गापा अध्यक्षको राजीनामासहित शैलुङ कांग्रेसको मागपत्र

सैलुङअनलाइन संवाददाता
दोलखा

नेपाली कांग्रेस शैलुङ गाउँपालिका कार्यसमितिद्वारा ६ बुँदे मागपत्र बुझाएको छ । शुक्रबार शैलुङ कांग्रेसका सभापति दावादोर्जे मोक्तानले गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाललाई मागपत्र बुझाइएको हो ।


जनताको अभिलाषालाई केन्द्रमा राखेर जनताको आवाज उठान गर्दै शैलुङ कांग्रेसले गापा अध्यक्ष दुलालको राजिनामासहित ६ बुँदे मागपत्र बुझाइएको शैलुङ कांग्रेसका सभापति मोक्तानले बताए । मोक्तानका अनुसार सामाजिक संजाल, छापा तथा अनलाइन सञ्चार माध्यमहरुमा गापा अध्यक्ष जस्तो गरिमामय पदमा रहेका व्यक्तिले एक महिलासँग अश्लील संवाद तथा नग्न तस्बिर पठाएको आरोपमा उनकै पार्टीले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेपछि शैलुङ कांग्रेसले सत्यतथ्य स्पष्ट पार्न मागपत्र बुझाइएका हुन् ।

मागपत्रमा शैलुङ गाउँपालिका अध्यक्ष दुलालको राजीनामा, महगो कर, कोरोना नियन्त्रणका लागि छुट्याइएको रकमको हिसाब, कोभिड संक्रमणबाट बचाउन अहोरात्र खटिएका कर्मचारीहरुलाई प्रोत्साहन भत्तामा गरिएको बिभेद र गापाले छुट्याइएको बजेट सम्बन्धि योजना सहि क्षेत्रमा खर्च गरिएको वा नगरिएको तत्काल सार्बजनिक सुनुवाई गरिनुपर्ने उल्लेख छ । मागपत्रमा ’ मागहरु पुरा नभए नेपाली कांग्रेस शैलुङ गाउँपालिकाले आन्दोलन गर्ने र त्यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने ’ लेखिएको छ ।

गापा अध्यक्ष दुलालले भने आफू माथी सांस्कृतिक विचलनको आरोप लागेपछि आफ्ना फेसबूक ह्याक गरेर बद्नाम गराउने षड्यन्त्र भएको बताए थियो । गापा अध्यक्षकै पार्टी नेकपाले भने उनको स्पष्टीकरणबाट सत्यतथ्य नआएको भन्दै कारबाही गरेको थियो ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका