दोलखामा क्षयरोगीको संख्या घट्ने अवस्थामा नरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार दोलखामा प्रत्येक वर्ष देखिने नयाँ क्षयरोगीको संख्या बढ्दै गएको जानकारी दिए ।
कार्यालयले उपलब्ध गराएको आर्थिक वर्ष २०६३/०६४ देखि चालु आर्थिक वर्षसम्मको तथ्यांक हेर्दा क्षयरोगीको संख्या घट्न नसकेको देखाएको हो । आर्थिक वर्ष २०६३/०६४ देखि गत २०७४/०७५ अर्थात ११ वर्षको अवधिमा १ हजार ५ सय ७६ जनामा क्षयरोग देखा परेको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ को दोश्रो चौमासिकसम्मको अवधिमा ७४ जना नयाँ क्षयरोगी देखिएका छन् । ४७ जना पुरुष र २७ जना महिलालाई क्षयरोग लागेको हो । क्षयरोगीको संख्यामध्ये पुरुषको संख्या बढि छ । महिलाको तुलनामा पुरुषहरु बाहिरी क्रियाकलापमा सक्रिय हुने तथा क्षयरोगीमध्ये महिला उपचारका लागि नआउने भएकोले पुरुषको संख्या बढि देखिएको हो ।
१५ देखी ४९ वर्ष सम्मको पुरुष तथा महिलालाई क्षयरोग लाग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
आर्थिक वर्ष २०६३/०६४ मा एक सय ४४ जना नयाँ क्षयरोगी देखिएका थिए । आर्थिक वर्ष २०६४/०६५ मा १ सय ३७, ०६५/०६६ मा १ सय ३८, ०६६/०६७ मा १ सय ३३, ०६७/०६८ मा १ सय ४४, २०६८/०६९ मा १ सय ३९ जना नयाँ क्षयरोगी देखिएका थिए ।
त्यसैगरी ०६९/०७० मा १ सय २२, ०७०/०७१ मा १ सय ८, ०७१/०७२ मा १ सय २५, ०७२/०७३ मा १ सय ५०, ०७३/०७४ मा १ सय १०, ०७४/०७५ मा १ सय २६ जना नयाँ क्षयरोगी देखिएका थिए । यो तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय मातहतको निकायमा रहि नियमीत औषधि सेवन गरेका बिरामीहरुको मात्र भएको कार्यालयका क्षयरोग निवारण अधिकृत जितेन्द्र कर्णले बताए ।
क्षयरोग लागेका मध्ये ८५ देखि ९२ प्रतिशत सम्म पुर्ण रुपमा निको भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
क्षयरोगीले न्युनतम ६ महिना वा ६ महिनादेखि २० महिनासम्म नियमित रुपमा औषधी सेवन गरेमा पुर्णरुपमा निको हुन्छ भने क्षयरोगीको उपचार निशुल्क हुने गरेको छ ।
रोगसँग लड्न सक्ने क्षमता कम भएका र क्षयरोगीको आसपास जाने व्यक्तिहरुलाई क्षयरोग लाग्ने सम्भावना हुन्छ ।