डिबि लामाको ‘सघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरु’

काठमाडाैं

पृष्ठभूमि

जीवन कतिपया अवस्था कल्पना भन्दा पनि विचित्रको हुने गर्छ । त्यही विचित्रभित्रको सचित्रमा जीवनलाई थमाइ राख्दा जीवन वास्तवमै पूर्ण भइदिन्छ । पूर्णताको तिनै अध्यायमा उपअध्यायका इकाइहरुको व्याख्या, विश्लेषण र संश्लेषणले एकपटक तिनै समयको फेरो लगाउन पुग्छ । त्यति बेला त्यो बाँचेको र अहिले बाँचेको समय नाप्न कुनै अमिनको फित्ता आवश्यक हुँदैन किनकि त्यसको लागि स्वस्थ मस्तिष्क अनि दरो जीवनप्रतिको आत्माविश्वास काफि हुन्छ । तीनै विश्वासले नापेको जीवनको प्रेरणादायी आत्मकथा हो पूर्व नेपाल प्रहरीका महानिरिक्षक डिबी लामाको सघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरु । पुस्तक बि.स. २०६४ सालमा प्रकाशन भएको हो ।

पुस्तकसार

डिबी लामाका बुबा ललितमान लामाले सेनामा भर्ती हुन आफ्नो जात फेरे र ललितमान घले बने । अन्तरालमा घलेबाको नामले गाउँभरि चिनिन थाले । त्यसबेला ‘पढे–गुने कौने काम, हलो जोते खाए माम’को अवस्थामा शिक्षाको महत्व बुझिसकेका घलेबाले सन्तानको शिक्षाको लागि घरमै नुवकोट तीनधाराका मख्खन शाही गुरुबालाई राख्नु भएको थियो । जिज्ञासु स्वभाव भएका कारण डिबी लामाले त्यसबेला रीत पु¥याएर तमसुक र चिठ्ठी लेख्न सक्ने भइसकेका थिए । बुवा घलेबालाई राम्रोसँग थाहा थियो । आँखा अघिपछि उभिएका पहाडहरुभन्दा पनि पर अर्काे ठूलो अग्लो पहाड छ भनेर । ति पहाडहरुभन्दा माथि आफ्ना सन्तान चढेको हेर्न चाहन्थ्यो । त्यसैले उनले माइला सन्तान डिबी लामालाई काठमाडौंको जुद्धोदय स्कुलमा भर्ना गरि दिए । प्रारम्भिक शिक्षा घरबाट नै सुरु भइसकेकोले स्कुलको शिक्षाले पढाइको स्तर माथि उठाउन मद्दत मिल्यो । यसै वीच साथीहरुको लहैलहैमा घर–परिवारलाई थाहै नदिई गल्लामार्फत तत्कालिन बेलायती सेनाको ब्वाईज कम्पनीमा भर्ना भएपछि जीवनले नयाँ लयलाई समाउन पुग्यो । जीवन र मृत्युलाई दोस्रो विश्वयुद्दको बिभीषिकामा निकै नजीकबाट आत्मसात गरे । यता बिदेशीहरुको लागि लड्रिहदा आफू जन्मेको देश भने निष्पट्ट अध्याँरोमा टुकीको लागि सघर्ष गरिरहेको थियो । यो चेतले डिबीलाई चिमोटि रह्यो । लगतै नेपाल फर्केर वि.सं. २००७ सालको क्रान्तिमा एक स्वतन्त्र सेनानीको रुपमा सहभागी जनाउनु भयो । बुबा ललितमान घले समाजसेवी एवं राजनीतिक चिन्तक भएकोले पनि त्यो चरित्र डिबी लामामा सरेको हुनुपर्छ ।

राणाहरुको हुकुमी शासनले देशलाई जर्जर बनाइरहेको थियो । तर उनीहरु भने सत्ताका लागि आफ्नै भाइभारदार वीच तछाँडमछाँड गरिरहेका थिए । जनताको बाँच्न पाउने न्यूनतम अधिकारलाई कटौति गरेर सीमित परिवार र नातेदारहरुको पञ्जामा देशलाई बन्दी बनाइरहेको थियो । राजा समेत उनीहरुका लागि थपन एक पदवी बनेको अवस्था थियो । राणाविरोधी अभियानहरु तीब्र बन्दै गएको थियो । त्यसमा डिबी लामाले बेलायती सेनामा सिकेको कडा अनुशासन र लडाइँको अनुभवलाई उच्च मनोवलका साथ मात्रृभूमिको स्वतन्त्रताको लागि होमिएकाहरुलाई नेपाली काँग्रेसले तयार गरेको जनमुक्ति सेनामा तालिम दिने जिम्बेवारीबाट पूनः नयाँ अध्याय प्रारम्भ गरे । सशस्त्र क्रान्तिको अवधिभर इमान्दार एवं कुशल योद्धा बनेर कमाण्डरले दिएको निर्देशनलाई पालना गरे । अन्ततः देशमा प्रजातन्त्र बहाली भइ छाड्यो । घटनाका परिदृश्यलाई पुस्तकको खण्ड चारमा सविस्तार चर्चा गरेका छन् ।

राजनीतिक अभिष्ट पुरा भएपछि डिबी.लामाले मुक्ति सेनाको कमाण्डरबाट वि.स. २००७ साल फाल्गुन २८ गते देखि सशस्त्र प्रहरीको सुबेदार पदबाट नेपाल प्रहरीको भूमिका निर्वाह गर्न पुगे । यो अवधिमा भएका गुटउपगुट अझ भन्दा राणाहरुले गर्ने प्रपंच समाप्त भइसकेको थिएन । राजनीतिक पृष्ठभूमिबाट आएका र पुरानो परम्परागत शक्तिका मतियारहरु एकै स्थानमा समायोजन हुन सजिलो पक्कै थिएन । यद्यपि विस्तारै त्यसले संस्थागत गति लिन थाल्यो । परम्परागत शक्तिको रुपमा तत्कालिन शाही नेपाल सेना भने जहिले दरबार निकट रहन गयो । डिबी लामा आफूले बेलायती सेनामा संगाँलेको ज्ञान, अनुभव, देश र जनताको सुरक्षाको लागि इमान्दारिताका साथ पालना गरे । यस क्रममा क्रमशः पदोन्नति हुँदै नेपाल प्रहरीको गरिमामय महानिरीक्षक पदबाट सेवानिवृत्त भए । यस अवधिमा उनले भोगे र गरेका प्रहरी प्रशासनभित्रको सुधारको प्रयासलाई खण्ड पाँचमा बेलिविस्तार गरेका छन् ।

फेरि अदम्य साहसलाई कायम राखेर मधुरो किरणबाट फेरि जीवनलाई उज्यालो खोज्ने चेष्टा गरेका छन् । ढुङ्गामा ठेस लागेर लड्दा ढुङ्गाको सातोसराप गरेर यात्रा अघि बढिदैन बरु यात्रामा विलम्ब हुन्छ । सायद यही दर्शनलाई जीवनको मार्ग बनाएर अघि बढे ।

भनिन्छ दरबार भनेको तरबार हो । यसको दुवैतर्फ धार हुने गर्छ । बाहिरी भब्य र सुन्दर देखिएपनि दरबारभित्र हुने षड्यन्त्रका दाउपेच कम्ता कहलीलाग्दो हुन्छ । षड्यन्त्रको गन्ध सुघ्ने समेत दरबारको तरबारबाट सेरिनु पर्छ । यस्तै जालझेलको षड्यन्त्रमा नेपाल प्रहरीको महानिरिक्षक जस्तो गरिमामय पदमा बसेर देश र जनताको सेवा गरिसकेको प्रतिष्ठित व्यक्तिलाई सेवानिवृत्त भएको एक वर्ष पुगे लगत्तै सूचना र लिखित पूर्जीविना पक्राउ ग¥यो । नितान्त पूर्वाग्राही र दरबारबाट नियोजित रुपले रातको दश बजे डीबी लामा सहित उहाँका श्रीमती बसुन्धारा लामालाई महेन्द्र पुलिस क्लबमा पु¥यायो । त्यही दिनदेखि उहाँको जीवनको कारुणिक दिनहरुको गन्ती सुरु भयो । पुस्तकमा अटाएका ती दिनहरुलाई अक्षरमा उतार्दा कति पटक विक्षिप्त भए होलान र कति दिनसम्म नयाँ पानाहरु कोर्न नसक्ने भए होलान । त्यसको दर्द महसुस गर्न पनि निकै कठिन छ । संगठानिक मान र त्यसले बनाएको सामाजिक प्रतिष्ठा भन्ने कुराहरु निर्दयी समयको चेपमा कसरी चेपिंदा रहेछन त्यसको साक्षी बनेका छन् डिबीलामाको आत्मकथा यो पुस्तक । परिवार सहित गरिएको केरकार, सिंहदरबारको बरफबागमा दिएको क्रुर यातना, यातनामा सर्पको प्रयोग, जमीनमा आधा शरीर पुरेर दिएको यातना, दुई पटक जंगलमा लगेर दिएको त्रासदीपूर्ण शारिरीक तथा मानसिक यातना आदि पुस्तकमा पढ्दा आङै सिरिङ हुने गर्छ । यातनाले जीर्ण भइसकेको शरीरमा तहगत योजना बुन्न लिप्त भ्रष्ट, कपटि सेनाका अधिकृतहरुको मुटु कपटमा माझिदा माझिदा कालो भइसकेको थियो । यद्यपि उनीहरु थाकेका थिएनन् । मृत्युवरण गर्ने हिम्मत नआएको पनि होइन तर संभव थिएन । यतिसम्म कि जीवनको अन्तिम पल भनेर आफूमाथि सैनिकले दाबेको निसाना खेर नजाओस भनेर नेपथ्यमा ट्रिगरको आवाजसँगै आफैले जर्जर घाइते शरीरलाई सन्तुलन गरी दिए पनि मृत्युको सुखानुभूतिलाई स्पर्श गर्न नसकिएको कहलिलाग्दो क्षणलाई इमान्दारिताका साथ पुस्तकमा उतारेका छन् । अन्ततः त्रासदीपूर्ण क्रुर यातनाबाट आजित भएर विना अधारका लिखितमा सही छाप गर्न बाध्य बनायो ।

शक्तिको चरम दुरुपयोग गरेर गैरसैनिक व्यक्तिलाई सैनिक अदालतमा जिम्मा लगाइ चरम मानसिक एवं शरीरिक यातनाबाट कायल गर्ने प्रपंचका योजनाकार अरु कोही नभएर प्रहरी संगठनकै असुन्तुष्ट सहकर्मी र दरबारका सैनिक मतियारहरु थिए । जुन तत्कालिन रानी ऐश्वर्यको निर्देशनमा भएको भेउ काट्न मुश्कील हुँदैन । राजपरिवारका तत्कालिन धीरेन्द शाह र उनको बिदेशी प्रेमिको वीचको सम्बन्ध खुलाउन यी सब हर्कत सहितको योजना बुनिएको कुरालाई पुस्तकले खुलस्त पारेको छ । यिनै घटनाको गर्तमा दरबारको तरबारमा तत्कालिन धीरेन्द्रको ‘श्री ५’ पदवी समेत खोसिएको थियो । त्यसमा मकैसँग घुन पिसिएको कुरालाई डिबी लामाले पुस्तकमा स्वीकारेका छन् । सैनिक अदालतको हास्यापदफैसला, विशेष अदालतको फैसाल र अन्तमा सर्वाेच्च अदालतको फैसलाहुँदै मुद्दाहरुले किनार लगाउदै गए । ५ वर्ष १० महिना कठोर जेल जीवनबाट छियाछिया परेको घाइते मुटुलाई लिएर २०४९ सालमा फेरि जीवनको नयाँ अध्यायको लागि तयार भएको देखिन्छ ।

उत्तेजनाको ठाउँमा चेतना–आवेगको ठाउँमा विवेक प्रयोग गर्दै प्रतिशोधमा जल्नेहरुलाई उनले बदला लिएर होइन बदलेर देखाए । जेलबाट छुटेको दुई दिनपछि तामाङ डम्फू समाजले उहाँलाई महेन्द्र पुलिस क्लबमा भब्य सम्मान ग¥यो । आफ्नो जातिले गरेको सम्मानमा भावविभोर हुन पुगे । अन्तमा डिबी लामा तिनै समाजको तीन पटकसम्म र्निविरोध अध्यक्ष बने । राजनीतिक चेतको बीउ उनमा पहिले नै परि सकेको थियो । त्यसको फल लाग्नु कुनै नौलो कुरा थिएन । समाजसेवाकै अर्काे कर्म राजनीतिबाट आफनो गाउँ समाजसँग जोड्न केन्द्रिय राजनीतिमा नेपाली काँग्रेसको झण्डामुनि आफूलाई सुरक्षित ठाने । २०५६ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रसुवा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भयो । लगतै मन्त्री मण्डलमा मन्त्री बन्ने सौभाग्य प्राप्त ग¥यो । यसरी जीवनलाई सफल रुपमा पूनः अवतरण गरे । संयोग मान्नु पर्छ त्यही दरबार डिबी लामाको जीवनकाल छदै वि.स. २०५९ मा त्रासदीपूर्ण हत्याकाण्ड खुल्न नसकिने गरी इतिहासको गर्भमा विलिन भयो । त्यति मात्र होइन वि.स. २०६५ सालमा नयाँ जनादेशले लामो इतिहासको भारी बोकेको शाहकालिन राज संस्थालाई औपचारिक रुपमै विर्सजन गरिदियो ।

मूल्याङ्कन/टिप्पणी

प्रत्येकका जीवन कथाहरु आफ्ना लागि विशेष लाग्छ । सबै क्षणहरु उति नै प्यारो लाग्छ । किनभने त्यसमा भोगाइका आँसु–हाँसो, मिलन–विछोड, खुशी–गुनासो, मेरो–तेरो आदिका बेग्रल्ती श्रृङ्खलाहरु बुनिएका हुन्छन् । जसमा एकलाई छुट्टाएर अर्काेलाई जोड्न सक्दैन । डिबी लामाको हकमा धेरै कुराहरु समयको चक्रमा विजयको उत्सव बनेर आएपनि एउटा कालखण्ड बिर्सन लायक बनेर आएको देखिन्छ । राज्यको संवेदनशील सुरक्षा निकायको सर्वाेच्च पदमा पुगेको प्रतिष्ठित व्यक्तिलाई दण्डीत गर्ने अन्य निकाय हुँदाहुँदै प्रतिशोध साँध्न अत्यन्तै नीच क्रूरता प्रदर्शन गरियो । समयको परिवन्धमा कति ठाउँहरुमा पद र शक्तिको दुरुपयोग भएको हुनसक्छ । फेरि पद र शक्तिको दम्भमा गरिएका दुरुपयोग अपराध नभएर इज्यत र प्रतिष्ठा भइदिने हाम्रो परम्परागत संस्कार नभएको पनि होइन । यद्यपि त्यसको लागि पुस्तकमा उल्लेख भए अनुरुपको पूर्वाग्राहीपूर्ण सैनिक यातना स्वीकार्य हुन सक्दैन । योजनामा संलग्न तत्कालिन डिआइजी रणबहादुर चन्द, सेवाबाट बर्खास्त भइसकेर पनि सोही प्रयोजनको लागि पुर्नबहाली भएका एसपी द्वारिकाबहादुर श्रेष्ठ, एसपी गोपालबहादुर विष्ट सैनिकतर्फ जर्नेल लक्ष्मणचन्द्र बहादुर सिंह, तत्कालिन प्रधानसेनपति सच्चित शम्शेर जबरा, कर्णेल गीर्वाण विक्रम शाह, मेजरल जनरल गडुल शम्शेर जबरा र राजदरबारका सैनिक सचिव रथी ऋषिकुमार पाण्डे मुख्य रहेका थिए ।


यो एक रिसइबी साँध्न गरेको नियोजित जघन्य अपराध थियो । मुद्दासँग असम्बन्धित उहाँका दुवै श्रीमतीलाई समेत अत्यन्तै अमानवीय मानसिक यातनासहित कालकोठरीको पीडादायी बन्दी जीवन जीउन बाँध्य पारिएको थियो । यसले तत्कालिन दरबार राज्यको कानुनभन्दा कति माथि थियो भन्ने कुराको संकेत गर्दछ । त्यसमाथि डिबी लामाको मुद्दामा अनुसन्धान गर्ने सबै राणा, शाही र क्षेत्रीबाहुन थिए । यसले एक सीमान्तकृत जातिको छोराले जीवनभर कामएको ख्याति र कृतिलाई कसरी अपराधीकरण गरिन्छ भन्ने पक्षबाट पनि यसलाई विश्लेषण गर्न सकिन्छ । यो कुरा उहाँले पुस्तकमा स्वीकारेका छन् । त्यसैगरी यो घटनापछि आम समुदायले सिङ्गो तामाङ समुदायलाई हेर्ने दृष्टिकोणमा के कस्तो धारणा बनाउँछ र बनायो । त्यसको छुट्टै विश्लेषण गर्ने ठाउँहरु देखिन्छन् । यसै मुद्दामा थुप्रै होनहार इमान्दार उच्च प्रहरी अधिकृतहरुले समेत बर्खास्ती पर्नु प¥यो । यसबाट संगठनभित्र गुटउपगुट कसरी जकडिएर रहेको हुन्छ ? जुन आज पर्यान्त त्यसको अवशेषले निरन्तरता पाइरहेको दृष्टान्तलाई उजागर गर्दछ । समय अन्तरालमा राजनीतिक व्यवस्था फेरिए । तर भ्रष्ट नेताहरु र तिनका लयमा हिड्ने प्रशासकहरुको नियति फेरिएका छैनन् । रुप फेरिएका छन् तर स्वरुप फेर्न सकिएको छैन । यो कटु सत्य हो । डिबी लामा र भरत गुरुङलाई दरबारले गरेको कारवाहीको सम्बन्धमा नेपाल प्रहरीका पूर्व महानिरिक्षक अच्युतकृष्ण खरेलले अच्युतकृष्ण खरेल आत्मकथा पुस्तक : पेज नम्बर २०६ मा समेत उल्लेख गरेको छ ।

निष्कर्ष

काठमाण्डौंदेखि नुवकोटसम्मको त्यतिबेलाको दुरी अहिले जति नै होला । तर गोडाले त्यतिबेला तय गरेको दुरी तीन दिनको थियो । तीन दिन हुँदै तय गर्दै गरेको हप्ता, महिना, वर्ष अनि दशकको दुरीको हिसाबकिताबलाई डिबी लामाले पुस्तकमा इन्चीइन्चीमा उतारेका छन् । जन्मेको गाउँठाउँ, खेलेको माटो, आफनो परिवार, जाति–वंश, जातसँग गाँसिएको पूर्खाहरुलाई तत्कालिन समयको सन्दर्भमा राखेर धेरै ठाउँमा स्मरण गरेका छन् । पूर्खाप्रति हार्दिकता दर्शाएका छन् । पारिवारिक वियोगको योगलाई नापेका छन् । अप्ठयाँरोमा साथ दिनेहरुप्रति कृतज्ञता जाहेर गरेका छन् । आफना कारण दुःख पाउनहरुलाई सहानुभूति प्रकट गरेका छन् । फेरि अदम्य साहसलाई कायम राखेर मधुरो किरणबाट फेरि जीवनलाई उज्यालो खोज्ने चेष्टा गरेका छन् । ढुङ्गामा ठेस लागेर लड्दा ढुङ्गाको सातोसराप गरेर यात्रा अघि बढिदैन बरु यात्रामा विलम्ब हुन्छ । सायद यही दर्शनलाई जीवनको मार्ग बनाएर अघि बढे । अर्काे कुरा जीवनमा सुखहरु भुल्न खासै कसरत गर्नु पर्दैन । तर दुःखहरु जति भुले पनि दुःख नै बनेर पछयाई रहन्छ । डिबी लामाको हकमा पनि उहाँका भोगाइ सुखका क्षणहरुभन्दा दुःखका पहाडहरु निकै डरलाग्दा र अत्यास लाग्दा देखिन्छ । सायद तिनै दुःखहरुलाई बाँडेर मनलाई हलुङ्गो बनाउन चाहनाले हुनुपर्छ । जीवनको कथालाई पुस्तक ‘सघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरु’ बाट पुस्तामा सारिएको छ ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका