यकिना अगाधका पाँच लघुकथाहरु

यकिना अगाध कवि/कथाकार
105 Shares
काठमाडाैं

१. परम्परा

यो कथा नेपालको पूर्व दुई नम्बर अवस्थित सिन्धुली गडीडाँडा अदालतको हो । वादी प्रतिवादी बीच मुद्धा चलिरहेको थियो । वादीले प्रतिवादीलाई बिना कारण दुःख दिने नियतले मात्र मुद्धा हालेको थियो । यसले गर्दा प्रतिवादीले वादीलाई राम्ररी नै न्यायको स्वाद चखाउने विचार गर्यो र न्यायधिसलाई भेट्न गयो । उसले न्यायधिसलाई सबै यथार्थ कुराको जानकारी दियो साथै आफूलाई न्याय दिनको लागि सम्झना भइराखुन भनेर छुट्टिने बेलामा न्यायधिसलाई राडी टक्र्याएर हिड्यो ।

वादीले सोच्यो- अहो मैले त त्यसलाई दुःख दिन मात्र मुद्धा हालेको हुँ । भोली त्यसलाई दोषी प्रमाणित गरेर देखाउन सकेन भने समाजमा मैले कसरी मुख देखाएर हिड्नु । यति सोचर उ पनि न्यायधिसलाई भेट्न हिड्यो र आफूलाई जिताइदिन बिन्ति बिसायो । उसले छुट्टिने बेलामा न्यायधिसलाई भर्खरको दुहुनो माली गाई चढाएर हिड्यो ।

फैसलाको दिन आयो । प्रतिवादी ढुक्क थियो उसले नै मुद्धा जित्नेमा । किनकि एक त वादीले फत्तुर मात्र लगाएको थियो अर्को चाहीँ उसले न्यायधिसलाई राडी टक्र्याएको थियो ।

फैसला आउँदा त उ तिनछक्क पर्यो र छागाबाट खसेझैं भयो । प्रतिवादी जीतको अतासबाजी गर्दै फर्किरहेको थियो । न्यायधिस अदालतको कारवाही सकेर क्वाटर फर्किदै थियो । उसले आफ्नो मनको आवेसलाई रोक्न नसकी सोध्यो- सम्माननीय श्रीमान्ज्यू ! सम्झि बक्सियोस् त मेरो राडी । उनको रुन्चे कुरा सुनेर श्रीमान् मुसुमुसु हास्यो र भन्यो- त्यो त गाइले खायो ।

त्यो दिनदेखि आजसम्म नेपालको अदालतमा यही परम्परा चलिरहेको छ ।

२. अलौकिक भाले

एक समयको कुरा हो । एउटा अलौकिक भालेको प्रार्दुभव भयो । त्यो समयमा गाउँगाउँमा आगो हुँदैनथ्यो । रात भगाउन, चिसोमा न्यानो दिलाउन, खाने कुरा पकाउनलागि उ गाउँकाहरुलाई आगो पुर्याउँथ्यो ।

एकदिन एउटा गाउँमा आगो नभएको कुरा उसले थाहा पायो । उ आगो लिएर त्यस गाउँमा पुग्यो । गाउँमा आफूजस्तै कुखुराहरु केही कुरा खाईरहेको देख्यो । उनीहरु खुशीसाथ गाउदै नाच्दै थिए ।

उसले यस्सो चियाएर हेर्यो । तिनिहरु त अरुले बिस्ट्याएको फोहोर खाइरहेको थियो । केही क्षण त उसलाई घृणा लागेर आयो तर आफू जस्तै कुखुराहरु खुशी खुशी भएको देखेर उसको खुट्टा यसै यसै त्यतातिर अघि बढ्यो । उ पनि अरु कुखुराहरुले जस्तै बिस्ट्याएको खाएर कक कक गरी नाच्न थाल्यो ।

त्यो दिनदेखि उसले आफ्नो कर्तव्य बिस्र्यो र बिस्ट्याइ खाएर घुर्यान घुर्यान कुदिरहेको छ ।

३. वैरभाव

दाजुभाइ बीचको झगडा चर्किदै चर्किदै एकदिन सामाजिक कचहरीसम्म पुग्यो । उनीहरु एकअर्काले आफू अन्यायमा परेकाले न्याय पाउनको लागि याचना गर्न थाले । सभाका मान्छेहरु विषयबस्तुमा केन्द्रित हुँदै थियो ।

आफू निर्दोष छु भन्ने देखाउनका लागि दुबै दाजुभाइ एक अर्काको पोल खोलाखोल गरिरहेका थिए । दाजु भन्थ्यो भाइको कुरा झुठ । भाइ भन्थ्यो दाइको कुरा झुठ ।

यसैबीच एकभाइ जुरुक्क उठ्यो । चिच्याउँदै सभाको अगाडि गुप्ताङ्गलाई निर्वस्त्र पारेर देखायो- ‘यि तेरो कुरा !’

हेपाईको सीमा देखेर अर्को भाइ चाहिँ पनि जुरुक्क उठ्यो । रिसको झोँकमा उसले पनि सभाको अगाडि गुप्ताङ्ग देखाएर करायो- ‘तेरिमा बेसरम ! तेरो कुरा पनि यि यही हो…।’

दुबै भाइ नाङ्गिएको देखेर सभा विसर्जन भयो ।

४. चरित्र

यो घरको सासु बुहारी बीच असाध्यै मिल्ति थियो । गाँउघरमा सासु बुहारीको नमूनायोग्य उदाहरण दिनुपर्दा उनीहरुकै नाम अग्रपंक्तिमा हुन्थ्यो । सासु भन्ने गर्थिन्- ‘यो बुहारी असाध्यै असल छिन् । त्यति मात्र कहाँ होर यसले यो घरको संघारमा खुट्टा टेकेकी दिनदेखि लच्छिन नै लच्छिन भित्रिएको छ ।’

बुहारी पनि मख्ख परेर भन्थिन्- ‘मेरो सासुआमै साक्षत देवी हुन् । ममताकी खानी ।’

एकदिन यो घरको कुनै सदस्यले कल्पना नगरेको घटना अचानक घट्यो । छोरो चाहिँले बुहारीमाथि सौता हाल्यो । त्यसको भोलिपल्टै देखि यो घरमा कलह सुरु भयो । सासु चाहिँलाई लाग्यो- पाल्ने मान्छे त छोरो हो । यो बुहारी होइन । बुहारी चाहिँलाई पनि लाग्यो- माया गर्नुपर्ने मूलीले त सौता हाल्यो । यो सासुबुढीको मायाको के अर्थ ?

गाउँभरीका मान्छेको मुखेन्जि सासु चाहिँ भटभटिन थालिन्- ‘यही खराब आइमाइले गर्दा मेरो छोरोले सौता हुल्नु पर्यो । कस्ता अलच्छिना, असति घर भडुवा आइमाइ पालीराख्नु पर्यो नि यत्रो वर्षसम्म ।’

बुहारी पनि के कम ? सासु चाहिँको कटाक्ष गर्न थालिन्– ‘कस्ता राक्षसनी बुढी । यस्ती क्रुर बुढीमान्छे त मैले आजसम्म देखेकी नै छैन ।’

५. लोकलाज

ऊ घिउ विरोधी अभियन्ता थियो । लामै अभियानपछि त्यस टोलमा कसैले पनि घिउ खाएनन् । जताततै उनको तारिफवाला मात्र भए । केही विरोधीहरु त थिए तर उनीहरु पनि आफ्नो अडानप्रति दोधारे अवस्थामा थियो ।

एकदिन घिउ विरोधी सभा चलिरहेकै बेला ती अभियन्ता सभास्थलबाट सुटुक्क हरायो । सहकर्मी, आफन्त, शुभचिन्तक र समर्थकहरु चिन्तित बन्यो । खोज्ने क्रममा उनी सिरक ओडेर लुकिरहेको अवस्थामा भेटियो । जब सिरक खोलेर हेरे सबै तीनछक्क मात्र परेनन्, छाँगाबाट खसेझैं भयो ।

सबैले एकै स्वरमा आश्चर्य प्रकट गरे, ‘महामहिम ! हजुरले यो के गरिबक्सेको ?’

उनले अत्यन्तै सहजपूर्वक जवाफ दियो, ‘देखेनै र ? घिउ खाइरहेको… ।’

(कथाकार आगाधका उक्त कथाहरु ‘ह्रिक्पा’ लघुकथा संग्रहमा तामाङ भाषामा प्रकाशित छन् । कथाहरु नेपाली भाषामा स्वयं कथाकारले अनुवाद गरेका हुन् ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका