साउदीमा थप ३६ जना नेपालीलाई बर्हिगमन भिसा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियामा थप ३६ जना इकामा नबनाइएका तथा नवीकरण नगरेका नेपालीहरुले यस हप्ता पनि बर्हिगमन (एक्जिट) भिसा पाएको छ । उक्त भिसा नेपाली दूतावासको पहलमा पाएको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए ।

श्रम काउन्सेलर राईका अनुसार अहिलेसम्म यस प्रक्रिया शुरु भएदेखि कुल १ हजार ९४ जना नेपालीहरुले भिसा पाइसकेका छन् । स्वयं व्यक्ति उपस्थित हुनुपर्ने यस प्रक्रियालाई लकडाउनपछि दूतावासले ह्वाट्सप लगायत विभिन्न माध्यमबाट आवेदन दिनसक्ने गरि परिमार्जित गरेको श्रम काउन्सेलर राईले बताए ।

विविध कारण नेपाल फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक तथा भिसा सहज र शीघ्ररुपमा प्रदान गर्न साउदी सरकारलाई दूतावासले अनुरोध गरे बमाेजिम सरकारले भिसा प्रदान गरेको श्रम काउन्सेलर राईको भनाइ छ ।


उक्त प्रक्रियाका लागि दूतावासले गत २०७६ पौषबाट शुरु गरेको भएपनि कोरोनाका कारण बर्हिगमन भिसा भने लकडाउनपछि मात्र साउदी सरकारले दिन थालेको श्रम काउन्सेलर जीवनकुमार राईले बताए । उनका अनुसार बहिर्गमन भिसा ( देश छोड्न अनुमति) पाएको नेपालीहरुले ६० दिनभित्र साउदी छोडी सक्नुपर्ने छन् ।

सप्लार्यस कम्पनीमा झन्डै पाँच वर्षदेखि कार्यरत रहेकी ३ सयभन्दा धेरै महिलाहरुलाई दूतावासको पहलमा बर्हिगमन भिसा लगाएर पठाइसकेको काउन्सेलर राईको भनाइ छ । बर्हिगमन भिसा प्राप्त गरेकाहरुले भने रियादबाट हुने नेपाल एयरलाइन्स र दमामबाट हुने हिमालय एयरलाईन्स उडानबाट स्वदेश फर्किन सक्ने श्रम काउन्सेलर राईले बताए । साउदी अरेबियामा आवासीय अनुमतिपत्र (साउदीमा झन्डै ३ लाख २५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यसमध्ये ५ हजार ७ सयको हाराहारीमा महिलाहरु छिन् ।

यहाँ सप्लायर्स कम्पनीहरुले अकामा नबनाउने वा नवीकरण नगर्ने नेपाली श्रमिकहरुको समस्या अत्यधिक छन् । थोरै सप्लायर्स कम्पनीले सेवा, सुविधा दिए पनि थुप्रै कम्पनीहरुले सामान्य मापदण्ड पनि अपनाएको देखिदैन । स्थानीय बिचौंलीहरु (एजेन्ट)ले भने अकामा नवीकरणको समस्या कम्पनी छोडेर भाग्नेहरुले गर्दा आएको भनाइ छ । दूतावासले झन्डै एकवर्ष अघिनै सप्लायर्स भिसा बन्द गरेको बताउदै आएको छ ।

 

तपाईको प्रतिक्रिया