पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह निर्माण गर्दै

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर- १४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदाह गृह निर्माण अघि बढाउने जानकारी दिए । प्रमुख शाक्यका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुनेछ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड- १९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए ।

कुलेश्वर उद्यान नौ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । करीब एक करोड २० लाख रुपैयाँको लगानीमा निर्माण हुन लागेको वडा नं. १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । ‘कामपाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी उद्यान निर्माणको योजना अघि सारेको छ’, वडाध्यक्ष सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया