गाउँपालिकाद्वारा सोलार तथा विद्युतीय सामाग्री प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टमसहित शुक्रबार विभिन्न सामग्रीहरु वितरण गरेको छ ।


चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिका-७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । उक्त वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विद्युतीय मिटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

त्यसैगरी गुणस्तरीय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।

रमाइलो कक्षा संचालनको लागि सो वडामा संचालनमा रहेका केजी र बाल कक्षाहरुमा १२ थान एलइडी टिभी जडान गरिएको छ भने कक्षा-६ देखि १२ सम्म अध्यायनरत छात्राहरुको लागि दुई हजार ८ सय पिस स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् । सो अभियान गाउँपालिकाका सबै वडामा संचालन गरिनेछ । चौबिसे गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया