साउदी अरेबियामा दैनिक कोरोना भाइरस (कोभिड-१९) नंया संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि घट्नेक्रम जारी छ । यसै क्रममा शुक्रबार ४६८ जना कोरोना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलका अनुसार हालसम्म यहाँ तीन लाख २७ हजार ७९५ जना कोरोना संक्रमित निको भैसकेको छन् ।
त्यसैगरी शुक्रबार ४३३ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म तीन लाख ४१ हजार ४९५ जना कोरोना संक्रमित भैसकेका छन् । ‘ कुल संक्रमितमध्ये ८ हजार ५५६ जनाको साउदीको विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत हुनुहुन्छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ ती उपचाररतमध्ये ८३५ जना बिमारीहरु गम्भीर अवस्थामा रहनुभएको छ ।’
यस्तै साउदी अरेबियामा कोरोनाबाट मृत्यु हुनेमा पनि कमि आउनेक्रम जारी छ । त्यसै क्रममा शुक्रबार १७ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । प्रवक्ता डा.अब्दुलीका अनुसार हालसम्म कोरोना भाइरसबाट यहाँ ५ हजार १४४ जनाले ज्यान गुमाएका छन् ।
साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।
त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये झन्डै ७ दर्जन नेपालीहरुको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।
रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको ‘, उनले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’