छुनु, सृष्टिको आरम्भ हुनु हो ।
कुनै उष्ण लाम्पुच्छ्रे ताराले नछोइदिएको भए
कहाँ आविष्कार हुन्थ्यो र यति सुन्दर पृथ्वी !
एउटा बीजले जब छुन्छ धर्तीको गर्भ
हेरिरहुँ लाग्ने बनिदिन्छ सुन्दर विरुवा
खोतल्दै खोतल्दै
कुटोले जब छुन्छ बन्जर जमीन
हराभरा सिँगारिएर मुस्कुराउँछ प्रकृति
उत्रेर खरो मन्थनमा
जब छुन्छ विचारले विचार
अन्ततः जन्मिन्छ निष्कर्षमा
एउटा शाश्वत जीवन दर्शन
कर्तव्यवोधसँगै
जब छुन्छ दिनले रात
फैलिन्छ भूगोलै भरि उज्यालै उज्यालो
छुनु- आविस्कार पनि त रहेछ ।
छुनु- अन्धकार निर्मूल हुनु पनि त रहेछ ।
ओठले छोए पछि नै हो
निस्किने- बाँसुरीबाट मीठो धुन
औंलाहरूले छोए पछि निस्किन्छन्
सारंगी, तबला, हार्मोनियमहरूबाट
जीवन झुम्ने, नाँच्ने, नचाउने सरगमहरू
जीवन झुम्ने, नाँक्ने, नचाउने सुरतालहरू
जब पाइतालाहरूले छुन्छन् बाटो
बाटोले मार्गप्रसस्त गरिदिन्छ- यात्रा
यात्राले तय गरिदिन्छ- जीवनको गति
छुनु- निर्वाण होइन, सृष्टि रहेछ ।
छुनु- विनिर्माण होइन, निर्माण रहेछ ।
कुनै कथा-व्यथाले
चस्स छोइदिन्छ कतै
र त मनले आँखालाई
करुणामा द्रवीभूत हुन सिकाउँछ
कुनै सुन्दर फूलले
आँखालाई सप्रेम छोइदिन्छ
र त मनले मान्छे मान्छेमै
खोजिरहन्छ फूल जस्तै सुन्दरता
छुनु- एक सिर्जनात्मक खोज पनि रहेछ ।
छुनु- उत्पत्तिको एक रुपान्तरण पनि रहेछ ।
लगाएर अहंकारको शास्त्रीय जलप
भूगोलको एक असामाजिक चेतना
लिप्त छ अझै
‘नछुनू’ को जडगत अतिवादमा !!
सदियौंदेखि
भूगोलकै एक किनारा
अहंकारकै
दिग्भ्रमित व्याख्या र उपव्याख्याभित्र
बनेको छ एउटा व्याकरणीय- अपवाद !
ए बुद्धिमान मान्छे !
किनारालाई गरेर त हेर अंकमाल
बुझ्नेछौ पृथ्वी सन्तुलित अडिनुको राज
बुझ्नेछौ छुनुको तिलस्मी रुपान्तरणहरू ।
भरतपुर- ११, चितवन