संगीतमा जमेका सन्जोक योन्जन

सविन घिसिङ संवाददाता
काठमाडाैं

‘चरिकोट दोलखा म जाँदा’, ‘बाटो त मुनि तिनतले घर’, ‘तिनतले घरको जोर बाँहा’, ‘समुन्द्रपारीको देशैमा, आफ्नो त भन्ने कोही छैन’ बोलका गीतहरु सेलो संगीत पारखीहरुमाझ जनजिब्रोमा झुन्डिएका छन् । यथार्थपरक शब्द, मनछुने संगीत अनि मौलिक संस्कृतिलाई कलात्मक तरिकाले उजार गरेकाले यी गीतहरुमा आनन्दीत हुँदै डम्फूको तालमा कम्मर मर्काएर ननाच्ने सायदै कोही छैन होला । यी र यस्ता सयौं सुमधुर गीतहरुका सर्जक हुन्, गायक एवं संगीतकार सन्जोक योन्जन ।

काभ्रे चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीमा २०३४ साल बैशाख २६ गते पूर्णिमा दिन बुवा डिल्लीमान योन्जन र आमा पुतली घिसिङको कोखबाट योन्जनको जन्म भएको थियो । योन्जनको बाल्यकालको केही समय गाउँमै बिते र ८ बर्षको हुँदा परिवारको साथमा बालुवाटार काठमाडौंमा बसाई सरे ।

सानैदेखि संगीतमा चाख राख्ने उनी आफ्नो अध्ययन सँगै रेडियोमा बजेको गीतहरु सुन्ने गर्थे । उनका बुबा आमाले बौद्ध र स्वयम्भूमा लाग्ने तेमाल जात्रामा बर्षेनी उनलाई साथै लान्थे र त्यहाँ तामाङहरूले गाउने फापरे सेलो जुहारी गीत रातै भरी सुन्थे ।

सुन्दै गर्दा उनी संगीतमा यति लिप्त भएर डुबेकि मनभित्र उर्जा बढेर आयो । उनको गीत गाउने जाँगर चल्यो र अठोट गरे यस समयलाई उनी आफ्नो सांगीतिक प्रेरणादायी क्षणको रुपमा लिने गर्छन् ।

सरस्वती बहुमुखी क्याम्पस काठमाडौबाट अर्थशास्त्रमा स्नातक गरेका योन्जन मौलिक नेपाली तामाङ सेलो लगायतका सर्जक मात्र होइन खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत पोख्त छन् । गीतसंगीतमा लाग्नुअघि उनले महेन्द्र पुलिस क्लबबाट मिडफिल्डर पोजिसनमा फुटबल खेल्थ्यो । क्रमशः उनको संगीतमा लगाव बढ्दै गयो । अन्ततः ‘जहाँ ईच्छा त्यहाँ उपाय’ भनेझंै उनले औपचारिक रूपमा पहिलो गीति एल्बम सेलो जुहारी भाग–१ सन २००१ मा निकाले । यसलाई सबैले मन पराइ दिए ।

यो सफलता कहाँ सजिलो थियो र ! शुरूआती दिनमा निकै मिहेनत गर्नुपर्यो, उनी भन्छन्, ‘सुर र तालको बारेमा ज्ञान भएकोले उनलाई पहिलो गीत रेकर्ड गर्न केही सहज भयो । सांगीतिक प्रस्तुति दिन अमेरिका जाँदा २ पटकसम्म उनी स्वदेश फर्के ।

उनी सन् २००६ देखि स्थायी रूपमा परिवारसँगै अमेरिका बस्दै आइरहेका छन् । अहिले पनि उनी आफ्नो सांगीतिक प्रस्तुतिका लागि अन्य मुलुकहरुमा जाने आउने गर्छन् । हालसम्म उनले कतार, दुबई, साउदी, बहराईन, ईजराईल, टर्की, सिरिया, ईजिप्ट, ईरान, युके, फ्रान्स, जर्मन, ईटाली, स्विटजरल्याण्ड, मोनाको, स्पेन, पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, क्यूबा, बाहामस, जमाईका, अमेरिका, भारत, मलेसिया, सिङगापुर, जापान, लगायत २७ भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् । यद्यपि अफ्नो प्रस्तुतिको क्रममा बिश्वको जुनसुकै कुना पुगे पनि अफ्नो मातृभूमि सम्झेर गाउने गर्छन्, समून्द्र पारिको देशैमा आफ्नो त भन्ने कोही छैन…


उसो त उनी आफ्नो जन्मभूमि फर्किदा आफन्तहरू भेट्ने क्रममा पनि नेपालमा आयोजित कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिन उपस्थित हुने गरेका छन् । अनवरत संगीत सिर्जना गर्ने क्रममा राष्ट्रिय संगीतकर्मी अवार्ड २०१९, हिमालयन स्रष्टा सम्मान २०१९ तथा विविध अवार्ड तथा सम्मानद्वारा उनी सम्मानीत पनि भइसकेका छन् ।

संघर्ष, सफलता र उद्देश्यबारे योन्जन भन्छन्, ‘संगीत महासागर हो कहिल्यै सिकेर सकिदैन । अहिलेसम्म पनि सिक्दैछु ।’ ‘संघर्ष नगरिकन कुनैपनि क्षेत्रमा सफल भईदैन । सफलताको बाटो नै संघर्ष हो । त्यसैले निरन्तर लागिरहने छ’, उनी भन्छन्, ‘भबिष्यमा सांगीतिक क्षेत्र संगै नेपाली राजनीतिमा लागेर नेपाली समाजलाई समुन्नत बनाउन लागि पर्नेछु ।’

हाल उनको ‘समुन्द्रपारीको देशैमा’, ‘झ्याडी त खोलाको जोरघट्टा’, ‘सिमसिमे पानी बर्खमा’, ‘रसुवाको धुन्चे बजार (म्हेन्दोमाया), ‘सिङगुन जात्रा’, ‘तरूनी देख्दा मन चमचम’ लगायत दर्जनौं गीतहरु लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया