परम्परागत ठोस इन्धन वा ऊर्जाको प्रयोगबाट नेपालमा वार्षिक झन्डै २३ हजार व्यक्तिले ज्यान गुमाउने गरेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अध्ययनले यस्तो उल्लेख गरेको हो ।
घरायसी रूपमा खाना पकाउन वा अन्यमा प्रयोग हुने दाउरा, गोबर गुइँठा, कृषिजन्य वस्तु तथा कोइला जस्ता ऊर्जा स्रोतले मान्छेको स्वास्थ्यमा प्रतिकूल असर पर्ने उल्लेख छ ।
पछिल्लो समय नवीकरणीय तथा स्वच्छ ऊर्जा प्रयोगकर्ताहरू बढे पनि यसको गुणस्तरमा विकास हुन नसकेको सरोकारवालाले बताएका छन् । दाउराबाट निस्किने धूवाँ तथा हानिकारक ग्यास मानिसको मृत्युको कारण बन्ने गरेका छन् ।
नेपालमा अझै पनि करिब ८० प्रतिशत जनासंख्याले खाना पकाउन दाउरा तथा गुइँठाकै प्रयोग गर्छन् । ग्रामीण क्षेत्रमा सोलार, वायोग्यास, लघुजलविद्युत आयोजना निर्माण भइरहे पनि विकट दुर्गम क्षेत्रमा यसको पहुँच अझै पुग्न सकेको छैन ।
ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याउन प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर निजी क्षेत्रले केही काम गरेको छ । केन्द्रीय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहयोगबिना दुर्गम क्षेत्रमा आधुनिक ऊर्जा पुर्याउन नसकिने नवीकरणीय ऊर्जा परिसंघ नेपालका अध्यक्ष गुणराज ढकालले बताए ।
स्थानीय तहका प्रतिनिधिलाई समेटेर परिषदले सोमबार काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । ‘निजी क्षेत्रको प्रयासले मात्र दुर्गम क्षेत्रमा काम गर्न सकिँदैन,’ ढकालले भने, ‘परिषदले सुरुवात गरेको छ । यसमा सरकारका निकायले सहयोग गर्नुपर्ने हुन्छ ।’
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले समेत अहिले एसियाली विकास बैंक (एडिबी), विश्व बैंक लगायत विकास साझेदारसँग सहकार्यमा ग्रामीण ऊर्जा विस्तारमा काम गरिरहेको छ । सरकारले आगामी ४ वर्षभित्र हरेक घरमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने घोषणा गरेको छ ।
डब्लूएचओको सन् २०१८ को अध्ययनअनुसार विश्वका करिब ३ अर्ब मानिसले दैनिक खाना पकाउन परम्परागत ऊर्जा (दाउरा, कृषि अवषेश, गुइँठा र कोइला) प्रयोग गर्छन् । यस्तो स्रोतको ऊर्जा प्रयोग गर्दा वार्षिक ४० लाख मानिसको मृत्यु हुने पनि अध्ययनले देखाएको छ ।
नेपालमा परम्परागत ऊर्जा प्रयोगबाट हुने मृत्यु दर घटाउन प्रदेश तथा स्थानीय तहले बढी ध्यान दिनुपर्ने ग्रामीण प्रविधि केन्द्रका वरिष्ठ निर्देशक पुरुषोत्तम श्रेष्ठले बताए । ‘परम्परागत ऊर्जामा जाँदा वन विनाश भई वातावरणमा समेत प्रतिकूल असर परिरहेको छ,’ उनले भने, ‘अब प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरेर निजी क्षेत्रले काम गर्न सक्छ ।’
डब्लुएचओका अनुसार विश्वमा ५ वर्षभन्दा कम उमेर समूहका अकालमै मृत्यु हुने बालबालिका मध्ये ५० प्रतिशत बढी निमोनियाका कारण मर्ने गर्दछन् । निमोनिया घरभित्रको प्रदुषणका कारण फैलिने उल्लेख छ ।
विश्वमा वार्षिक ३८ लाख मानिसले नसर्ने रोगहरू (हृदयघात, मुटुरोग, फोक्सोको क्यान्सर) बाट अकालमा ज्यान गुमाइरहेका छन् । जसलाई घरभित्रको वायु प्रदुषणले फैलन सहयोग पुर्याउने पनि अध्ययनले देखाएको छ ।
अर्कोतर्फ, अत्याधिक परम्परागत जैविक वस्तु उपयोग गर्दा वातावरणीय विनाश र यसबाट उत्सर्जन हुने हानिकारक ग्यास उत्पादन गर्छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयका अनुसार हालसम्म ७७ प्रतिशतले परम्परागत ऊर्जा प्रयोग गर्छन् । र, ३ प्रतिशतले अन्य नवीकरणीय स्रोत (जलविद्युत, सोलार, लघुजलविद्युत) बाट उपलब्ध ऊर्जा प्रयोग गर्ने गरेका छन् ।