संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेको छ । उनले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गरेको समाचारमा जनाइएको छ ।
समाचारमा जनाइए अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यहाँका युद्धरत पक्षहरुलाई आवश्यक मात्रामा युद्ध विराम गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएको हो ।
महासचिव गुटर्रेसले सो बैठकमा भने ‘ अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।’ उनले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि महासचिव एन्टोनियो गुटर्रेसले राखेको थियो । केही महिनाअघि पनि यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन महासचिव गुटर्रेसले अनुरोध गरेको थियो ।
आफूले यस विषयमा पहल जारी राखेको पनि महासचिव गुटर्रेसले सो बैठकमा जानकारी गराएको थियो । आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न भनेको पनि महाासचिव गुटर्रेसले बताए । यमनमा सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हाउथी विद्रोही र सरकारलाई समर्थन गर्ने फौजको संघर्ष जारी छ ।