‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक उद्यमशीलताका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले सरकारले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेको बताएका छन् । समाजकल्याण परिषद्द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्को मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औपचारिक जानकारी दिए ।

सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ ‘समाजकल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा दफा २६ को अधिकार’ प्रयोग गरी कोष स्थापना गरिएको हो । परिषद्का अध्यक्ष मन्त्री गुरुङले सामाजिक उद्यमशीलता अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँगाउँसम्म पुर्याउनु पर्ने तथा विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनु पर्नेमा जोड दिए ।

परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले संघसंस्थालाई आत्मनिर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोष जरुरी रहेको बताए । परिषद्ले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोष संयोजक तथा कमलप्रसाद निरौला, डा. रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा. सुनिल चित्रकार, प्रकृति मैनाली र जीतेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया