गाई, गोरु, बहर, बाछा, बाछी

काठमाडाैं


ओ नाना,
ओ… नाना माइलि (माहिली) !

ख्याकुले आस्याङ आमालाई बोलाउँदै हुनुहुन्छ ।

तिक्दा… (किन…) ?? (अलि झर्को मान्दै)

आमा भकारो सोहोर्दै हुनुहुन्छ ।

तिम्रो यो बहर मलाई देउ त नाना
म लगेर पाल्छु ।

न्हाबारि कि ठ्वाक लासि खु स्होबारि ?
(पाल्नलाई कि ठ्वाक पारेर तरकारी बनाउन ?)

होइन है नाना,
पाल्नकै लागि हो
गोठमा एउटा माउ मात्रै भयो ।

त्यसो भए दिउँसो आएर लैजाउ ।

गोठमा एक हल गोरु
दुहुनो गाई, कोरली बाछी, बहर र बाछो थियो ।

आमाले बहर फुकाएर ख्याकुले आस्याङलाई दिनुभो ।


ल्होछार आयो ।
गाउँमा उल्लास छायो ।
आपाले लुङ्दार राख्नुभो
थापसङ गर्नुभो
म्हेमेले सबैलाई टीका राखिदिनु भो
घरभरी पाहुना जम्मा भए
कुथोक, आलुम-भाल्डु, गोरुको सुकुटीसँगै
कोदोको आइराक (रक्सी) पिउँदै–
ताकाधुम… ताकाधुम…ताक धुमधुम…
ताकाधुम… ताकाधुम…ताक धुमधुम…
तामाङ सेलोमा नचिरहेछन् युवायुवतीहरु ।
ल्होसार, एउटा उत्सव हो ।
उत्साह हो । संस्कृति हो । स्वाभिमान हो ।


तिल्गे गोरु, मेरो कान्छ भाइको जोडा हो
गएको आसारमा १८ बाली पुर्यायो उसले
ल्होछारमा उब्रिएको खानेकुरा धेरै भएछ
लगातार ५ दिन पखालाले सुतायो उसलाई
जडिबुटीकै भरमा बचाए आपाले
अब हलो तान्न सक्दैन ऊ ।


ज्योज्यो, ओ… ज्योज्यो !
आइला तिल्गे भाउ ङादा
(तपाइँको तिल्गे मलाई दिनु)
लगेर मल बनाउँछु म ।

मान्छेको मल कि गोरुको मल ?

हैन है, गोरुकै मल हो ।

आपाले ख्याकुले आस्याङलाई तिल्गे फुकाएर पठाउनुभो ।


नाना, ओ नाना…
तिम्रो यो कोरली देउ त मलाई
म लगेर पाल्छु ।

मेरो हैन यो
कान्छीको पेवा हो ।

ओ कोन्मे (भान्जी)
आइ मि याम्बुरि चिबा का
(तिमी त काठमाडौंमै बस्छौ पो )
ङादा बाउ चु
(मलाई देउ यो)
ङाइ म्हार स्होसि पित्खाला लिच्छा
(म घ्यू बनाएर पठाइदिन्छु पछि) ।

कान्छी आङाले कोरली फुकाएर पठाइन् ।


ख्याकुले मामाको टुकटुके मोबाइलको घण्टी बज्यो

“ओ थिङ सम्धी
धन्साइ झर्नु है भोलि
यता मगर गाउँमा बुढो गोरु र गाईहरु छन् बेच्ने ।”

पास्र्वमा
स्वाँर्र… स्वाँर्र… हुर्र…
कैले कामी दाइको आरानको खँलाती घुमिरहेछ ।

“हुन्छा, बोली ब्यानै
डोफ्ले दाइ र मो आउँछा होई ?”


ख्याकुले आस्याङ, डोफ्ले आपाग्रेन र मामाको छोरा पाराङ
सबेरै धनसाई गाउँ झरे
बूढो गोरु, गाईहरु किने ।

फुयाँल बाजे आसामी उठाउन
धन्साइ सोराली कान्छाको घर जाँदै थिए–
“ए थिङ कान्छा यत्रा गाई, गोरु केका लागि किनेको ?
काटेर खाने त होला, हैन ?”

“होइन, होइ बाजे
लगेर पाल्नुलाई ।”

“जाँठा ! भोटेले लगेर पाल्छ होला ।
काटेर खान्छु भन न ।”

“ओइ बाजे
हामीलाई भोटे नभन
हामी भोटे होइन तामाङ हो ।”

आस्याङको छोरो पाराङलाई झोँक चल्यो ।

“हामीलाई पनि थाहा छ जाँठा हो ।”
छाताको डन्डी घुमाउँदै
फुयाँल बाजे तेर्सो लागे ।


च्याङ्बा, ओ च्याङ्बा…

ल्हास्सो आङि (फूपू) !

आइदा आस्याङसे खाउ रो
(तिम्लाई आस्याङले आउ रे) !

तिक्दा आङि (किन फूपू) ?

गोरु लिएर
आस्याङ र पराङ सम्धी टोपटोप खोल्सीतिर लागेको छ ।

ओ चाङ (भाउजू), चाङ ओ…
लु जाँड छान्नु त
मेरो घरमा जाँड सकिएछ ।

आङि कान्छी
जाँड डबका तान्दै हुनुहुन्थ्यो
आले च्याङ्बा र आले साँजी (साइलो)
डोकोमा बन्चरो र खुकुरी राखेर टोपटोप खोल्सितिर लागे ।


लामो दाह्री पाल्नुहुन्छ हाम्रो आपा ।
हातमा ताम्बाकाइतेन (उत्पतीको गीती संग्रह) बोकेर बार्दलीमा आउनुभो ।
भित्री मधेस
फलेक छापेको घरको बार्दलीमा गुन्द्री चाहिँदैन
पाउरवाल चस्मा लगाएर ताम्बाकाइतेनको पाना पल्टाउँदै हुनुहुन्छ–आपा ।

माछा, मासु, जाँड, रक्सी नखाने
‘शुद्ध’ साकाहारी लामा हो– हाम्रो आपा ।
स्कुलको आँगन टेक्न पाउनु भएन
ठूलो वर्णमालाले अक्षर चिनाएको भन्नुहुन्छ
अचेल त किसानको कविता पो लेख्नुहुन्छ ।

आपा ताम्बाकाइतेनको गीत गाउँदै हुनुहुन्छ ।

आमाइले होइ आमाइले
आमाइले होइ आमाइले
… … …
दाङ्बो तोङ्बा राङसिङरि
दोर्जेग्याडम लुङ छ्याजिम
लुङ्ला थोरि मे छ्याजिम
मेला थोरि क्युइ छ्यजिम
क्युइला थोरी सा छ्याजिम
… … …

ओ बाजे, के गीत गाको त्यस्तो ?
तिम्रो हत्यारा छोराहरू खोइ कहाँ छन् ?

किल्किलेसम्म आइसकेको गीतको अर्को पङ्ती
झ्याप्प अड्कियो ।

खोइ मलाई त थाहा छैन ।

अझ थाहा छैन भन्छस् बुढा ?
केटा हो पुरै घर खानतलासी गर ।

तीन जना प्रहरीहरुले पुरै घर छापा मारे ।

साब ! यहाँ त केटाहरू कोही छैनन् ।
बरु गोरुको खुट्टा र करङहरु मात्रै छन् ।

हवल्दार साब त्यसलाई पोको पारेर बोक्नुस् ।

तिम्रो छोराहरूलाई तुरुन्त भोलि थानामा बुझाउने हेर बुढा
नत्र तिमी बुढानै जाकिनुपर्ला नि ठेङ्रोमा ?

ख्याकुले आस्यङ, आस्याङको छोरा पाराङ
र डोफ्ले ठूलो बुबालाई घिस्याउँदै
चौकी ओर्लिए प्रहरी ।

ड्याम्म ताम्बाकाइतेन पछार्नुभो भुइँमा र,
जुरुक्क उठ्नु भो आपा ।

साइँलाला टुबाग खाइरि मुला ?
(साँहिलाको भरुवा कहाँ छ ? )

अवाक हुनुभो आमा ।

(शब्दार्थ
थापसाङ- चुलाको पूजा, घर पूजा, शान्ती पूजा ।)

तपाईको प्रतिक्रिया