खसीबोका प्रतिकिलो ५६० मा बिक्री हुने

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालि दसैंमा प्रतिकिलो ५ सय ६० रुपैयाँमा खसी तथा बोका बिक्री वितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादसैंका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।


निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दस रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार काठमाडौं आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण सुरु हुनेछ । प्रतिकिलो ५ सया ५० रुपैयाँका दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो दस रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौं आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया