दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्वुको गोमटाका १६ घर पहिरोको जोखिममा परेपछि ४ घरमा ८० जना पहिरो पिडित आश्रय लिन बाध्य भएका छन् ।
दोलखा प्रहरीका अनुसार पहिरो पीडितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने क्रममा मार्वुका १६ घरका ८० जना व्यक्तिलाई ४ वटा घरमा राखिएको छ । पहिरो पीडितलाई स्थानीयवासी डम्बरबहादुर गुरुङ, भोज बहादुर गुरुङ, बिन्दा गुरुङ र ललितबहादुर गुरुङको घरमा राखिएको छ ।
घर पहिरोको जोखिममा परेपछि आश्रय खोज्दै एउटै घरमा २६ जना पहिरो पिडित एउटा घरमा बसिरहेका छन् ।
मार्वुका विस्थापित १६ परिवारमध्ये सकबहादुर गुरुङको ८ जना परिवार, ज्ञानबहादुर गुरुङको ७ जना, रामबहादुर खत्रीको ७ जना र तिलकबहादुर गुरुङको ४ जना गरी कुल २६ जना पहिरो पिडित स्थानीयवासी डम्बरबहादुर गुरुङको घरमा आश्रय लिइरहेका छन् ।
त्यसैगरी वडा नम्बर ७ कै जुवारी गुरुङको १० जना परिवार, काले गुरुङको ५ जना, मुलुकबहादुर गुरुङको २ जना, कमलबहादुर गुरुङको ३ जना गरी कुल २० जना पहिरो पिडित सोही स्थानका भोजबहादुर गुरुङको घरमा आश्रय लिइरहेका छन् ।
सुन्दरबहादुर गुरुङको ५ जना, लोकबहादुर गुरुङको ४ जना, प्रेमबहादुर गुरुङको ७ जना, दुर्गबहादुर गुरुङको ३ जना गरी १९ जना बिन्दा गुरुङको घरमा बसीरहेका छन् । भने, उपेन्द्र आचार्यको ४ जना, टहलबहादुर दर्जीको ५ जना, मोहन दर्जीको ४ जना, हर्कबहादुर गुरुङको २ जना गरि १५ जना पहिरो पिडित सोही स्थानका ललितबहादुर गुरुङको घरमा बसिरहेका छन् ।
त्यसैगरी गौरीशंकर गाउँपालिकाको– ६ चंखुका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् । गौरीशंकर–६ का सुर्यबहादुर तामाङका ९ जना परिवार, कृष्णबहादुर गुरुङको ४ जना, रामबहादुर गुरुङको ३ जना, मित्रबहादुर गुरुङको ४ जना परिवार, बिन्दु गुरुङको २ जना, डबल गुरुङको ४ जना, रत्नबहादुर गुरुङको ३ जना र किरण तामाङको ६ जना स्थानीय भुमेगुम्बा माध्यमिक विद्यालयमा बसिरहेका छन् ।
पहिरो पिडित बिरबहादुर तामाङको ६ जना, सुष्पाल तामाङको ५ जना, कमलबहादुर गुरुङको २ जना र नारायण गुरुङको ६ जना परिवार गरि कुल १९ जना पहिरो पिडित छिमेकी वडा नम्बर ७ मार्वुको जयराम गुरुङको घरमा आश्रय लिइरहेका छन् ।
त्यसैगरी सोही स्थानका श्रीबहादुर तामाङको ५ जना परिवार छिमेकी टिकाराम गुरुङको घरमा बसिरहेका छन् ।
घर पहिरोको जोखिममा परेपछि घर छोडी गएका पहिरो पीडितका लागि हालसम्म कुनै राहत सामग्री वितरण भएको छैन । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विस्तावित परिवार साँझको समयमा अन्यत्र बास बस्न जाने गरेको बताए । पहिरो पीडितले माग गरे विपद व्यवस्थापन समितिले त्रिपाल उपलब्ध गराउने उनको भनाई छ ।
पहिरो पिडितले पाएनन् राहत
गौरीशंकर गाउँपालिका– ७ मा शुक्रबार रातिको पहिरोले स्थानीयवासी राजेन्द्र थामीको २ वटा घर र उजेली थामीको एउटा घरमा पुर्ण रुपमा क्षति पुगेको थियो । राजेन्द्र थामीको ट्रयाक्टर सहित, ३ वटा गाई, २३ वटा बाख्रा, ५ वटा कुखुरा र पालन गरेका १ सय ५० वटा माछा, ३७ वटा सुन्तलाको बोट, ५५ वोट अलैची सहितको बाली पहिरोले बगाउँदा करिव ८२ लाख बराबरको क्षति भएको थियो । तर उनीहरु दुवै जनाले हालसम्म कुनै पनि निकायबाट राहत सामग्री पाउन सकेको छैन । गौरीशंकर गाउँपालिका, जिल्ला विपद व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीले बाटोको कारण देखाउँदै हालसम्म राहत वितरण नगरेका हुन् ।