‘ताम्बा दर्शन’ माथि केही टिप्पणी

सीताराम तामाङ लेखक/राजनीतिज्ञ
काठमाडाैं

१. पुस्तक प्राप्ति र अवलोकन

लेखकले ‘ताम्बा दर्शन’ पढ्नका लागि मलाई उपहारको रुपमा दिएका थिए । उक्त पुस्तकको शीर्षकले नै मलाई आकर्षित गरेको थियो । राजनीति, लेख र पुस्तक लेखनका कारणले व्यस्त हुँदा ताम्बा दर्शनलाई पढ्न पाएको थिइनँ । मौका मिलेकाले सरसर्ती अध्ययन गरेँ र आफूलाई लागेका केही कुराहरु टिपोट/विमर्शका रुपमा लेख्ने प्रयास गरेको छु ।

अमृत-योन्जन तामाङ भाषाका अध्येताका रुपमा परिचित व्यक्तित्व हुन् । भाषाको अध्ययन गर्दा भाषा बोल्ने समुदायको भूगोल, इतिहास, रीतिरिवाज, परम्परा, भाषा-संस्कृति, अर्थराजनीति, आदिको अध्ययन आवश्यक पर्दछ । त्यसै अध्ययन क्रममा ताम्बा समाजका एक नायक-संस्था ‘ताम्बा’को समाज निर्माणमा रहेको अहम् महत्वको भूमिकालाई ‘ताम्बा दर्शन’को रुपमा लेखकले उभ्याउने प्रयास गरेको पाएँ । ताम्बा दर्शनमा तत्वशास्त्र, ज्ञानशास्त्र, नैतिकशास्त्र र सौन्दर्यशास्त्रलाई प्रमुखता दिनकासाथै ताम्बाका सामाजिक-राजनीतिक दर्शन, भाषा वैज्ञानिक दर्शन, गणित दर्शन आदि विषयलाई पनि लेखनीमा समेटिएको पाएँ ।

लेखकको एउटा थप महत्वपूर्ण पक्ष के छ भने पुस्तकमा उनी शास्त्रीयतामा मात्र अल्झिएका छैनन्, बरु परिवर्तित सन्दर्भमा ताम्बा दर्शनमा थप विकास र तामाङ पहिचानको सङ्घर्षलाई पनि जोडेका छन् । यसबाट तामाङ समाजको गन्तव्यको पनि दिशानिर्देश भएको छ ।

२. ताम्बा दर्शन एक मौलिक दर्शन

लेखकले ताम्बा दर्शनलाई तामाङ जातिको मौलिक दर्शनको रुपमा स्थापना गर्न सकिन्छ भनेर केही तर्क र आधारहरु प्रस्तुत गरेका छन् । सामान्यतः दर्शन भनेको हेर्नु अर्थात् कुनै पनि वस्तुलाई हेर्ने काम; हेराई हो । तर दर्शनशास्त्रको अर्थमा भन्ने हो भने यो एक विश्वदृष्टिकोण हो, विश्वलाई बुझ्ने अर्थात् जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्वहरुको बारेमा चिन्तन गर्ने र रुपान्तरित (नयाँ परिवेशमा) गर्ने सम्भावनाको विश्लेषण गर्ने शास्त्र हो । दर्शनशास्त्रको दुई हाँगा छन्- अध्यात्मवाद र भौतिकवाद । अध्यात्मको अर्थ हो आदि-आत्मा । यो पृथ्वी, जगत् र ब्रह्माण्ड सुरु हुनुभन्दा पहिले आदि आत्मा वा परमात्मा वा ईश्वरको अस्तित्व थियो । त्यसैबाट अरु सबै उत्पति भएको भन्ने विचार नै अध्यात्मवादी चिन्तन हो । शङ्कराचार्य भन्दथे ‘ब्रम्हम् सत्यम् जगत् मिथ्या’ र उनको विचार नमान्नेका विरुद्ध युद्ध नै गर्दथे । भारतमा मात्र होइन, नेपालभित्र पनि पसेर उनले बौद्ध भिक्षुहरुको आमहत्या गरेको इतिहास हाम्रो अगाडि छ (माणिकलाल, २०६८ : ११) । बुद्धधर्म मूलभूत रुपमा ‘अनात्म, अनीश्वर (आत्मा र ईश्वर नमान्ने) भौतिकवादी दर्शन भएकोले अध्यात्मवादीहरुको कोपभाजनमा परेको थियो । भारतका ब्रह्मवादीहरुले (ब्रह्म=ब्रह्मण, आत्मा, ईश्वर, परमात्मा, सत्) भन्दथे ‘जगत् र पदार्थ केही पनि होइनन्, हाम्रो इन्द्रियले मात्र जान्ने कुरा हुन, मानिसको जीवन पछि केही रहँदैन ।’ ती अध्यात्मवादीहरुलाई कक्रुच्छन्द, कनकमुनि र गौतमबुद्धका अनुयायीहरुले मुखभरि जवाफ दिएका थिए ‘मर्न त तिमी मर्छौ, तर तिमी मरे पनि जगत् त रहिरहन्छ । तर जगत् रहेन भने चाहिँ तिमी पनि रहँदैनौ ।’ बुद्धको विचारमा दर्शनको काम ‘मानव–जीवनलाई दुःखबाट मुक्त गर्ने उपाय सोच्ने हो, जीवनसित प्रत्यक्ष सम्बन्ध भएको कुरामा ध्यान दिने हो, जीवन पछिको कुरा, जगत्बाहिरको कुरातिर लाग्ने होइन ।’ (माणिकलाल, उही पृ. १८) । कक्रुच्छन्द, कनकमुनि र सिद्धार्थ गौतमले नेतृत्व गरेको दर्शन भौतिकवाद हो । भौतिकवादी दर्शनले ‘पदार्थ प्रमुख हो, त्यसपछि मात्र विचार आउँछ पदार्थबाट विचारको उत्पत्ति हुन्छ’ भन्ने मान्दछ । भौतिकवादी दर्शन सुरुसुरुको मानिसको चिन्तन थियो । कविलाहरुको इतिहास, प्राचीन मानिस बसेका गुफामा कोरिएका चित्र र प्राचीन अभिलेखको अध्ययन र विश्लेषणबाट आदिम मानिसको सोचाइ भौतिकवादी थियो, आदर्शवादी थिएन भन्ने सिद्ध हुन्छ’ (शिवदास) ।

लेखकले ताम्बाको दृष्टिकोण एउटा ‘विश्वदृष्टिकोण हो र यो दर्शन पदार्थलाई प्राथमिकता दिने प्राकृतिक भौतिकवादी दर्शनको कित्तामा उभिएको छ’ भनेर ठिकै विश्लेषण गरेका छन् । यो ठम्याइ वस्तुवादी छ । यसै ठम्याइको आधारमा उनले पुस्तकको प्रथम खण्डमा ताम्बा दर्शनको परिभाषा र त्यसमा अन्तर्निहित तत्तशास्त्र, ज्ञानशास्त्र, नैतिकशास्त्र, सौन्दर्यशास्त्रका साथै सामाजिक-राजनीतिक, गणित र पहिचानवादी दर्शनबारे पनि आफ्नो दृष्टिकोण दिने प्रयास गरेका छन् । ‘ताम्बा दर्शनलाई तामाङ जातिको (Nation अर्थमा) मौलिक दर्शनको रुपमा स्थापना गर्न सकिन्छ । वास्तवमा यो हिमाली क्षेत्रकै प्राचीन दर्शन हो’ भनेर लेखकले ताम्बा दर्शनलाई चिनाउने जुन प्रयास गरेका छन्, त्यो स्तुत्य छ । यसबाट दार्शनिक चिन्तनका लागि भावी पुस्तालाई बाटो खुलेको छ ।

३. यसमा नखुलेका केही पाटाहरु

(क) वास्तवमा हिमाली क्षेत्रका आदिवासीहरुको प्राचीन दर्शन ‘बोन्बो दर्शन’ हो । बोन्बो दर्शन शिकारी युगको (आदिम समाजको बर्बरचरण) दर्शन हो । नेपालको सन्दर्भमा बोन धर्मपछि बौद्ध धर्म र बौद्ध धर्म पछि हिन्दु धर्म (पहिले वैष्णव र त्यसपछि शैव) भित्रिएको थियो । लिच्छवि शासनको पछिल्लो कालमा हिन्दु धर्मको शैवमत प्रभावित भएपछि भैरुङ (बोन्बो, भैरुङपातीको धुप सुँघ्ने)लाई भैरव बनाएर शिवको एउटा नयाँ रुपमा (a form of deity) व्याख्या गरियो । नेपालबाट बौद्ध धर्मले तिब्बतमा ई. ७ औं शताब्दीमा प्रवेश पाएको थियो । बुद्ध धर्मले तिब्बतमा २०० वर्षसम्म बोन धर्मसँग सङ्घर्ष गरेपछि जन्मेको धर्म ‘लामा धर्म’ हो । यसलाई बोन, ओमकार (शैव) र बौद्ध धर्मको खिचडीको (cross-breed) रुपमा लिन सकिन्छ । यस धर्मलाई बज्रयानीहरुले अघि बढाए । बज्रयान भनेको शून्यवाद हो । शून्यवादलाई व्यवस्थित गर्ने कार्य बौद्ध धर्ममा माध्यमिक धाराका दार्शनिक नागार्जुनले गरेका हुन ‘शून्यवाद… प्रतित्यसमुपादनं’ । यो धाराबाट शङ्कराचार्यको मायावाद ‘ओम’ पनि प्रभावित भयो । शङ्कराचार्यले आपूmलाई प्रच्छन्न बुद्धसमेत भन्न थालेका थिए । तसर्थ बज्र=ओम=शून्य हो । यो शून्यवाद प्रारम्भदेखि नै सामाजिक सङ्कट, निराशा र पलायनको वैचारिक अभिव्यक्तिको रुपमा प्रकट हुँदै आएको छ (किरण, २०६३ः५६) । यो धार्मिक पाटो हो । अर्को पाटो शिकारी युगलाई कृषिले विस्थापित गर्यो, गाउँ–समाजको विकास भयो र गाउँ–समाजलाई व्यवस्थित गर्न ताम्बा दर्शनको आवश्यकता पर्यो-भाषा, संस्कृति, संस्कार र रीतिथितिको निर्माण भयो । तर यो दर्शन सैलुङ केन्द्रित (पूर्व) देखिन्छ । पश्चिमी तामाङ समाजमा ताम्बा दर्शन छ कि वा अन्य कुनै दर्शन (वा विधि)बाट काम चलेको छ ! यस विषयमा ‘ताम्बा दर्शन’ बोलेको देखिँदैन ।

(ख) विश्व-संरचना (universe) ब्रह्माण्ड होइन । हिन्दु दर्शनमा विश्व-संचनालाई ब्रह्माण्ड भनिन्छ । (ब्रहम=ब्राह्मण, विधाता, ईश्वर… आदि) । ब्रहमाण्ड भन्नाले ब्रह्मको अण्डकोषलाई बुझाउँछ । त्यसलाई विश्व-संरचनाको अर्थमा अथ्र्याउन ठिक होइन । त्यसरी नै हिन्दुशास्त्रमा शिवलिङ्गको पनि कुरो आउँछ । ब्रह्मको अण्डकोष र शिवको लिङ्गको पूजा दासयुगको आर्य-पुरुषत्वको उच्च प्रदर्शन थियो । तर दर्शनशास्त्रमा विश्व–संरचना भनेको त्यो संसार हो जहाँ सूर्य र ताराहरुको नेटवर्कको एउटा विशेष प्रकृयाले काम गरेको छ ।

(ग) आदिवासी समाजको आर्थिक उत्पादन कृषि र पशुपालनसँग जोडिएको हुन्छ । अर्को अर्थमा भन्ने हो भने प्रकृतिसँगको अन्योन्यकृयात्मक सम्बन्धबाट नै त्यस बखतको सामाजिक-आर्थिक संरचना बन्दथ्यो । ऐतिहासिक भौतिकवादी सिद्धान्तले यो संरचनालाई आधार ९दबकभ० र त्यसमाथि निर्मित राजनीति, धर्म-संस्कृति, भाषा-साहित्य, आदिलाई उपरिसंरचना ९कगउभचकतचगअतगचभ० मान्दछ । लेखकले उपरिसंरचनाका बारेमा बोलेका छन् (सबै पक्षमा होइन) तर आधारका बारेमा बोलेको छैनन् अर्थात् यसो भनौँ तामाङ समाजको आर्थिक उत्पादन पद्धति कसरी विकास भयो भन्ने विषयमा ताम्बा दर्शनको ध्यान पुगेको देखिँदैन ।


(घ) नेवारी साहित्यमा एउटा भनाइ छ ‘भाषा म्वाई जाति म्वाई’ (भाषा हराउँछ, जाति हराउँछ) । यो भनाइ सबै आदिवासी/जनजातिमा लागु हुन्छ । भाषा जातिको पहिचानको मुख्य आधार हो । राज्यसत्ताले सर्वप्रथम भाषामाथि प्रहार गर्दछ । महेन्द्रवादीहरुले नेपालमा यही काम गर्दै आएका छन् । तर तामाङ आख्खे म्हेमेहरु (पुर्खाहरु) यो विषयमा सचेत देखिन्छन् । ताम्बाले भनेका छन् ‘ग्योत मि म्हेमेला जिन्लाप हिन्, ग्योत मि ह्युल्बाला ग्यान्छा हिन्, राङ्ला ग्योतदा दाख्लागो, ताम्बा म्हाला पाप खाला, धर्म निला रुई निला’ (लामा, ताम्बा व्हाइ) । पश्चगामी राज्यसत्ताले आदिवासी भाषाहरुलाई मास्ने काम गरेको एउटा उदाहरण हेरौँ । हिमाली जातिहरुले, जुन हिमालको चुचुरो पहाडलाई ‘ज्योमोलोङमा’ भन्छन् त्यसलाई राज्यले ‘सगरमाथा’ नामकरण गरेको छ । हिन्दी प्रामाणिक कोश अनुसार ‘सगर’ भनेको रामायणको नायक रामचन्द्रको एक पुर्खाको नाम र ‘माथा’ भनेको टाउकोको माथिल्लो र अगाडि पट्टिको भाग अर्थात् तालु वा मस्तक । यसबाट के प्रस्ट हुन्छ भने ‘सगरमाथा=रामचन्द्रको एक बाजेको तालु वा मस्तक’ । यस प्रकार हिन्दीकरण गरिएका थुप्रै उदाहरण दिन सकिन्छ । यहाँ हामीले बुझ्नु पर्ने के छ भने भाषासँग भूगोल र भूगोलसँग राजनीतिकसत्ता जोडिएको हुन्छ । आजको हाम्रो ताम्सालिङ प्राप्तिको लडाइँ सत्ताप्राप्तिको लडाइँ हो । यसलाई पहिचानको लडाइँ पनि भन्ने गरिएको छ । जनताको राज भएको लोकतन्त्र (Democracy) भए यो लड्न पर्ने लडाइँ थिएन तर भारतीय प्रसिद्ध लेखिका अरुन्धती रोयले Listening to Grasshupper मा भने जस्तो यो ‘डेमोक्रेसी’ भनेको ‘डेमोन क्रेजी’ अर्थात् “राक्षसहरुको राज” भएकोले लड्न परेको हो । जेहोस्, ताम्बा दर्शनले अहिलेको परिवर्तित सन्दर्भमा तामाङ समाजको गन्तव्यको पनि दिशानिदेश गरेर राम्रो काम गरेको छ ।

(४) सुझाव
लेखकले थोरै सामग्रीबाट पनि ताम्बा दर्शनको मार्ग कोर्ने गोरेटो खनेका छन् । तर यो कुरो बुझौं कि ‘दर्शन’ उभ्याउन यसका धेरै पाटामा काम गरिनु पर्दछ, जो बाँकी नै छन् । लेखकको थप प्रयास अपेक्षित छ र अन्य लेखकहरुले पनि यो विधामा पाइला चाल्न सके अमृत ह्योन्जनको होस्टेलाई हैसे मिल्ने कुरामा दुईमत नहोला । लेखकलाई फामनाङ फामनाङ थुजेछे ।

पुस्तक : ताम्बा दर्शन (२०७२)
लेखक : अमृत योन्जन तामाङ
प्रकाशक : चाइल्डस्पेश फाउण्डेशन, नेपाल, काठमाडौं

तपाईको प्रतिक्रिया