धनकुटाकी एक महिलाले आत्मा रक्षाका लागि खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-१,की ३० वर्षकी कमला गुरुङले आफूलाई बलात्कार गर्न आएको सोही स्थानका लिलाबहादुर गुरुङलाई प्रतिकार स्वरुप खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो ।
लिलाबहादुरले बलात्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । झन्डै डेढ वर्षअघि श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएपछि ११ वर्षका छोरा समेत रहेका ती महिलामाथि मंगलबार राती बलात्कारको प्रयास भएको थियो ।
रातको समयमा मृतकले कमलाको घरमा गई ढोका खोल्न भनेको र ढोका नखोलेपछि ढोका फोरेर आफूलाई बलात्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई बयान दिएकी जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
सोही क्रममा खुकुरी भेटेर हानेपछि लिलाबहादुर भागेका ती महिलाले बताएकी छिन । लिलाबहादुर भागेपछि ती महिला पनि आफन्तकोमा गएर बसेको र रातीको घटनापछि के भएछ भनेर बुधबार विहान आफन्तसँग खोजी गर्दा लिलाबहादुरको शव खोल्सोमा फेला परेको जनाइएको छ । मृतको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी अधिकारीले बताए । उनका अनुसार घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।