् । यद्यपी खनजोतको क्रममा गल्ती हुन सक्ने कुरालाई पनि स्वीकार्छन् उनीहरु । जमिनको खनजोत वा धर्तीको दोहनमा जानअन्जान हुन जाने गल्तिको परिणाम अतिवृष्टि, अनावृष्टि वा असिना र आँधीहुरी बेहोर्नुपर्ने, सलह, मुसा, बदेँल, दुम्सी तथा बाँदर जस्ता वन्य जन्तुहरु लाग्न सक्ने र मानिस तथा पशुपंक्षीमा समेत अनेक रोधव्याधि वा महामारी आईपर्न सक्छन् भन्ने गरिएको छ । त्यस्ता सम्भावित अनिष्टहरू आइनपरोस् भन्नका लागि नम्दुङ (चैत-बैशाख) मा सेरकेम गरी प्रकृतिप्रति श्रद्धाभाव प्रकट गर्दछन् । सेरकेमले अब पूजाआजाको क्रम शुरू भयो र बाँकी क्रमशः पूरा गर्दै जानेछौं भनेर सूचित गरिएको हो ।

त्यसपछि दुगु ङ्ह्य (बैशाख-जेठ पूर्णिमा)का दिन ह्युल्जे (भूमिपूजा) गर्दछन् । ह्युल्जे मकैलगायत त्यसपछिका सबै अन्नबाली साथमा पशुपंक्षी र मनुष्यका सुरक्षाको कामनासहित गरिने वृहत र सामुहिक पूजा हो । गोने ङ्ह्य (जनै पूर्णिमा)मा पहिलो बाली नयाँ मकै पाकेपछि स्थानीय प्राकृत शक्तिहरू ज्योहो-ज्योमोलगायत घरका देवीदेवता फोला-डाला (कुलदेवता-युद्धदेवता)लाई चढाएपछि मात्र मानिसले सेवन गर्छन् । तिनलाई नचढाइकन मानिसले खाएमा प्राकृतिक तथा वन्यजन्तुका प्रकोप बढ्ने र मानिसका कान काटिन (कानको पछाडिको भागमा खटिरा आउन) सक्ने विश्वास तामाङहरुमा रहिआएको छ । तर यान्दे (भदौ-असोज)मा मकै भाँचिसकेपछि पनि बारीको देउतालाई चढाउन भने बाँकी नै हुन्छ । त्यसका लागि करेसाबारीको निश्चित स्थानका पाँच, दश बोट मकै सुरक्षित राख्छन् । सोही स्थानमा व्हारिस्हुङ गर्ने गरिन्छ । गोनेङ्ह्यादेखि म्हेनिङअघिसम्म गरिने पूजामध्ये व्हारिस्हुङलाई मुख्य पूजा मान्दछन् ।

शाब्दिक अर्थ

तामाङ भाषामा ‘व्हारि’को अर्थ ‘बारी’ र ‘स्हुङ’ले ‘बलि’ दिने कार्य वा पूजालाई जनाउँदछ अर्थात् ‘व्हारिस्हुङ’ भनेको बोलचालको भाषामा बारीको पूजा भन्ने हो । यसप्रकार वसन्तपञ्चमीका दिन वीज रोपण गरी नाम्दुङमा उन्नत फसलको कामना सहित सेरकेम र दुगु ङ्ह्यमा ह्युल्जे गर्दै सफल पारिएको मकै बाली गोने ङ्ह्यमा ज्योहोज्योमो र घरका देवीदेवतालाई चढाएर मात्रै पूर्ण हुँदैन, पूर्णताका लागि ‘व्हारिस्हुङ’ अनिवार्य मान्दछन् । त्यसपछि पनि म्हेनिङमा ‘खेप्पास्हुङ’को ब्राङ्गि (मण्डप)मा ‘स्हिने’ (मकैका दाना) चढाएपछि मात्रै नयाँ मकै चढाउने कार्य सम्पन्न हुन्छ । त्यसो त तामाङहरुले विभिन्न अन्नहरु विभिन्न देवीदेवताहरुलाई अवसर विशेषमा चढाउने नै गर्छन् ।

‘व्हारिस्हुङ’लाई ‘ज्योहोस्हुङ’ पनि भन्दछन् । हरेक तामाङ गाउँमा कुनै न कुनै ‘ज्योहो’ स्थापित गरेका हुन्छन् । ‘ज्योहो’ बिना कुनै पनि गाउँ बस्ती तथा खेतीपातीयोग्य बन्दैनन् भन्ने गरिएको छ । स्मरणीय तथ्य ‘स्हुङ’ शब्दलाई कतिपयले ‘सुङ’ उच्चारण गर्ने गर्नाले अर्थान्तरण पनि हुन गएको छ । यहाँ ‘स्हुङ’ले पूजा वा बलिपूजाका लागि पानीपारेर राखेका कुखुरा आदि बलिदिने प्रसङ्गलाई जनाउँछ तर ‘सुङ’ले चाहिँ मुख भन्ने अर्थ दिन्छ ।

व्हारिस्हुङसँग सम्बन्धित शक्तिहरू

(क) ज्योहो : ज्योहोस्हुङसमेत भन्ने गरिएको व्हारिस्हुङको बेला चालिसे माबारको अभ्यासमा मुख्यतः ‘डाप्साङ सेलेफोङ्गि ज्योहो’को पूजा गर्छन् । यो नाममा प्रयुक्त ‘डाप्साङ’ले स्थान विशेष साथै ‘सेलेफोङ्गि’ले ज्योहोको नामलाई बुझाउँदछ । हाल आएर ‘डाप्साङ’ नामक स्थान कहाँको भनेर स्पष्ट गर्न सकिएको छैन । उल्लेखित गाउँका गोले ह्रुइका तामाङ काभ्रेको दाप्चा क्षेत्रबाट पुगेका हुन् । त्यसो त दाप्चा क्षेत्रलाई नै ‘दाप्चोङ’ पनि भन्ने गरेको देखिन्छ र धादिङको सेमजोङमा पनि ‘डाप्जोङ’ नामक स्थान रहेको छ ।

(ख) रक्सि ङ्याल्मो : व्हारिस्हुङमा स्थानीय रक्सि र ङ्याल्मो (वनझाँक्री र वनझाँक्रिनी)लाई पनि बलि चढाउँछन् । रक्सि र ङ्याल्मो साह्रै शक्तिशाली हुन्छन् । रक्सिले चाहेमा चोखो मन भएका साना वा योग्य व्यक्तिलाई आफ्नो गुफामा लग्छन् र बोम्बो (झाँक्री) मन्त्र सिकाएर जहाँबाट लगेको त्यहीँ फर्काएर छोड्छ । मान्छेलाई झाँक्री मन्त्र सिकाउन लाने बेला ङ्यल्मोले मानिसको मासु खाने रहर गर्ने तर रक्सिले नदिन कुरा तामाङ झाँक्रीमाझ रहिआएको छ । त्यसरी सिकेर बनेका झाँक्रीले आफूलाई वनझाँक्री भएको दाबी गर्छन् । रक्सि र ङ्याल्मो रिसाएमा मानिस तथा पशुहरूलाई भीरतिर घोक्र्याउँदै पुर्याउने र लडाउन पनि सक्छन् भन्ने जनविश्वास पाइन्छ ।

(ग) सर्म : कतिपयले पूजाक्रममा सर्म (मानिस तथा पानी र आगोलाई समेत कक्रक कुक्रुक पार्न सक्ने एकदमै शक्तिशाली शक्ति)लाई पनि बलि दिन्छन् । तिनलाई पूजामा सार्चि (अम्रिसो) र सिङ्गारा (कटुस प्रजातिको वनस्पति)को पनि प्रयोग गर्दछन् । फल बिरुवाका सुरक्षार्थ अम्रिसोको मुनालाई क्रस गरी बाँधेर यसलाई जगाएर राख्ने प्रचलन अझै देख्न सकिन्छ । त्यसरी राखिएको रुखलाई छुनासाथ कक्रक कुक्रुक पर्छ भन्ने विश्वास हुनाले जो कोहीले छुने आँट गर्दैनन् ।

पूजाको तयारी

पूजा गर्ने दिन बिहानै घर आँगन लिपपोत गर्दछन् । यो कार्य महिला वा पुरुषले पनि गर्न सक्छन् । बुझुको लागि चामल पकाउने र बुझु बनाउने साथै ठिसिङ बनाउने कार्य प्रायः पुरुषको हुन्छ । महिलाले चाहिँ पात गाँसेर टपरी र दुना तयार पार्ने, नाङ्साल (दीप) बनाउने, अक्षता, अबीर र कुदुङ निर्माण गर्दछन् ।

थान निर्माण

सामग्री तयार भइसकेपछि तोकिएको स्थाननेर सफा गर्छन् । त्यही ज्योहोको प्रतीक स्वरूप एउटा चुच्चो परेको लाम्चो ढुङ्गा ठड्याउँछन् । त्यसको फेदमा चेप्टो ढुङ्गा बिछ्याउँछन् । ठडाइएको ढुङ्गालाई ‘लायुङ्बा’ र चेप्टो ढुङ्गोलाई ‘दान्जा’ भन्दछन् । त्यस्तैगरी रक्सि र ङ्याल्मोका पनि फरक फरक प्रतिकात्मक ढुङ्गा ठड्याउँछन् । सर्मको पूजा गर्ने भएमा त्यसको पनि बनाउँछन् । ती ढुङ्गालाई पानीले धोइपखाली गरेर चोख्याउँछन् ।

थान सज्जा तथा लैङ्गिकता

देउताको रूपमा ठडाइएका ढुङ्गालाई चोख्याएपछि दान्जामा अबीरको तीन या पाँच भाग राख्छन् । त्यसपछि डाडो ढुङ्गोको टुप्पोमा एक भाग लगाउँछन् । ह्युम (स्त्री) शक्तिका लागि कुदुङ (चामलको पीठो)ले अबीरको तीन वा पाँच भागलाई पछ्याउँदै ठाडो धर्को लगाउँछन् । ह्यप (पुरुष) शक्तिका लागि भने पाँच भाग अबीर राखेर पाँच वटा ठाडो धर्को कोर्छन् । ती पाँच ठाडो धर्कालाई पुनः तेर्सो चार धर्काले बाँध्छन् । त्यसपछि ठाडो धर्काको टुप्पोमा राखिएका अबीरका भागमाथि अक्षता (धोएर) साना भाग राख्छन् । ठाडो ढुङ्गोको टुप्पोमा राखिएको अबीरमाथि पनि एकभाग अक्षता राख्छन् । धर्का कोरेपछि बीच भागमा पर्नेगरी एक मुठीजति कुदुङ राखेर गोङ्सोर (कुखुराको अण्डा) अड्याउँछन् ।

त्यसपछि भने ठाडो ढुङ्गोको टुप्पो र चेप्टो दान्जालाई समेत काँचोधागोको काटुप (जोनै) दिन्छन् । शुरूमा टुप्पोमा फेरा लगाउँछन् । त्यपछि दायाँबाट घुमाएर बायाँतिरबाट पुनः टुप्पोमा पुर्याएर पाँच डोरो पुर्याउँछन् । त्यसले पुरुप शक्तिलाई इङ्गित गर्दछ । त्यस्तैगरी स्त्री शक्तिलाई भने टुप्पोमा मात्रै तीन वा पाँच डोरो हुनेगरी जोनै दिन्छन् ।

शक्तिका प्रतीक स्वरूप स्थापित थानलाई सजाउने क्रममा तीन या पाँचवटा ठिसिङ (निगालो वा बाँसको सिन्कामा टोटलाको फूल अड्याएर बनाएको पूजा सामग्री) ठडाउँछन् । तिनले पनि पुरुष र स्त्री शक्तिलाई छुट्याइरहेका हुन्छन् । त्यस्तैगरी नयाँ मकैका घोकाहरू पनि राख्छन् । धुपौरोमा भुप्रो हालेर धुपीका टुक्रा हाली धुवाउँछन् । त्यस्तो कार्यलाई साङ भन्दछन् जसले चोखो वा शुद्ध पार्छ भन्ने मान्यता रहेको छ । साङ्सि नगरी सामान्य रूपमा फलाकेर मात्रै गरिने पूजामा भने धुपौरोमा धुपीको सट्टा नौनीको धूप हाल्छन् ।

पूजा सामग्री

व्हारिस्हुङ पूजाका लागि आवश्यक सामग्रीहरू यसप्रकार रहेका छन् :

(१) टपरी, दुनो वा केही पातहरू, (२) अक्षता, (३) अबीर, (४) ठिसिङ (टोटलाको फूललाई सिन्कोमा उनेर बनाएको पूजा सामग्री), (५) धुपौरो र धुपी, (६) दुच्जे (सगुनपोङ र सगुन), (७) कुदुङ (चामलको पिठो), (८) गोङ्सोर (कुखुराको फुल), (९) बुझु (तोर्मो) र एकथान डालो, (१०) जोनै (काँचो धागो), (११) नाङ्साल (दीप), (१२) बुम्बा (पानीको कलश), (१३) शक्तिका प्रतीक निर्माणका लागि आवश्यक ढुङ्गाहरू, (१४) मकै, (१५) सार्चि (अम्रिसो) र सिङ्गारा (कटुस प्रजातिको वनस्पति) (सर्मको पनि पूजा गर्ने भए मात्र), (१६) लिपपोतका लागि गोबर र (१७) बलि चढाउनाका लागि कुखुरा ।

पूजा र बार

यो पूजा गोने ङ्ह्यपछि म्हेनिङको पूर्वसन्ध्यासम्म गर्न सकिन्छ । पूजा जुनसुकै बारमा गर्दैनन् । शुभ तथा सुधो बारका रूपमा मानिएका सोम, बुध वा विहीबार पारेर गर्ने गर्दछन् । खरो मानिएका बारहरुमा गर्दैनन् ।

साङराप भन्ने बित्तिकै विनयपूर्वक गरिने पूजा भन्ने हुन्छ । त्यही भएर पनि खरोको सट्टा शुभ वा सुधो बारमा गर्नु उचित मान्दछन् । त्यस्ता बार अन्नको सह मैत्री हुन्छन् ।

साङराप (पूजाको मुख्य खण्ड)

यो पूजामा करीब बिहानभरि बोम्बोले साङ्सि फलाक्नु पर्ने हुन्छ । साङराप शब्दले चोखो तथा शुद्ध गरी विनयपूर्वक पूजा गर्नु भन्ने अर्थ बोकेको हुन्छ । दैवी तथा सकारात्मक शक्तिलाई विनयपूर्वक साङराप गरेर पूजा गर्ने प्रचलन रहेको छ । यो पूजाक्रममा ज्योहो स्वरूप एकथान ज्योहो बुझु (तोर्मो) राख्छन् । छेवैको डालोमा भने एकथान सोमसोर (तीनसुरे) र तीनथान मन (साधा) बुझु राख्नु पर्दछ ।

बुझुका लागि चामलको भात पकाएपछि मुसल र हातले मुछ्छन् । मुछ्ने क्रममा हल्का तेल पनि लगाउँछन् । तेल खान नमिल्ने कोही रहेछन् भने घिउ पनि लगाउन सक्छन् तर घिउ भन्दा तेल लगाएमा बुझु अझै राम्रो बन्छन् । निश्चित अवसर बाहेक अन्य बेला बुझु बनाउन मिल्दैन । त्यस्तो अवस्थामा गोलाकार डल्ला बनाउन मिल्छ । त्यस्तालाई ‘फोल्दोङ’ भन्छन् । उहिले कतै टाढाको यात्रा गर्नेक्रममा ‘फोल्दोङ’ बनाएर बोक्ने गरेको वृद्धवृद्धाहरू सुनाउँछन् । तेल वा घिउ लगाएर मुछ्नाले सामान्यभन्दा लामोसमयसम्म राख्न र सेवन गर्न सकिन्छ ।

पूजाको मुख्य खण्डमा स्थानीय तथा वरिपरिका विभिन्न शक्तिहरूका नाम लिएर सम्बोधन गर्छन् । तिनीहरूलाई व्हारिस्हुङ पूजाको यो अवसरमा तिमीलाई पनि सम्झेका छौं, गल्ती कमी कमजोरी भएछन् भने पनि माफ गर्नु, रोगव्याधि तथा महामारीबाट मुक्ति दिनु, अन्नको सह दिनु भन्दै अनुरोध गर्दछन् ।

स्याबुइ बुबुइ पिन्बा

साङ्सि सकेपछि पुरुष शक्तिलाई भाले तथा स्त्री शक्तिलाई पोथी बलि चढाउँछन् । बलि चढाएपछि तत्कालै तिनका कलेजा निकालेर पोल्छन् । पोलिएका सम्बन्धित कलेजोलाई चिमोटेर सानो टुक्रा ठाडो ढुङ्गाको शीरमा चढाउँछन् र बाँकी सिङ्गै दान्जाको बीचमा राख्छन् । दान्जामा राखिएका अक्षताका भागमाथि एक एक नाङ्साल (दीप) बाल्छन् । त्यसरी चढाउने क्रमलाई भने ‘स्याबुइ बुबुइ पिन्बा’ भनिन्छ । त्यो क्रम सकिएपछि पूजा समापन हुन्छ । चढाएका फुलको फुटाएर भित्रीभाग निकाल्छन् । बाँकी बोक्रामा थोरै अक्षता हाली घोप्ट्याएर राख्छन् । त्यसरी राखेपछि फुल जस्ताको त्यस्तै अर्थात् सिङ्गै रहेको जस्तो देखिन्छ ।

खाद्य सांस्कृतिक पाटो

हरेक संस्कृति ऊर्जा तथा प्रविधिसँग जोडिएका हुन्छन् । तिनको मुख्य कार्य भनेकै सम्बन्धित पर्यावरणमा मानिसलाई अनुकूलन प्रक्रियामा सहयोगी भूमिका खेल्नु हुन्छ । व्हारिस्हुङले पनि तामाङ समुदायलाई सम्बन्धित पर्यावरणमा अनुकूलन गराउँदै आएको छ । यसप्रकार व्हारिस्हुङ तामाङ खाद्य संस्कृतिको अभिन्न अङ्ग रहेको स्पष्ट हुन्छ । यसले खासमा भदौको बेला मकै बाली भित्र्याएपछि बारीका झारझाडी सफा गरी तोरी लगाउनका लागि तयार पार्न आवश्यक शारीरिक ऊर्जा व्यवस्थापन गर्दै आएको देखिन्छ ।

स्थानीय तामाङ समाजमा व्हारिस्हुङ तथा म्हेनिङमा गरिने खेप्पास्हुङको बेला काटिने भालेको मासु र त्यसको ‘सुन्नि सुप’को विशेष चर्चा नै हुने गर्दछ । व्हारिस्हुङको मासु र सुपलाई शक्ति दिने साथै खेप्पास्हुङकोलाई बर्खामा लागेको ओस वा चिसो निकाल्ने अधिक प्रोटिनयुक्त खानाको रूपमा लिने गर्दछन् ।

पूजामा काटिने कुखुराको मासु अनेकौं थरीका मरमसला हालेर पकाउँछन् । त्यसमा कुदुङ (चामलको पिठो) पनि हालेर सूप तयार पार्छन् । सूपसँग बुझु चोपल्दै खानु स्वादिलो मात्र नभई ऊर्जाको हिसाबले पनि यो निकै राम्रो क्यालोरीयुक्त मानिन्छन् । यसलाई तामाङ मौलिक साथै परम्परागत खाद्य सांस्कृतिक पाटोको रूपमा लिन सकिन्छ । यसले तामाङ पहिचानलाई अझै प्राण भर्ने कार्य गर्दै आएको छ । यो पूजाको बेला कम्तिमा तीन र बढीमा पाँचवटासम्म भाले-पोथी कुखुरा काट्छन् । प्रत्येक घरले आफ्नोमा पूजा गरेको दिन छिमेकका अन्यलाई पनि बोलाएर खुवाउने वा घरघरमै कुखुराका मासु र बुझु पुर्याउने पनि गर्दछन् । त्यसले नाता सम्बन्धमा अझै प्रगाढता थप्ने तथा मनमुटावलाई मेटाउने पनि गर्दछ । पूजा गर्ने क्रममा बोम्बोकी श्रीमतीलाई समेत ‘मामला बो’ (हजूरआमाको भाग) छुट्याउने र पुर्याउने प्रचलन रहिआएको छ ।

लेजली ह्वाइटका सिद्धान्तका कसीमा व्हारिस्हुङ

हरेक समाजको आफ्नै मौलिक संस्कृति हुन्छन् । त्यसो त अन्यबाट आयातित् वा प्रभावित संस्कृति नहुने भन्ने पनि होइन । लेजली ह्वाइटले तिनै संस्कृतिका बारेमा व्यापक अध्ययन अनुसन्धान गरेका छन् । सोही आधारमा उनले केही सिद्धान्त (थ्योरी) निर्माण गरेका छन् । जसले व्हारिस्हुङ जस्ता संस्कृति, चाडपर्व एवं सामाजिक सांस्कृतिक संस्थाका भूमिका र महत्त्वलाई उजागर गर्दछन् । उनका केही सिद्धान्तहरूलाई जोडेर हेरौं जसले हाम्रा पुराना अझै पुरातनवादी साथै अन्धाविश्वासी, अवैज्ञानिक भन्ने आरोप खेपिरहेका संस्कृति तथा चाडपर्व वा पूजामा रहेका वैज्ञानिक पाटोलाई स्पष्ट पार्दछन् ।

ह्वाइटका अनुसार मानिस (समुदाय)ले प्रयोग गरेका शक्ति तथा प्रविधि अनुरूप संस्कृति निर्माण भएका हुन्छन् । जति धेरै शक्ति अर्थात ऊर्जा तथा उन्नत प्रविधिका प्रयोग गरिन्छन् त्यति नै धेरै उन्नत संस्कृति निर्माण बन्छन् । यसैलाई उनले E × T = C (Energy × technology = Culture) द्वारा पुष्टि गरेका छन् । त्यसो त संस्कृतिलाई उनले कुनै पनि पर्यावरणीय अवस्थिति÷परिस्थितिमा बाँच्नाका लागि आवश्यक पर्ने संयन्त्र भनेका छन् । यही तथ्यलाई नबुझेका कतिपयले संस्कृतिलाई नै कुरीति, विकृति तथा पुरातनवादी, अवैज्ञानिक र अन्धविश्वास भएको आरोप लगाउँछन् । असभ्य र अविकासको प्रतीक पनि मान्छन् । मानवशास्त्रीय मान्यतानुसार कोही असभ्य वा सभ्य साथै विकसित र अविकसित भन्ने अवधारणा नै गलत छन् ।

वैज्ञानिक वा विज्ञानसम्मत हुनैपर्छ भन्ने मान्यता सन् १९५० देखि देखापरेको आधुनिकतावादले दाबी गरेको कुरा हो । त्यो मान्यता सन् १९८० हाराहारीसम्म मात्रै चलेको थियो । त्यसपछि उत्तरआधुनिकतावादको आगमनसँग विज्ञानमाथिको विश्वास भत्किन थाल्यो । यो समय मेटामोडनिजमको हो जसले विज्ञानको स्थानमा उत्पत्तिगत पक्षलाई जोड दिन्छ । यसप्रकार विज्ञान मात्रै भन्नु भनेको १९५० तिर फर्केर आउटडेटेड मान्यतालाई टेकेर तर्क गर्नु हो ।

मानिसका जीवन, परिवार तथा समाज सञ्चालनका लागि धनको आवश्यकता पर्छ । यहाँ धनले रूपैयाँ पैसा मात्र नभएर पशु चौपाय, भूमि, कम्पनी, खानी लगायतका यावत् चिजवस्तुलाई जनाउँछ । धन कमाउने रहर सबैमा हुन्छ । लेजली ह्वाइट भन्छन्, बस्तु र त्यसका लागि खर्चिएका श्रम अनुरूप धन वा सम्पत्ति प्राप्त हुन्छ वा निर्माण हुन्छ । श्रमको लागि ऊर्जा चाहिन्छ । ऊर्जाको पूर्ति गर्नाका लागि नै हाम्रा पुर्खाले संस्कृतिका निर्माण गरेका थिए । यसैलाई बुझाउने क्रममा उनले T × L = P (Thing × Labour = Property) सिद्धान्त बनाएका हुन् ।

यसप्रकार मानिसको आवश्यकता पूर्तिका लागि अनेकन उपभोग्य वस्तु चाहिन्छन् । त्यस्ता वस्तुका उत्पादनको लागि ऊर्जाको पनि उत्पादन हुनुपर्दछ । ऊर्जाको जोहो भएपछि प्रविधिगत प्रयोग विधि देखापर्छन् जसद्वारा उत्पादित वस्तुले मानवीय आवश्यक परिपूर्ति गर्दछ । यसैक्रममा उनले E × T = P  (energy involved × technological means of utilization = product or result which serves a need) सिद्धान्त निर्माण गरेका छन् ।

यहाँ उल्लेखित शक्ति वा ऊर्जाले कार्य गर्नसक्ने क्षमतालाई जनाउँछ । यसैलाई तामाङमा ‘बङ’ भन्दछन् । ‘बङ’ अर्थात् बल वा ऊर्जा बिना शरीरले काम गर्न सक्तैन । त्यस्ता ऊर्जा पनि ह्वाइटका अनुसार मानवीय तथा गैरमानवीय गरी दुई प्रकार हुन्छन् । उनी अगाडि लेख्छन्, मानवीय जैविकता वा गैरमानवीय अर्थात् प्रविधिगत स्रोतहरु साथै ऊर्जाको प्रयोग गरिएका मात्राले सम्पत्ति निर्माण/सङ्कलनमा मुख्य भूमिका खेल्छ । यसक्रममा वातावरणीय तत्त्वले पनि भूमिका खेलिरहेको हुन्छ । यसप्रकार सम्पत्ति वा धन वा प्रोपर्टी भन्नाले कूल उत्पादन तथा सांस्कृतिक विकासको सूचाङ्कलाई समेत बुझ्नुपर्ने हुन्छ ।

यसप्रकार सम्बन्धित वातावरणीय प्रतिकूलता बीच अनुकूलनका लागि तामाङ पुर्खाले ह्वरीस्हुङ लगायत अनेकन् रिमठिम (संस्कृतिरकल्चर) निर्माण गरेका भन्ने प्रमाणित हुन्छ । ती कुनै पनि रिमठिमलाई छोड्ने बित्तिकै त्यसले पूर्ति गर्दै आएको आवश्यकीय ऊर्जाको आपूर्ति बन्द हुन पुग्छ । परिणामतः उन्नत संस्कृति निर्माण तथा मानवीय अनुकूलन नै अवरूद्ध हुन बेर लाग्दैन । हुन त, अब बजारमा उपभोग्य बस्तुको विनिमय गर्न सक्छौं । व्हारिस्हुङमा उपयोग गरिने खाद्यद्वारा परिपूर्ति गर्नुपर्ने ऊर्जा बजारबाट खरिद गरिएका वस्तुबाट पनि प्राप्त गर्न सकौंला तर त्यसो गर्नाले पुर्खाद्वारा निर्मित मौलिक साथै परम्परागत संस्कृति समाप्त हुनेछन् । त्यस्ता संस्कृति केवल ऊर्जा पूर्तिको माध्यम मात्रै नभएर मौलिक पहिचानको रुपमा स्थापित भइसकेका छन् । पहिचानको आन्दोलन चलिरहेको यो युगमा आफ्नो संस्कृतिलाई बुझ्न र स्वीकार गर्न नसक्नु पक्कै राम्रो सङ्केत होइन ।

यही तथ्यलाई हृदयङ्गम गर्दै लामो तथा पुस्तौं पुस्ताको अभ्यासबाट खारिएका संस्कृतिहरु निर्माणमा अनेकन् सामाजिक सांस्कृतिक गेन्दुन (संस्था/इन्टिच्यूट)हरूले भूमिका खेलेका हुन्छन् । तामाङको मुख्य चार गेन्दुनहरूमध्ये बोन/बोम्बो पहिलो हो । गेन्दुनको पनि आफ्नै काम, कर्तव्य र अधिकार सुनिश्चित गरिएका हुन्छन् । त्यसो त गेन्दुनले समाजको लागि आवश्यक पोषण, सुरक्षण तथा वंश निरन्तरताको व्यवस्था गर्न सक्नुपर्दछ । यहाँ बोम्बो गेन्दुनले आवश्यक पोषणको व्यवस्था गर्ने क्रममा नै व्हारिस्हुङ संस्कृतिको पनि विकास गरेको स्पष्ट छ । शायद यस्ता संस्कृतिको विकास गर्न नसकेको भए तामाङ समाज अझैपछि पर्नसक्ने थियो होला ।

व्हारिस्हुङले आवश्यक पोषणको लागि नै कुखुराको मासु, सुप र बुझू (तोर्मो)लाई मौलिक खाद्य संस्कृतिको रूपमा स्थापित गराएको हो । ऊर्जाले शरीरलाई चलायमान राखेपछि मात्रै देह तथा समाजको सुरक्षा सम्भव हुन्छ । सुरक्षित वातावरणमा मात्रै सुयोग्य सन्तान उत्पादन वंश निरन्तरता सम्भव हुन्छ । यो कार्यमा बोम्बो गेन्दुन पूर्णतः सबल तथा सक्षम देखिएको छ । यही तथ्यलाई बुझाउनको लागि ह्वाइटले N×P×R = SO (Nutrition × Protection × Repoduction = Social Organisation) सिद्धान्त पनि विकास गरेका छन् ।

टुङ्ग्याउनी

यतिखेर विज्ञान र प्रविधिको जगजगी छ । त्यसो त सूचना प्रविधिको पनि युग भनेका पाइन्छन् । खासमा विज्ञान र प्रविधि बिना कुनै पनि समाज तथा सभ्यताको कल्पना गर्न सकिन्न । यहीँनेर विज्ञान र प्रविधिलाई चिन्ने र व्याख्या गर्ने क्रममा पक्कै पनि समस्या छ । यस्तो बेला आफ्ना मौलिक परम्परागत संस्कार संस्कृतिभन्दा पनि भौतिक विज्ञान भन्नेमा बढी आकर्षण स्वाभाविक छ । तथापि व्हारिस्हुङ लगायतका अनेक रिमठिमहरूमा रहेका विज्ञानसम्मत पाटोलाई केलाउनका लागि लेजली ह्वाइटका जस्ता ज्ञानमय आँखाको आवश्यक पर्दछ ।

त्यही आँखाको अभावमा हामी भड्किरहेका छौं । पुर्खाले हजारौं वर्ष लगाएर निर्माण गरेका रिमठिमहरूलाई मायाको सट्टा घृणा गर्दैछौं । अध्येता लेजली ह्वाइटका जस्ता नजरको विकास गर्न नसक्नाले ङ्हन्बारछिपा (बाह्य)का आँखा सापट लिएर हेर्न बाध्य छौं । त्यसैले अरूका आँखाले हैन पुर्खाले निर्माण गरेका चश्मा लगाएर हेर्ने र बुझ्ने प्रयास गरौं । स्थानीय शक्तिहरूलाई नम्दुङमा सेरकेम, दुगुमा ह्युल्जे, गोने ङ्ह्यमा नवङ्गी चढाएपछि अन्त्यमा समापन गर्ने कार्यक्रमको परिच्छेदको रूपमा ह्वरीस्हुङलाई बुझौं ।

व्हारिस्हुङले मानव देहका लागि आवश्यक ऊर्जाको व्यवस्थापन मात्रै गरेको छैन । यसले सभ्यता विकासको लागि आवश्यक संस्कृतिको निर्माणमा प्रविधिको भूमिका पनि खेल्दै आएको छ । त्यस्तैगरी तामाङ समाजले आत्माभन्दा पनि सेम (नाम्जे÷नाम्से) लाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । आदिवासी भएकोले तामाङ समाजले आदिवासीवादलाई पूर्णतः स्वीकारेको छ । आदिवासीवादमा मानवकेन्द्रवाद हुँदैन । यहाँ चराचर जगतमा रहेका जीवित तथा निर्जीव वस्तु वा अस्तित्वहरू सबै समान मानिन्छन् । तथापि मानिसले ऊर्जा पूर्तिका क्रममा अन्न, दूध तथा मासुजन्य पदार्थका प्रयोग नगरी सकिरहेको छैन ।

मनुष्यलाई अन्यका दूध तथा मासु मात्रै नभएर अन्न पनि खाने अधिकार छैन । त्यसो त केही पनि नखाइ बास्न सकिन्न । बाँच्नकै लागि अन्न, दूध र मासु सेवन उसको बाध्यता हो । यही भएर हरेक पटक मासुजन्य पदार्थको आपूर्तिका क्रममा मारिएका प्राणीका स्याबुइ बुबुइ गर्न आवश्यक ठान्छ । त्यसरी स्याबुइ बुबुइ दिएपछि मारिएका प्राणीका सेम भने, पुनः जीवनचक्रमा आउने वा जन्म लिन नपर्ने स्थानमा पुग्छन् । तिनका मासु साग समान खानयोग्य बन्छन् ।

त्यस्तैगरी खेतीपातीका लागि पनि खनजोत गर्नैपर्ने हुन्छ । खनजोतका क्रममा अनेक दृश्यादृश्य जीवका हत्या हुन पुग्छन् । पाल्साङबज्र लामा भन्नुहुन्छ, एक दाना अन्न उत्पादनका क्रममा लाखौं जीवका हत्या गरिएका हुन्छन् । त्यसरी मारिएका प्राणीका चित्तले उत्पादित अन्नलाई पिरेर बस्छन् । त्यस्ता अन्न सेवनयोग्य हुँदैनन् । त्यही भएर बोम्बोले सेरकेम, ह्युल्जे गर्दै अन्त्यमा स्थानीय शक्तिलाई नयाँ उत्पादित बाली नै नवङ्गी भनेर चढाउँछन् । त्यसरी चढाएपछि उत्पादनका क्रममा मारिएका प्राणीका सेम (चित्त)ले मुक्ति पाउँछन् । पुनःजन्म लिन नपर्ने लोकमा जान सक्छन् । त्यसपछि अन्न सेवनयोग्य बन्छन् ।

यही तथ्यलाई मनन् गर्दै लामाले नाम्दुङ र सोङरातिमा सोइनम् खेल्छन् । आँगनमा उभिएर लामाले डमरु र घण्टी बजाउँदै लय हालेर गाउँछन् । त्यसो गर्नाले सम्बन्धित घरमा रहेका अन्न उत्पादनका क्रममा मारिएका प्राणीका भड्किरहेका सेमले मुक्ति पाउँछन् । तामाङ बौद्ध धार्मिक यिनै विश्वासलाई पनि गम्भीरतापूर्वक बुझ्न जरुरी छ । यसका अतिरिक्त व्हारिस्हुङ जस्ता रिमठिमलाई मौसम अनुसार मानव देहलाई आवश्यक पर्ने ऊर्जाको जोहो तथा व्यवस्थापन प्रविधिको रूपमा पनि स्वीकार गर्न आवश्यक छ । पहिचानलाई मास्ने होइन सगौरव स्थापित गर्ने गराउने मार्गमा लागौं । सुधारको आवश्यकता छ भने सोही अनुरूपको बहस थालौं । अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो पहिचानलाई दरोसँग उभ्याऔं ।

तपाईको प्रतिक्रिया