म्हेनिङ, दसैं र तिथि

प्रतीक ङेसुर तामाङ लेखक/संचारकर्मी
काठमाडाैं

यसपटक पनि दसैं र म्हेनिङ पर्वको बहसले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको देखियो । अलगअलग कित्तामा उभिएर धेरैले धेरै तर्क प्रस्तुत गरे । एउटा पक्षको मत छ, ‘दसैं हिन्दूको पर्व हो । म्हेनिङ केवल महिनाको नाम हो । कुनै पर्व होइन । यसलाई मनाउनुको अर्थ घुमाउरो तरिकाले दसैंलाई नै आत्मसात गर्नु हो । हिन्दूकरणको सामु आत्मसमर्पण गर्नु हो । यसकारण म्हेनिङ पनि मनाउनुको अर्थ छैन ।’ यसैगरी अर्को पक्षको भनाइ छ, ‘दसैं र म्हेनिङ एउटै होइन । दसैं हिन्दूको पर्व हो । म्हेनिङ महिनाको नाम पनि हो, तामाङ समुदायको मौलिक पर्व हो । यसलाई मनाउने अलग्गै विधिविधान छ । जुन हिन्दूले मनाउने गरेको दसैंको विधिसँग पटक्कै मेल खाँदैन । यसले तामाङ सभ्यता र पहिचानको झल्को दिन्छ ।’

यस वर्ष विक्रम सम्वतको कात्तिक महिना र मञ्जुश्री सम्वतको म्हेनिङ महिना एकै दिन सुरु हुन पुगेको छ । यो वर्ष मलमास या अधिकमासको वर्ष भएकाले तिथि सर्दा म्हेनिङ महिना पनि ढिला सुरु भएको हो । मलमासको नियमअनुसार महिना खप्टिँदा यो वर्ष चौथो महिना दुगु दोहोरिएको छ ।

आ–आफ्ना बुझाईका आधारमा यसरी म्हेनिङ र दसैंको पक्ष विपक्षमा जुहारी चल्ने क्रम रोकिएको छैन । यही सेरोफेरोमा एउटा सवाल भने धेरैले जबर्जस्ती उठाउने गरेको देखियो, ‘म्हेनिङ र दसैं जहिले पनि किन सँगसँगै पर्ने गर्छ ?’ ‘एउटै पर्व होइन भने दशैं सर्दा म्हेनिङ पनि किन सरेको ? ‘म्हेनिङ भनेको त असोज महिना नै हो ।’ हरेक वर्ष दसैं छेउछाउमा यस्तै यस्तै बहसमा तामाङ समुदायको एउटा पङ्ति अल्झिने गरेको पाइन्छ । म्हेनिङ के हो ?दसैंसँग यसको सम्बन्ध के हो ? यो किन मनाउने ? किन नमनाउने ? भन्ने बहसको एउटा पाटो हो । तर यस लेखमा भने ‘म्हेनिङ र दसैं किन कसरी सँगसँगै पर्छ’ भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

दिन, हप्ता, महिना र वर्ष अर्थात् समय गणनाका लागि दुईवटा मान्यताहरू स्थापित छन् । एउटा सूर्यको गतिको आधारमा र अर्को चन्द्रमाको गतिको आधारमा । समय गणना गरिने यही पद्धतिको आधारमा पात्रो निर्माण गरिन्छ । यसलाई सौर्यपात्रो र चन्द्रपात्रो भनिन्छ । वर्षभरिका अधिकांश चाडपर्वहरू खासखास तिथिका आधारमा मनाइने गरिन्छ । जुन चन्द्रपात्रोअनुसार अनुसरण गरिन्छ । पूर्वीय दर्शन र मान्यताअनुसार चन्द्रमाको गतिको आधारमा तिथिको निर्धारण गर्ने गरिन्छ । त्यही आधारमा चाडपर्वहरूको तिथिमिति किटान गर्ने गरिन्छ ।

तिथिअनुसार १२ महिनाका नामहरू (१) चैत्र, (२) वैशाख, (३) ज्येष्ठ, (४) आषाढ, (५) श्रावण, (६) भाद्र, (७) आश्विन, (८) कार्तिक, (९) मार्ग, (१०) पौष, (११) माघ र (१२) फाल्गुण हुन् । यसैगरी मञ्जुश्री पात्रोअनुसार १२ वटा महिनाका नामहरू (१) ख्रे, (२) बेने, (३) नाम्दुङ, (४) दुगु, (५) ड्वाफ्रे, (६) ब्याल्बो, (७) गोने, (८) यान्दे, (९) म्हेनिङ, (१०) सोकराति, (११) बोइतापा र (१२) तापा हुन् । यी दुवै महिनाहरू चन्द्रपात्रोमा आधारित हुन्छन् । अब प्रश्न रह्यो म्हेनिङ महिना कहिले पर्छ या सुरु हुन्छ ? तिथिका आधारमा हुने भएको हुँदा आश्विन शुक्लपक्ष र मञ्जुश्री पात्रोअनुसारको नवौं महिना म्हेनिङ एकै समय सुरु हुन्छ । जसरी माघ शुक्लप्रतिपदाका दिनदेखि सोनाम ल्होछार आरम्भ हुन्छ, त्यसैगरी आश्विन शुक्लप्रतिपदाका दिनदेखि नवौं महिना म्हेनिङ सुरु हुन्छ । यस वर्ष विक्रम सम्वतको कात्तिक महिना र मञ्जुश्री सम्वतको म्हेनिङ महिना एकै दिन सुरु हुन पुगेको छ । यो वर्ष मलमास या अधिकमासको वर्ष भएकाले तिथि सर्दा म्हेनिङ महिना पनि ढिला सुरु भएको हो । मलमासको नियमअनुसार महिना खप्टिँदा यो वर्ष चौथो महिना दुगु दोहोरिएको छ ।

चन्द्रमास अनुसार कृष्णपक्ष र शुक्लपक्ष गरी दुई तिथिहरू हुन्छन् । अधिकांश पर्वहरू शुक्लपक्षमा परेका हुुन्छन् । किन कि शुक्लपक्षलाई उत्तम मानिन्छ । अहिलेसम्मको परम्पराअनुसार हिन्दूहरूको बडादसैं पर्व यही आश्विन शुक्लपक्षको १५ दिनभित्रमा सम्पन्न गर्ने प्रचलन छ । शुक्लपक्ष आरम्भ भएको दिन घटस्थापना गरेर सप्तमीलाई महासप्तमी (फूलपाती), अष्टमीलाई महाअष्टमी, नवमीलाई महानवमी, दशमीलाई विजयादशमी (टीका ग्रहण) का रूपमा मनाउँदै आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन दसैं सम्पन्न गर्ने गरिन्छ ।

यसकारण आश्विन शुक्ल पक्षको तिथि र म्हेनिङ एकै समयमा आरम्भ हुने भएकाले बडादसैं पनि यही समयमा परेको हो । बाहिरबाट सरसर्ती हेर्दा दसैं सर्दा म्हेनिङ पनि सरेको देखिएको हो । यथार्थमा म्हेनिङ सरेको पनि होइन, दसैं सरेको पनि होइन । जहिले पनि यो एकै तिथिमा आरम्भ हुन्छ र सकिन्छ । बरू पूरानो प्रचलन हेर्ने हो भने हिन्दूहरूले धुमधामले मान्ने गरेको बडादसैं चैतबाट असोज कात्तिकमा सरेको हो भन्ने कथनमा विद्वानहरूमा मतैक्यता पाइन्छ । गर्मीयामको सुख्खा मौसममा खडेरी पर्ने, हावाहुरी चल्ने, मिठो खाँदा स्वास्थ्य बिग्रने भएपछि वर्षासकेपछिको शरद ऋतुमा दसैं सारेर मनाउने प्रथाको विकास भएको तथ्य धेरैले उल्लेख गर्ने गरेका छन् । हिन्दूधर्मका साधकहरूले बडादसैंमा भन्दा चैते दसैंकै नवरात्रीमा बढी चण्डी पाठ गर्ने, साधना गर्ने, पूजापाठ गर्ने गरेबाट पनि यो तथ्य सत्यको नजिकको रहेको बुझ्न सकिन्छ । यस हिसाबले चैतको दसैंचाहिँ म्हेनिङमा सारेको या सरेको हो भन्न सकिन्छ ।

यसपालीको हकमा म्हेनिङ महिना कात्तिक १ गते सुरु भएर कात्तिक २९ गतेसम्म रहन्छ । कात्तिक ३० गते सोकराति ला (महिना) आरम्भ हुनेछ । गत वर्ष म्हेनिङ असोजको १२ गते सुरु भएर कात्तिक १० गतेसम्म रहेको थियो । यसैगरी दुई वर्ष अघि २०७५ सालमा म्हेनिङ महिनाले असोज २३ गते सुरु भएर कात्तिकको २१ गतेसम्म भेटेको थियो । आगामी वर्ष म्हेनिङ महिना असोज २० गते सुरु हुनेछ र कात्तिक १८ गते टुङ्गिने छ । यसरी अधिकांश वर्षहरूमा म्हेनिङले असोज र कात्तिक महिना छुने गरेको देखिन्छ । यसैले म्हेनिङ भनेको न असोज हो न त कात्तिक नै हो । यो वर्ष भने मलमास परेको हुँदा अलि बढी पछाडि धकेलिएको हो ।

यहाँ बुझ्नुपर्ने तथ्य के हो भने आश्विन र असोज एकै हो भन्ने भ्रम पनि छ । आश्विन तिथिअनुसारको महिनाको नाम हो र असोज वि.सं. को महिनाको नाम हो । तिथि चन्द्रपात्रोमा आधारित हुन्छ भने विक्रम सम्वत् सौर्यपात्रोमा आधारित हुन्छ । जुन एकै समयमा सुरु हुँदैन । कहिलेकाहिँ आश्विन तिथि भदौमै सुरु भइसकेको हुन्छ भने कहिलेकाहिँ कात्तिकसम्म रहन्छ । म्हेनिङ महिना र आश्विन शुक्लपक्ष तिथि भने एकै समयमा सुरु हुन्छ । यसले गर्दा पनि म्हेनिङ भनेकै असोज हो भन्ने बुझाई सही होइन ।

यसबाट के बुझ्न सकिन्छ भने ल्होछारको पात्रोअनुसार हामीले गणना गर्दै आएको म्हेनिङ र सोकराती भनेको सर्लक्कै असोज र कात्तिक हो भनेर अथ्र्याउन मिल्दैन । जसरी इस्वी सम्वतको महिना जनवरी न पुस हो न माघ हो । बरु पुस र माघ दुवै छुने महिना हो । ल्होछारको पहिलो महिना ख्रे भनेको पनि सरासर माघ होइन । बरु यो त विक्रम सम्वत्को माघ र फागुन दुवै छुने महिना हो । तर कहिलेकाहिँ भने फागुनमा मात्रै पर्न जान्छ । जसरी यसपाली म्हेनिङ महिनाले कात्तिक मात्रै छोएको छ । तर फेरि सोकरातिले भने कात्तिक र मङ्सिर दुवै महिना छोएको छ ।

हरेक वर्ष सोनाम ल्होछार माघ शुक्लप्रतिपदाका दिनमै पर्छ । तेमाल जात्रा नाम्दुङ ङ्ह्या (चैत पूर्णिमा) मा पर्छ । नाम्दुङ ङ्ह्यालाई चेलीबेटी बोलाएर विशेष चाडकै रूपमा मनाउने प्रचलन छ । यही दिन हिन्दू धर्मावलम्वीहरूले भगवान रामको भक्त हनुमानको जयन्ती मनाउने गर्छन् । सत्यनारायणको पूजाआराधना गर्दै उपवास बस्ने गर्छन् । यसैगरी हिन्दू मान्यताअनुसार पहिलो चन्द्र महिना र पहिलो पूर्णिमा भएकाले विशेष महत्वका साथ चन्द्रमाको पूजा गरी उपवास बस्ने पनि गर्छन् ।

बुद्धजयन्ती दुगु ङ्ह्या (वैशाख पूर्णिमा) मा मनाइन्छ । तिथिका आधारमा वैशाख पूर्णिमा कहिलेकाहिँ भने जेठमा पनि पर्न जान्छ । यस दिन संसारभरका करोडौं बौद्ध धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाउँछन् । यसैगरी किरात समुदायले उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले चण्डी पूर्णिमा पनि भनिन्छ । यसैगरी वैशाख पूर्णिमाकै दिन चण्डेश्वरी जात्रा पनि भव्यरूपमा मनाइने प्रचलन छ ।

गोने ङ्ह्या (श्रावण पूर्णिमा) आफैंमा पर्व हो । हिन्दू धार्मिक परम्पराअनुसार यस दिन पोखरी, नदी, तालमा गएर नुहाउने, रक्षासूत्र (डोरो) बाँध्ने, जनै फेर्ने गरिन्छ । यही दिन बारीमा रहेको हरियो मकै ल्याएर देवतालाई चढाउने प्रचलन छ । तामाङ बोन्बोहरूका लागि त गोने ङ्ह्या विशेष उत्सव नै हो । उनीहरू बिहानै चोखोनिधो गरी झाँक्रीको भेषमा विभिन्न कुण्डहरूमा ढ्याङ्ग्रो बजाउँदै जाने, शक्ति प्रदर्शन गर्ने र त्यहाँ आ-आफ्ना विधिअनुसार अनुष्ठान गर्ने गर्छन् । यही दिन ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरीमा विशेष मेला लाग्छ । यी मेलामा आदिवासी जनजातिहरूको पनि उल्लेख्य सहभागिता रहने गरेको पाइन्छ । दसैंकै बेला नेवार समुदायले मोहनी नखः पर्व धुमधामले मनाइरहेका हुन्छन् । विजयादशमी भनिने म्हेनिङको छेपा च्युअी दशमी तिथिका दिन बौद्ध धर्मावलम्वीहरूले तत्कालीन सम्राट अशोकले शस्त्रास्त्र परित्याग गरी रीस, राग, द्वैषमाथि विजय गरेको महान् दिनका रूपमा मनाउने गर्छन् ।

हिन्दू समुदायको तिहार पर्वकै समयमा कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय नेपाल सम्वत् र म्ह पूजाको रौनकतामा रमिरहेका हुन्छन् । धान्य पूर्णिमा पनि भनिने मार्ग पूर्णिमाका दिन एकातिर नेवार समुदाय योमरी पुन्ही मनाइरहेका हुन्छन् भने अर्कोतिर किरात समुदाय उधौली पर्वको रमझममा मस्त हुन्छन् । यी पर्वहरू कृषि कार्य व्यवस्थापनसँग महत्व दर्शाउने पर्वहरू हुन् । यसरी एउटै तिथि र एकै दिनमा एकभन्दा बढी समुदायले अलगअलग चाडपर्वहरू सँगसँगै मनाइने गरेको पाइन्छ । राज्यले नै राष्ट्रिय पर्वको विशेष मान्यता दिएको हुनाले म्हेनिङको याममा मनाउन आइपुगेको दसैंले विशेष चर्चा पाएको मात्र हो ।

अन्य पर्वहरू जस्तै तिथिका आधारमा मनाइने भएको हुँदा दसैं पर्वको विक्रम सम्वतको महिना र गतेसँग यसको कुनै साइनो नै हुन्न । तर हाम्रो दैनिक जीवन पद्धति विक्रम सम्वतको आधारमा सञ्चालन भइरहने हुँदा हामीलाई त्यस खालको महसुस भएको मात्रै हो । ल्होछार पर्व पनि हामीले २०७५ मा माघ २२ गते, २०७६ मा माघ ११ गते मनायौं । यसपाली माघ ३० गते परेको छ भने अर्को वर्ष २०७८ मा माघ १८ गते परेको छ । यसरी गतेका आधारमा अघिपछि परेको देखिए पनि खासमा तिथिका आधारमा त जहिले पनि उही दिनमा ल्हो फेरिन्छ । अर्थात् माघ शुक्लप्रतिपदाकै दिनमा ल्होछार पर्छ । यही दिनदेखि सोनाम ल्होछारअनुसार नयाँ वर्ष र पहिलो महिना ख्रे आरम्भ हुन्छ । यसरी दसैं, म्हेनिङ तिथि र मितिबारे अलमलहरू देखिनुले हाम्रो समय गणना गर्ने पद्धति, सम्वत्, पात्रोप्रणाली र यसको विशेषताहरूका बारेमा गहिरो अध्ययन गर्न बाँकी छ भन्ने प्रस्ट हुन्छ । सांस्कृतिक पहिचानलाई स्थापित गर्ने अभियानस्वरूप नै हामीले सांस्कृतिक पर्व ल्होछारलाई स्थापित ग¥यौं । हरेक वर्ष ठूलै तामझाम र हर्षोल्लासका साथ मनाउँदै आएका छौं । तर ल्होछारसँग गाँसिएका धेरै पक्षबारे बुझ्ने र बुझाउने मामिलामा अझै कमजोरी रहेको देखिन्छ । ल्होछार एउटा सांस्कृतिक पर्व हो भन्ने चिनाउन त सफल भयौं तर ‘यो केवल पर्व मात्र नभएर समय गणना गरिने प्रणाली हो । यसको अलग्गै पात्रो हुन्छ । महिना र तिथि हुन्छ । चन्द्रमाको गतिको आधारमा तिथिहरू निर्धारण गरिएका हुन्छन् ।

चन्द्रपात्रो अनुसार सामान्यतया वर्षमा ३५४ दिन हुन्छ भने सौर्यपात्रोअनुसार वर्षमा ३६५ दिन हुन्छ । यसैले विक्रम सम्वतको महिना र गतेसँग यो मेल खाँदैन’ भन्ने तथ्यहरूलाई समुदायको तल्लोस्तरसम्म पुर्याउन सकिरहेका छैनौं । ल्होछारसँग गाँसिएको सम्वत्, महिना, पात्रोप्रणाली, यसको इतिहास, ल्होको पद्धतिलगायतका विषयमा व्यापकरूपमा बुझ्ने, बुझाउने र अध्ययन गर्ने गराउने काम हुनुपर्ने जत्ति भएको देखिँदैन ।


‘पर्व के हो ? मिति र तिथि के हो ? पात्रो प्रणालीहरू कस्ता कस्ता हुन्छन्’ भन्ने विषयमा अझै वृहत् र व्यवस्थित छलफलको जरुरी देखिन्छ । यसका लागि राष्ट्रिय संस्थाका हैसियतले सबै कुरालाई नेतृत्व गर्ने दायित्व नेपाल तामाङ घेदुङकै हो । सँगसँगै तामाङ समाजका खोजअनुन्धानकर्ता, बुद्धिजीवी, अगुवाहरूले पनि यो पाटोमा उत्तिकै चासो दिनु आवश्यक छ । यो विषयमा छलफल, बहस व्यवस्थित र फराकिलो हिसाबले अघि बढाउन सक्दा मात्रै आफ्नो समुदायको इतिहास, संस्कृति र सभ्यताका बारेमा जान्न, बुझ्न चाहने नवपुस्ताका लागि सहज हुनेछ । यी अभियानहरूलाई उचित आकार दिनु समुदायको पहिचान मजबुत बनाउँदै यसलाई स्थापित गर्न ठोस आधार प्रदान गर्नुु पनि हो ।

गएका केही वर्षहरूलाई फर्केर हेर्ने हो भने ल्होछार पर्वको विषयमा प्रशस्त मन्थन त भयो । तर ग्याल्बो र सोनाम ल्होछारमध्ये कुनलाई स्थापित गर्ने विवादमै समय खर्चिने काम मात्रै भयो । दुईटामा कुनचाहिँ आधिकारिक, तामाङ समुदायले कुन ल्होछार सभ्यता अङ्गीकार गर्ने, त्यसका कारण के के हुन् ? यी र यस्तै सवालमा पक्ष विपक्षमा उभिएर वकालत गर्दैमा समय व्यतित गर्ने क्रम चलिरह्यो । यसरी अर्कै कसरतमा अल्झिँदा ल्होछार सभ्यता, संस्कृति, इतिहास, यसको चरित्र र विशेषताका सम्बन्धमा व्यापकरूपमा छलफल हुन पाएको देखिँदैन । यसैगरी यससम्बन्धी पर्याप्त अध्ययन सामग्री प्रकाशन प्रसारणमा चाँजोपाँजो मिलाउन सकेको पाइँदैन । वर्षको एउटा पात्रो पनि नियमित प्रकाशनमा आउन नसक्नु त दुःखकै कुरा हो । अहिलेसम्म उपलब्ध सामग्रीहरूलाई पनि सबैतिर उपलब्ध गराउने खालको रणनीति बन्न सकिरहेको छैन । यहीँनिर हामी चुकिरहेका छौं ।

आफ्नो समाज, इतिहास, पहिचानलगायतका बारेमा जान्न, बुझन् र अध्ययन गर्न चाहने युवाहरूको पङ्ति क्रमशः बढ्दो छ । यसका लागि आवश्यक सामग्री सहज उपलब्ध नहुँदा उनीहरू अनावश्यकरूपमा भौंतारिन बाध्य छन् । यसका लागि व्यवस्थित अभियानको आवश्यकता छ । अहिलेको कम्प्युटर र डिजिटलाइज्ड प्रविधिको समयमा ल्होछार सभ्यताका बारेमा व्यवस्थित सामग्री सम्प्रेषण गर्न सक्ने हो भने आफ्नो समुदायको बारेमा ज्ञान आर्जन गर्न चाहने नवपुस्ताको तिर्सना मेट्न सघाउ पुग्नेछ । आफ्नै र सभ्यताबारे अनविज्ञताको अवस्थाबाट बाहिरिन उनीहरूलाई थोरै भएपनि सफलता मिल्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया